चीन, भारत र रूसले अभूतपूर्व रूपमा चाँदी संकलन गर्न थालेपछि विश्व बजारमा चाँदीको मूल्य हरेक दिन नयाँ रेकर्ड बनाउँदै उकालो लागिरहेको छ । विश्व शक्ति सन्तुलन बदलिँदै गएको छ । डलरप्रतिको भरोसा घट्दै गएको र ऊर्जा–प्रविधि उद्योगमा चाँदीको प्रयोग उच्च रूपमा बढेपछि यी मुलुकहरूलाई रणनीतिक भण्डारणतर्फ दौडिन बाध्य पारेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् ।
चाँदी अहिले केवल बहुमूल्य धातु होइन आधुनिक अर्थतन्त्रको मेरुदण्ड बन्ने औद्योगिक कच्चा पदार्थका रूपमा उभिएको छ । सौर्य प्यानल, विद्युतीय सवारी, एआई हार्डवेयर, सेमीकन्डक्टर, चिकित्सा उपकरण, पानी शुद्धीकरण, सैन्य प्रविधि सबै क्षेत्रमा चाँदीको प्रयोग तीव्र गतिमा बढिरहेको छ । सुनभन्दा फरक, उद्योगमा प्रयोग भएको चाँदी प्रायः पुनः प्राप्त नहुने भएकाले आपूर्ति वर्षैपिच्छे संकुचन हुँदै गएको छ ।
चीनको व्यवहार विशेष रूपमा संकेतपूर्ण मानिएको छ । चीन आफै ठूलो उत्पादक भए पनि अहिले बजारमा आउनुअघि नै पेरूजस्ता देशबाट दोबर मूल्य तिरेर ठूलो मात्रामा चाँदी उठाइरहेको छ । यसले चीन अब पश्चिमी बजार, डलरमा आधारित व्यापार प्रणाली र अन्तर्राष्ट्रिय भण्डारण प्रविधिप्रति पूर्ण भरोसा राख्न छाडेको देखिन्छ । विशेषज्ञहरूका अनुसार चीन आपूर्ति संकट वा मौद्रिक अस्थिरताको सम्भावित जोखिमलाई ध्यानमा राखेर चाँदीलाई घरेलु भण्डारणमा सुरक्षित राख्न चाहन्छ ।
भारतको चाँदी संकलन पनि दीर्घकालीन रणनीतिसँग जोडिएको छ । पछिल्ला पाँच वर्षमै भारतले ९०० मिलियन औँसभन्दा बढी चाँदी भित्र्याएको छ । ऊर्जा संक्रमण, इलेक्ट्रोनिक्स र सेमीकन्डक्टर उद्योग विस्तार तथा रक्षा उपकरण आधुनिकीकरण, यी तीन आधारमा भारतले चाँदीको स्थिर आपूर्ति सुनिश्चित गर्न आक्रामक आयात गरिरहेको भारतीय विश्लेषकहरूको तर्क छ ।
रूसले त चाँदीलाई ‘रणनीतिक भण्डार’ को सूचीमै राखिसकेको छ । जसले भविष्यमा आपूर्ति–अस्थिरता, मूल्य–उकालो र विदेशी मुद्रा संरचनामा सम्भावित रूपान्तरणको संकेत देखाएको मानिन्छ । जब कुनै मुलुकले चाँदीलाई रणनीतिक वस्तुको रूपमा दर्ज गर्छ । त्यसको अर्थ त्यो धातु मूल्यभन्दा बढी राष्ट्रिय सुरक्षा र उद्योगको भविष्यसँग जोडिन पुगेको हुन्छ । डलर कमजोर हुँदै गएको, मुद्रास्फीति स्थिर नरहेको र भूराजनीतिक तनाव चर्कंदै गएको वर्तमान परिदृश्यले पनि चाँदीलाई सुरक्षित विकल्प बनाइदिएको छ ।
इतिहासमै मुद्रा अस्थिर हुँदा धातुको मूल्य उकालो लाग्ने क्रम दोहोरिँदै आएको छ । यही पृष्ठभूमिमा चीन, भारत र रूसले ठूलो परिमाणमा चाँदी भण्डारण गर्न थालेपछि विश्व बजारमा माग असाध्यै बढ्दै मूल्य लगातार नयाँ उचाइतिर धकेलिएको हो । नेपाली बजारमा पनि चाँदीको मूल्यले हरेक दिन कीर्तिमान बनाइरहेको छ । बिहीबार एक तोला चाँदी तीन हजार ८०५ रुपैयाँमा कारोबार भएको थियो । जुन मूल्य नेपाली बजारमा अहिलेसम्मकै उच्च हो ।
सत्यपाटी