सुर्खेतको बराहताल गाउँपालिका–६ स्थित भेरी नदी किनारमा पर्छ इखेनी बस्ती । २०६२ साल कात्तिकमा जंगल फँडानी गरेर बसाएको यो बस्तीमा बाह्रै महिना यातायातका साधन चल्दैनन् । बिजुली पुगेको छैन । भेरी किनारको बस्ती भए पनि सिँचाइ अभावमा जमिन बाँझै छ । एक वर्ष मात्रै भयो उनका स्थानीयको घरमा खानेपानी आउन थालेको ।
सशस्त्र द्वन्द्वका बेला इखेनी माओवादीको तालिम केन्द्र थियो । हतियार भण्डारणस्थल थियो । द्वन्द्व समाप्तिसँगै राज्यबाट पीडित बनेका ११ जिल्लाका ६५ परिवारलाई माओवादीले यहाँ ल्याएर राख्यो । बस्ती बसेको २० वर्ष भयो, अहिलेसम्म सामान्य आधारभूत आवश्यकता पनि यहाँका नागरिकले पाउन सकेका छैनन् ।
‘भर्खर बाटो आएको छ, बर्खामा चल्दैन्, बिजुली छैन, खानेपानी आयो, सिँचाइ सुविधा छैन,’ स्थानीय अमृता तिरुवाले भनिन्, ‘कमाउने र उब्जाउने ठाउँ नहुँदा कालापहाड नगएर स्खेनीमा चुल्हो बल्दैन ।’ २० वर्षअघि ६५ घरधूरी रहेको यो बस्तीमा अहिले ११५ घरधूरी छन् । जनसंख्या थपिए पनि भेरी किनारको यो बस्तीका फाँटहरू सिँचाइ अभावमा बाँझा छन् ।
‘उतिबेला बस्ती बसाउँदा परिवार हेरेर दुईदेखि १० कट्ठासम्म जमिन भाग परेको थियो, केही पछि हामीहरू आफैँले जंगल फाँडेर विस्तार गर्यौं,’ उनले भनिन्, ‘भेरीको किनारैमा जमिन भए पनि सिँचाइ नहुँदा खेतीपानी हुँदैन ।’ इखेनीका दयाराम विकको सात जनाको परिवार छ । सात वर्षअघि कालापहाड (भारत)मा सडक निर्माणका क्रममा दयाराम घाइते भए ।
त्यसयता उनका छोरा वीरेन्द्र कालापहाड जान थालेका छन् । बुवा कमाउन नसक्ने भए पनि १० भर्ना भएर छोडेका वीरेन्द्रको कमाईले इखेनीमा छ जनाको परिवारले दैनिकी गुजारी रहेको छ । दयारामका चार छोराछोरी मध्ये वीरेन्द्र जेठा हुन् । ‘घरको जेठो सन्तान भएकाले कमाउन कालापहाड गएको हो,’ दयारामले भने, ‘दशैं र नयाँ वर्षमा गरेर वर्षमा दुई पटक घर आउँछ ।’
कल्से कामीको परिवारमा नौ जना सदस्य छन् । उनका दुई छोरा भारतमा मजदुरी गरिरहेका छन् । कक्षा १२ पास गरेका राजेन्द्र र सरस्वती मावि चेपाङमा १० कक्षामा भर्ना भएका तपेन्द्रले आफ्नो पढाइलाईसमेत निरन्तरता दिन पाएका छैनन् । ‘यो गाउँमा दलित समुदायको १२ पास गरेको केटो मेरो छोरो मात्रै हो, अर्को छोरो पनि १० कक्षामा पढ्छ,’ कल्सेले भने ।
उनका अनुसार इखेनीका बालबालिकाहरु नियमित स्कुल गएर पढ्न पाएका छैनन् । कल्सेले भने, ‘कालापहाड नजाने हो भने परिवार कसरी पाल्ने ?’ उनको पनि परिवारनै मजदुरी गर्न भारत जाने गर्छ । अहिले घर मर्मतको काम भइरहेकाले दुई छोराबाहेक अरु सदस्य इखेनीमै छन् । सात कक्षामा पढ्दै गरेका १२ वर्षका सुनिल विक अघिल्लो वर्षदेखि पढाइ छोडेर कालापहाड जान थालेका छन् ।
तीन भाइमध्ये माइला सुनिल तिहार मान्न घर आएका छन् । केही दिनमै फेरि उनी कालापहाड फर्कने तयारीमा छन् । ‘आमाले अर्को विवाह गरेर जानुभयो, बुवाले इन्डिया (भारत)मै विवाह गरेर उतै बस्नुहुन्छ,’ उनले भने, ‘बाजेबजै र भाइ पाल्नका लागि पढाइ छोडेर मजदुरी गर्न कालापहाड जाने गरेको छु ।’ उनका दाजु लाले पनि दुई वर्षदेखि भारतमै मजदुरी गरिरहेका छन् । आफूहरुले पढ्न नसके पनि भाई सुमनलाई उच्च शिक्षासम्म पढाउने धोको उनको छ ।
उनका भाइ स्थानीय विद्यालयमा कक्षा चारमा अध्ययनरत छन् । विद्यालयका प्रधानाध्यापक पुष्पा राना अधिकांश विद्यार्थीहरू भर्ना हुने तर कक्षा कोठामा नआउने समस्या रहेको बताउँछिन् । ‘एक सयको हाराहारीमा विद्यार्थी भर्ना भएका छन्, कक्षा कोठामा आधा पनि विद्यार्थीहरु हुन्नन्,’ उनले भनिन्, ‘अधिकांश विद्यार्थी अभिभावकसँगै कालापहाड जाने समस्याले कक्षा कोठा खाली हुने गरेका छन् ।’
उनले गाउँमा खेती गर्ने जमिन नहुनु र भएको जमिनमा पनि सिँचाइ सुविधा नहुँदा गाउँका सबै अभिभावकहरू कालापहाड जाने गरेको बताइन् । ‘त्यसको प्रत्यक्ष असर बालबालिकाको पढाइमा परेको छ,’ प्रधानाध्यापक रानाले भनिन्, ‘अभिभावकलाई सीप अनुसारको रोजगारी भइदिए बालबालिकाले पढ्न पाउने थिए ।’
आम्दानीको मुख्य स्रोत नै कालापहाडको मजदुरी भएकाले विद्यार्थीहरूको पढाइ छुट्ने गरेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कमला नाम्जालीले बताइन् । ‘वर्षमा दुई सिजन आमा–बुवासँगै केटाकेटी पनि भारत जाने भएका छन्, पाँच महिनामा एकपटक गाउँ आउँछन्,’ उनले भनिन्, ‘त्यहीँबेला दुई दिन स्कुल गएर हाजिर लगाउँछन्, अनि फेरि भारततिरै गइहाल्छन् ।’
सत्यपाटी