नेपालका धेरै दुर्गम गाउँहरूमा आज पनि स्वास्थ्य सेवा पहुँचको विषय हो, विकल्पको होइन। सडकदेखि चेतनासम्मका चुनौतीबीच पनि बाँकेको नरैनापुर गाउँपालिकामा भने एउटा परिवर्तनको लहर चलेको छ, त्यो परिवर्तनको केन्द्रमा छिन् स्वास्थ्यकर्मी सामना क्षेत्री । नरैनापुर गाउँपालिका–१ मा स्वास्थ्यकर्मी सामना क्षेत्रीको समर्पणले गाउँभरि नयाँ जीवनको उज्यालो फैलिएको छ ।
स्वास्थ्य चौकीमा कार्यरत अनमी सामना क्षेत्री नवजात शिशुको स्वास्थ्य परीक्षणमा व्यस्त देखिन्छिन् । उनका स्नेही हात र आत्मीय मुस्कानले आमाहरूमा निश्चिन्तता भरिदिन्छ । यही ममता र सेवाभावले गाउँका परिवारहरूमा स्वास्थ्यप्रतिको भरोसा पुनः जागृत भएको छ । कुनै बेला जोखिम मोलेर घरभित्रै बच्चालाई जन्म दिने आमाहरु सामानको प्रेरणाले स्वास्थ्य चौकीमा आएर सुत्केरी हुने गरेका छन् । जसले गर्दा मातृमृत्यु दरमा कमी आएको छ ।
रातको सन्नाटा होस् वा बिहानको हतार, जुनसुकै बेला पनि सामना र उनका सहकर्मीहरू प्रसूति सेवादेखि नवजात शिशुको रेखदेखसम्म निरन्तर खटिरहेका छन् । स्वास्थ्यकर्मीहरुका लागि सेवा नै धर्म बनेको छ । सामना क्षेत्री भन्छिन्, ‘नियमित स्वास्थ्य परीक्षण, सुरक्षित प्रसूति सेवा र मातृस्वास्थ्य सचेतनाका कारण ग्रामीण महिलाहरू अहिले स्वास्थ्य सेवाप्रति बढी आत्मविश्वासी भएका छन् ।’

उनका अनुसार चालु आर्थिक वर्षको चार महिनामै ७३ जना नवजात शिशुको जन्म सो स्वास्थ्य चौकीमार्फत भएको छ । स्वास्थ्य चौकी इन्चार्ज दिनेश मौर्यले आफूहरु प्रत्येक आमालाई सुरक्षित प्रसूति सेवा उपलब्ध गराउन निरन्तर प्रयासरत रहेको बताए । स्वास्थ्य संयोजक नगेन्द्र शाहले भने, ‘सहरका ठूला अस्पतालमा जस्तो सेवा गाउँमै दिन सक्ने दक्ष स्वास्थ्यकर्मी परिचालन गरिएको छ । अहिले हाम्रा स्वास्थ्य चौकीहरू २४ घण्टै सेवा दिइरहेका छन् ।’
गाउँपालिकाका अध्यक्ष इस्तियाक अहमद शाहले नरैनापुरमा स्वास्थ्यकर्मीहरूको निरन्तर प्रयासले गाउँको स्वास्थ्य क्षेत्रको रूपान्तरण भएको बताए । उनले भने, ‘स्थानीय सरकार गठनपछि शिक्षा, स्वास्थ्य र पूर्वाधारमा आम नागरिकको पहुँच फराकिलो बनेको छ ।’ प्रमुख प्रशासकीय अधिकृत नवराज वलीले वडाध्यक्ष र स्थानीय इकाइहरूलाई अझ जिम्मेवार बन्न आग्रह गर्दै गुणस्तरीय स्वास्थ्य सेवा प्रवाहमा सबैको साझा दायित्व आवश्यक रहेको बताए ।
नरैनापुरबासीहरू गर्वका साथ भन्छन्, ‘अब सहर जानुपर्दैन, हाम्रो गाउँमै जीवनको रक्षा गर्ने हातहरू छन् ।’ नरैनापुर–६ का स्वास्थ्य चौकी इन्चार्ज भरत गोराथोकीले साउनदेखि कार्तिक २४ गतेसम्म ८० जना आमाहरूले सुरक्षित रूपमा नवजात शिशुको जन्म दिएको जानकारी दिए । नरैनापुर–२ मा साउनदेखि असोजसम्म ४९ जना, र वडा नं.४ मा ७३ र वडा नं.५ मा ८९ जना आमाले सुरक्षित प्रसूति सेवा लिएको स्वास्थ्य शाखाले जनाएको छ ।
तर, सबै वडाको अवस्था भने समान छैन । केही वडाहरूमा वडा अध्यक्षको लापरवाहीले स्वास्थ्य संस्थाको रकम निकासा ढिलाइका कारण स्वास्थ्यकर्मीहरूलाई टार्चको उज्यालोमा प्रसूति सेवा दिनुपर्ने बाध्यता रहेको छ । यसबारे प्रमुख प्रशासकीय अधिकृत वलीले स्वास्थ्य सेवा प्रभावित हुने गरी कुनै पनि गतिविधि नगर्न जनप्रतिनिधि र कर्मचारीलाई निर्देशन दिँदै भने, ‘आवश्यक रकम तत्काल निकासा गरी सेवा सुचारु राख्न सबैले जिम्मेवारी निभाउनुपर्छ ।’
सत्यपाटी