२०८२ माघ ५ , सोमबार 19, January 2026, Monday

के नेपाल छाडेर सुटुक्क अमेरिका पुगेका हुन् धुर्मुस परिवार ?

सत्यपाटीसत्यपाटी । काठमाडौं । २०८२ मंसिर २७ गते शनिबार

२०७५ सालमा धुर्मुस–सुन्तली फाउन्डेसनले चितवनको भरतपुरमा सुरु गरेको ‘गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला’ नेपालकै खेलकुद पूर्वाधार निर्माणमा एक ऐतिहासिक महत्त्व राख्ने सपना बोकेको परियोजनाका रूपमा अघि बढेको थियो । त्यसलाई नेतृत्व गर्दै अघि बढाएका थिए लोकप्रिय हास्य कलाकार सीताराम कट्टेल धुर्मुसले ।

धुर्मुस–सुन्तली फाउन्डेसनसँगै भरतपुर महानगरपालिका र सरकारसमेत गरी यी तीन तहको संयुक्त साझेदारीमा थालिएको यो आयोजनाप्रति सुरुमा असाधारण उत्साह, जनताको ठूलो सहयोग र देशभक्तिपूर्ण अभियानका रूपमा स्थापित भएको थियो । तर, न निर्माण सम्पन्न हुनसक्यो, न त हिजोको त्यो आशा भरोसा जोगियो ।

काम अघिबढ्दै जाँदा आर्थिक अभाव, सरकारी तवरबाट आवश्यक नीतिगत सहजीकरणमा ढिलाई तथा प्रक्रियागत जटिलताले गर्दा परियोजना क्रमशः समस्याको भुमरीमा फस्दै गएको हो । थालनीको तीन वर्ष पछि अर्थात् २०७८ साल साउनसम्म आइपुग्दा आर्थिक स्रोतहरू सुक्दै गए । त्यसैमाथि कोभिड–१९ को मारले चुनौती थपिँदै गयो । अन्ततः रङ्गशाला निर्माण कार्य अधुरो अवस्थामा बेबारिसे बन्न पुग्यो ।

धुर्मुसले सार्वजनिकरूपमा नै कोभिडको असर र वित्तीय संकटका कारण आफू फाउन्डेसनको जिम्मेवारी सम्हाल्न नसकेर पछि हट्नुपरेको बताउँदै आएका छन् । समय जति घट्किँदै गयो– परियोजना अपूर्ण रहने र सरकारी संयन्त्रले अपेक्षित गतिमा जिम्मेवारी नलिइदिने जस्ता कारणले धुर्मुसका लागि परिस्थितिहरू थप जटिल बन्दै गएको छ ।

सरकारले अधुरो रङ्गशाला पूरा गर्ने जिम्मा लिएर दुई वर्ष बितिसक्दा पनि काम अगाडि बढ्न नसक्दा धुर्मुस स्वयं ऋणका कागजात बोकेर सिंहदरबारदेखि अड्डाअदालतको दैलो धाइरहेक थिए । राजनीतिक अस्थिरता र प्रशासनिक झन्झटबीच झुलिरहँदा आफू मानसिक, सामाजिक तथा शारीरिक रूपमा समेत कमजोर भइरहेको बताइरहेका हुन्थ्ये ।

धुर्मुसका यी उदारचढापका बीच उनीबारे सामाजिकसञ्जालमा पुनः चर्चा छ । यतिबेला उनी अमेरिकामा छन् । उनकै दाबी अनुसार उनी श्रीमती कुन्जना घिमिरे सुन्तलीसहित आफ्नो छोरीको उपचारको लागि अमेरिका पुगेका हुन् । तर, सामाजिक सञ्जालमा भने धुर्मुस सुटुक्क अमेरिका गएको, उतै बसोबास गर्न खोजेको र ‘ग्रीन कार्ड’ लिएर देश छोडेको भन्ने हल्ला फैलिन थालेको हो ।

सामाजिक सञ्जालमा मात्रै नभई रंङ्ग पत्रकार प्रकाश सुवेदीले आफ्नो कार्यक्रम ‘रजतपट’ मार्फत धुर्मुस ग्रीन कार्डसहित अमेरिका गएको दाबी गरे । त्यसपछि सामाजिक सञ्जालमा झनबढी त्यो विषय भाइरहल भएको हो । तर, यी सबै हल्ला भएको दाबी गर्दै धुर्मुसले भने शुक्रबार फेसबुकमार्फत विस्तृत स्पष्टीकरण दिएका छन् । आफू भागेको नभई छोरीको उपचारका लागि श्रीमतीसहित अमेरिका आएको बताएका छन् ।

उनले नेपाल तथा भारतका विभिन्न अस्पतालमा निरन्तर उपचार गराउँदा पनि अपेक्षित सुधार नआएपछि चिकित्सकहरूले उच्च प्रविधियुक्त उपचारका लागि अमेरिका जान सुझाव दिएकोले त्यसै अनुसार आफू अमेरिका पुगेको उल्लेख गरेका छन् । धुर्मुसका अनुसार उनकी १२ वर्षीया छोरीलाई जन्मेको १६ दिनमै म्यानेन्जाइटिस भएको थियो । त्यसपछि घुँडाको हड्डीमा इन्फेक्सन देखिँदा दाहिने खुट्टा देब्रेभन्दा करिब ७ सेन्टिमिटर छोटो भएको छ ।

नेपाल र भारतका विभिन्न अस्पतालमा उपचार सम्भव नभएपछि चिकित्सकको सिफारिस अनुसार अहिले अमेरिकामा दीर्घकालीन उपचार सुरु गरिएको उनले उल्लेख गरेका छन् । आफूहरू आर्थिक हैसियत कमजोर भएकाले ‘एक्स्ट्राअर्डिनरी ग्रीनकार्ड’ अन्तर्गत अमेरिकाले एक वर्षअघि भिसा उपलब्ध गराएको र सो कार्डमार्फत कम आम्दानी भएका अभिभावकका बच्चाले निःशुल्क स्वास्थ्य सेवा पाउने व्यवस्था रहेकाले त्यही प्रक्रियामा अमेरिका आएको उनले बताए ।

गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणका क्रममा उत्पन्न विवादका कारण अमेरिका उडेको जस्ता टिप्पणीहरू बढेपछि उनले त्यो गलत बुझाई भएको बताएका हुन् । यद्यपी सामाजिक सञ्जालबाटै उनले रंगशाला निर्माणपछि आफूले भोग्नुपरेको दुखको फेरिहस्त पोखेका छन् । उनले आफूहरु अमेरिका उड्नुको विवषता रहेको पनि खोलेका छन् ।

‘नेपालमा कलाकारिता पनि गर्न नसक्दा र बाँच्न सक्ने कुनै आधार नभेटेपछि ‘मरता क्या नहीँ करता’ भन्ने स्थितिमा हामीले तीन वर्षअघि अमेरिकाको ‘एक्स्ट्रा अर्डिनरी ग्रीनकार्ड’का लागि आवेदन गरेका थियौं नेपालबाटै । यो विभिन्न विधाका असाधारण क्षमता भएकाहरुका लागि दिइने स्थायी बसोबास अनुमतीपत्र हो । यो कार्डमा आएपछि कम आम्दानी भएका बाबुआमाका बच्चाका लागि निःशूल्क उपचार सुविधा हुने रहेछ इन्सुरेन्स–मेडिकेडमार्फत ।

यसअघि कुन्जनाको कोखमा रहेको हाम्रो दोस्रो बच्चा ‘स्ट्रेस’कै कारण खेर गएको थियो । भएकी एक मात्र सन्तानको हकमा हामीले कुनै जोखिम लिन चाहेनौं । उनको स्वास्थ्य र सुरक्षित भविष्यका लागि अमेरिकाको ‘एक्स्ट्रा अर्डिनरीमा’ एप्लाइ गर्ने निर्णय लिएका थियौं,’ धुर्मुसले सामाजीक सञ्जालमा लेखेका छन् ।

उनले अमेरिका आउजाउबारे अगाडि लेखेका छन्, ‘आवेदन गरेको दुई वर्षपछि पोहोर साल हामीले भिसा पायौं । तर, भिसा हातमा परेको दिन हामी खुशी हुन सकेनौं, बरु भक्कानिएर रोयौँ । कारण यो हाम्रो रहरको निर्णय थिएन । हामी परिस्थितिको दास बनेका थियौं । गत वर्ष हामी अमेरिका आयौँ । अमेरिका आउने जाने खर्चको जोहो गर्न कुन्जनाले आफूसँग भएका सबै गरगहना बेचिन् । आएकै एक महिनामा म रंगशालाको कामले सिंहदरबार धाउन फर्किए ।’

रंगशालाको दलदलबाट बाहिर निस्किएर मात्र आफूहरू छोरीको उपचारका लागि अमेरिका जान चाहेको पनि उनले भनेका छन् । तर, उही पुरानै नियति दोहोरिएको पनि उनले उल्लेद गरेका छन् । ‘भरतपुर महानगरपालिका र संघीय सरकारलाई छोरीको उपचारको लागि बाहीर जानुपर्ने भएकाले हामीलाई छिटो यो भारीबाट मुक्ति दिलाईदिनुस भनेर पटपक–पटक अनुरोध गरेका थियौ तर सबै प्रयास लगाउँदा पनि कुनै उपाय लागेन । निराशा मात्र हात पर्यो । त्यसैले हामी छोरीको ज्यान जोखिममा नपरोस भनेर समस्यालाई थाँती राखी अहिले अमेरिका आउन बाध्य बन्यौँ,’ धुर्मुसले सामाजिक सञ्जालमार्फत भनेका छन् ।

उनले लेखेका छन्, ‘यो बाध्यतालाई सबैले बुझिदिनुहुनेछ भन्ने आशा गर्छु,’ धुर्मुसले सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘हामी भागेको होइन । छोरीको उपचार सम्पन्न भएपश्चात् नेपाल फर्किनेमा कुनै सन्देह छैन । छोरीको उपचारपश्चात् हामी नेपाल फर्किएर अब कलाकारितामै रम्न चाहन्छौँ । तर, रंगशालाको उल्झनबाट मुक्ति नपाउँदासम्म हामीले नेपालमा न काम गरेर खान सक्ने, न चैनसित निदाउन सक्ने अवस्था रह्यो । हाम्रो यति चाहना छ, कि रंगशालाको समस्या समाधान भएर हामीले नेपालमै कलाकारिता गरेर बाँच्न सक्ने अवस्था बनोस ।’

प्रकाशित मिति : २०८२ मंसिर २७ गते शनिबार