२०८३ असोज २९ , बिहीबार 15, October 2026, Thursday

पूर्वाधारमा अब्बल बाँके राष्ट्रिय निकुञ्ज

नेपालगन्जमा बाहिरबाट आउने पर्यटक घुम्नका लागि पछिल्लो समयमा एउटा नयाँ गन्तव्यस्थल बनेको छ, बाँके राष्ट्रिय निकुञ्ज । निकुञ्जमा नेपाल, भारत र अन्य मुलुकबाट पर्यटकहरू आएर घुम्न थालेका छन् । पश्चिम नेपालका अन्य पर्यटकीय क्षेत्रमा घुम्न आएका पर्यटकले बाँके राष्ट्रिय निकुञ्जलाई पनि आफ्नो रोजाइमा पार्न थालेको देखिन्छ । विदेशीबाहेक स्वदेशी पर्यटकले पनि निकुञ्जलाई आफ्नो नयाँ गन्तव्य बनाएको पाइन्छ ।

निकुञ्जभित्र पर्यटकलाई घुमाउन सफारी जिप तयारी अवस्थामा राखिएका छन् । निकुञ्जभित्रका भौतिक पूर्वाधारहरू लगभग सम्पन्न भइसकेका छन् । पर्यटकलाई जंगल सफारी गराउन स्थानीय स्तरमै पर्याप्त मात्रामा नेचर गाइड तयार भएका छन् । उनीहरूलाई तालिम प्रदान गरेर निकुञ्ज प्रशासनले लाइसेन्ससमेत दिइसकेको छ । जिप सफारी, पदयात्रा र ‘नाइट जंगलस्टे’ जस्ता क्रियाकलापमा समावेश गराएर पर्यटकलाई वन्यजन्तु र प्राकृतिक वातावरणसँग आनदिन्त बनाइरहेका छन् ।

पर्यटकलाई जंगल सफारी गराउनुअघि निकुञ्जको मध्यवर्तीमा सञ्चालित होमस्टे तथा रिसोर्टले विशेष रूपले स्वागत गर्छन् । निकुञ्जसँगै जोडिएका मध्यवर्ती क्षेत्रमा सामुदायिक होमस्टेहरू धमाधम खुलिरहेका छन् । ती होमस्टेमा आउने पाहुनालाई स्वागतसँगै स्थानीय खाजाका परिकार खुवाउँछन् । निकुञ्जमा प्रवेश गराएर आफ्नो प्याकेज अनुसार घुमाउँछन् ।

यस्तो छ पर्यटकलक्षित सफारी प्याकेज

बाँकेमा आउने पर्यटक अर्थात् पाहुनालाई लक्षित गरेर नेपालगन्ज र कोहलपुर क्षेत्रमा तारे होटल तथा बैजनाथ र राप्ती सोनारी गाउँपालिका क्षेत्रमा होमस्टे, रिसोर्ट खुलेका छन् । बैजनाथ–१ चिसापानीमा रहेका गाभर भ्याली र मिनी गाभर सामुदायिक होमस्टेले छुट्टाछुट्टै गरी दुई वटा सफारी जिप सञ्चालनमा ल्याइसकेका छन्, भने नाट्टा बाँकेसहित अन्य व्यवसायीले पनि सफारी जिप सञ्चालन गर्ने तयारी गर्दैछन् ।

यसले बाँके राष्ट्रिय निकुञ्जको पर्यटनलाई प्रवर्धन चलायमान गराउने पर्यटन व्यवसायीको अपेक्षा छ । कोहलपुरको खड्गवार र राप्ती सोनारीको ढकेरीमा रहेका होमस्टेले पनि आफ्नो प्याकेज दिइरहेका छन् । राप्ती सोनारी–२ अगैयास्थित गोवारपुर गाउँमा हालै मात्र बाँकेका पर्यटन व्यवसायी देवानन्द अर्यालले रिसोर्ट नै खोलेका छन् । मिनी गाभर सामुदायिक होमस्टेका सञ्चालक बाबुराम चौधरीका अनुसार निकुञ्जमा सफारी गर्न चाहने पाहुनाको माग बढ्न थालेको छ ।

निकुञ्जमा जंगल सफारी गराउन गाभर भ्याली र मिनी गाभर सामुदायिक होमस्टेमा गरेर हाल एक एक वटा सफारी जिप राखेका छन् । सफारी गर्नका लागि पाहुनाहरू क्रमिक रूपले आइरहेको उनी बताउँछन् । थारु संस्कृतिमा आधारित होमस्टेमा आउने पाहुनाले जंगल सफारी गर्न चाहेमा उनीहरूलाई जिपबाट सफारी गराउने गरेको चौधरी बताउँछन् । नेपालगन्ज, कोहलपुर, सुर्खेत, दाङ, काठमाडौं लगायत विभिन्न जिल्ला तथा भारतलगायत अन्य देशबाट पनि होमस्टेमा पर्यटक (पाहुना) आउँछन् ।

होमस्टेमा आउने पाहुनाका लागि चार घण्टा र आठ घण्टाको जंगल सफारी तथा जंगलमा ‘नाइटस्टे’ प्याकेज राखिएको छ । सफारी वापत चार घण्टाको १२ हजार र आठ घण्टाको १६ हजार रुपैयाँ जिप सफारीको प्याकेज राखिएको छ । यस्तै ‘जंगलमा नाइट स्टे र खाना तथा बस्नको लागि अलग प्याकेज रहेको छ । होमस्टेमा आउने पाहुनाहरू प्रायः सफारी गर्न र जंगलमा ‘नाइटस्टे’ गर्न मन पराउँछन् । केही समयअघि मात्रै निकुञ्जको करेली मचानमा अमेरिकी नागरिकले नाइट स्टे गरेका थिए ।

निकुञ्जभित्र जंगल सफारी गराउँदा पाटेबाघ, चितुवा, चित्तल, बँदेल, चौका लगायतका वन्यजन्तुहरू पटक पटक देखिन्छन् । नेपाल सरकारले बाघ संरक्षणका लागि अन्तर्राष्ट्रिय समुदायसँग गरेको प्रतिबद्धता अनुरूप बाघको वासस्थान र जैविक मार्ग संरक्षण गर्ने उद्देश्यले २०६७ असार २८ गते बाँके, दाङ र सल्यानको ५५० वर्ग किलोमिटर क्षेत्रलाई समेटेर नेपालको दशौं राष्ट्रिय निकुञ्जका रूपमा बाँके राष्ट्रिय निकुञ्ज गरिएको हो । निकुञ्जको पूर्वी सिमाना शिवखोला, पश्चिम कोहलपुर सुर्खेत राजमार्ग, उत्तर चुरे पर्वत र दक्षिण पूर्व–पश्चिम राजमार्ग रहेको छ ।

केही वर्षअघि गरिएको गणनाअनुसार निकुञ्जभित्र २१ वटा पाटेबाघ रहेको पुष्टि भए पनि अहिले त्योभन्दा बढेको अनुमान गरिएको छ । यस्तै चितुवा, चित्तल, चौका, बँदेल, निलगाई, हात्ती, दुम्सी लगायत विभिन्न प्रजातिका वन्यजन्तु, चराचुरुगी तथा सरिसृपको वासस्थान रहेको छ । निकुञ्जभित्र जैविक विविधताको दृष्टिले आठ वटा इकोसिस्टम, १२४ वनस्पति प्रजाति, ३२ प्रजातिका स्तनधारी, ३०० भन्दा बढी प्रकारका चराका प्रजाति, ५८ प्रजातिका माछा, २२ सरिसृप तथा ६ प्रकारका उभयचर रहेको बताइन्छ ।

उत्साहित पर्यटनकर्मी

बाँके राष्ट्रिय निकुञ्जको पर्यटन प्रवर्द्धनमा जोड दिइरहेको नेपाल पर्यटन बोर्डको एक टोलीसहित भारतको लखनउ र बहराइन तथा नेपालगन्जका पत्रकारले संयुक्त रूपमा शुक्रबार जंगल सफारी गरेका छन् । बोर्डले आयोजना गरेको जंगल सफारीका लागि नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा) बाँकेले संयोजन गरेको थियो । जंगल सफारीका लागि निकुञ्जको चुरे क्षेत्रसम्म पुगेका पर्यटनकर्मी तथा पत्रकारले वन्यजन्तु अवलोकनसँगै प्राकृतिक वातावरणसँग रमाउन पाएको नाट्टा बाँकेका महासचिव भागिराम ओलीले सुनाए ।

जंगल सफारीमा सहभागी भएका नेपाल पर्यटन बोर्डका सिनियर म्यानेजर सूर्य थपलियाले बाँके राष्ट्रिय निकुञ्ज पनि नेपालगन्जसँगै जोडिएको पर्यटनको एउटा आर्कषणको केन्द्र हुन लायक भइसकेको बताए । ‘नेपालगन्ज व्यापारिक र पर्यटनका हिसाबले हबको रूपमा रहेको छ, बाँके राष्ट्रिय निकुञ्ज कर्णाली प्रदेश र लुम्बिनी प्रदेशको नजिक रहेको हुनाले यहाँ पर्यटनको सम्भावना धेरै छ,’ उनले भने, ‘पाटेबाघ नै यहाँ २०–२५ वटा रहेको तथ्यांक छ, यहाँ अर्को नयाँ आर्कषण छ, चुरे क्षेत्र । चुरेसँग नजिक रहेको हुँदा यसको इकोसिस्टम पनि अरु तराईको निकुञ्जभन्दा फरक हुन सक्छ, सबै कुरालाई जोड्दाखेरि यसको प्रवर्द्धन आवश्यक छ ।’

तराईमा रहेका थुप्रै निकुञ्जमध्ये बाँके राष्ट्रिय निकुञ्जको विशेषता अलि फरक रहेको थपलियाको तर्क छ । निकुञ्जबाट तारे होटलदेखि होमस्टे तथा स्थानीय बासिन्दाले समेत आय आर्जन गर्न सक्ने उनको बुझाइ छ । निकुञ्जमा पछिल्लो समयमा बढेको पर्यटकीय गतिविधिले पर्यटनकर्मीलाई उत्साहित बनाएको छ । उनीहरू निकुञ्जलाई आधार बनाएर पर्यटन प्रवर्द्धन सम्बन्धी काममा लगानी थप्न थालेका छन् ।

अर्कोतर्फ, निकुञ्ज कार्यालयले पनि वन्यजन्तुका लागि विभिन्न स्थानमा घाँसेमैदान, कृत्रिम ताल निर्माण गरेको छ, भने पर्यटकलाई अवलोकन गराउन वनपथ, मचानजस्ता पूर्वाधार बनाएको छ । कार्यालयका अनुसार निकुञ्जभित्र करिब एक दर्जन मचान, २०० किलोमिटरभन्दा बढी वनपथ (बाटो), २५ वटा सोलार जडिट ताल, ४५० हेक्टर क्षेत्रमा घाँसे मैदान, चार वटा ठुला जलाशय निर्माण गरेको छ । निकुञ्जमा पूर्वाधार निर्माण भएसँगै पर्यटन व्यवसायीले लगानी थप्दै छन् । नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा) बाँकेले निकुञ्जमा पर्यटन प्रवर्धनसम्बन्धी गतिविधि गरिरहेको छ ।

नाट्टा बाँकेका निर्वतमान अध्यक्ष श्रीराम सिग्देलका अनुसार नेपालगन्जदेखि २०–२२ किलोमिटरको दुरीमा रहेको बाँके राष्ट्रिय निकुञ्ज सबैभन्दा नजिकको पर्यटकीय गन्तव्य रहेकाले सम्भावना धेरै छ । निकुञ्जभित्रको बाटो खुला भइसकेको छ । यसले गर्दा निकुञ्जभित्र सहज रूपमा सफारी गर्न सकिन्छ । नेपाल–भारत सिमानाका खुला रहेकाले छिमेकी देश भारतबाट पनि पर्यटक भित्र्याउन सकिने सम्भावनालाई सिग्देलले देखेका छन् ।

वीरेन्द्रप्रसाद कँडेल, प्रमुख संरक्षण अधिकृत, बाँके राष्ट्रिय निकुञ्ज ।

‘वनपथ तथा वन्यजन्तु दर्शन गर्ने मचान निकुञ्जका आकर्षण’

बाँके राष्ट्रिय निकुञ्जभित्र लगभग सबैजसो पूर्वाधार निर्माण भइसकेको छ । हामीले पूर्वाधार निर्माण गरेसँगै स्वदेशी र विदेशी पर्यटकलाई घुम्ने वातावरण बनाएका छौं । जिपबाट सफारी गर्नका लागि पर्याप्त मात्रामा वनपथहरू तयार भइसकेका छन । घुम्न आउने स्वदेशी तथा विदेशी पर्यटकले मचानमा बसेर वन्यजन्तुलाई प्रत्यक्ष रूपमा अवलोकन गर्न सक्नुहुनेछ ।

निकुञ्जभित्र जंगल सफारी गर्न स्वदेशी र विदेशी पर्यटकहरू आउन थाल्नुभएको छ । यो हाम्रा लागि अत्यन्तै खुसीको कुरा हो । यसको प्रचारप्रसार अझै गर्नुपर्ने देखिन्छ । चालु आर्थिक वर्षको सुरुवाती चरणमा पर्यटकहरूको उपस्थिति उत्साहजनक नै पाइएको छ । स्वदेशी मात्रै नभएर विदेशी पर्यटकहरू पनि निकुञ्जमा घुम्न आइरहनुभएको छ ।

स्रोत : अर्जुन ओली । नागरिक न्यूज
प्रकाशित मिति : २०८२ मंसिर ६ गते शनिबार