२०८३ साउन १ , शुक्रबार 18, July 2026, Saturday

‘निरीह’ भएर एमाले फर्कंदै झाँक्री र श्रेष्ठहरू, बार्गेनिङको हैसियत शुन्य

सत्यपाटीसत्यपाटी । काठमाडौं । २०८२ कात्तिक २० गते बिहीबार

माओवादी केन्द्रसहित विभिन्न नौ वाम दलहरूबीचको पार्टी एकतासँगै एकीकृत समाजवादी तीन चिरा भयो । माधव नेपाल नेतृत्वको संस्थापन पक्ष एकतामा जाँदा महासचिव घनश्याम भुसाल नेतृत्वको टिमले एकीकृत समाजवादीलाई निरन्तर अघि बढाउने घोषणा गरेको छ । एकीकृत समाजवादीको एउटा समूह भने नेकपा एमालेमा फर्किने भएको छ । रामकुमारी झाँक्री, कृष्णकुमार श्रेष्ठ लगायतको टिम ‘पुरानै घर’ एमालेमा फर्कने भएका हुन् ।

बुधबार पत्रकार सम्मेलन गरेर उनीहरूले एमालेमा फर्किने घोषणा गरिसकेका छन् । पत्रकार सम्मेलनमा नेत्री झाँक्रीले एमालेमा नै एकताबद्ध हुने पक्षमा आफूहरू रहेको बताइन् । एमालेको नाम नलिए पनि उक्त दलप्रति प्रष्ट संकेत गर्दै उनले विचार र सिद्धान्त मिल्ने पार्टीमा आफूहरू एकताबद्ध हुने बताइन् । नेत्री झाँक्रीले बोल्नुअघि नै नेता कृष्णकुमार श्रेष्ठले आफूहरू एमालेमा फर्कने स्पष्ट शब्दमा बताइसकेका थिए ।

सोही भनाइप्रति संकेत गर्दै झाँक्रीले विचार र सिद्धान्त मिल्ने पार्टीमा आफूहरू एकताबद्ध हुने बताइन् । ‘हामीले विचार र सिद्धान्त मिल्ने पार्टीमा हामी एकताबद्ध हुने नै हो । किसान दाइले त भविष्यवाणी गरिहाल्नुभयो । एकताबद्ध हुने नै हो,’ उनले भनिन्, ‘हामीले कम्तिमा रूपान्तरित हिसाबले हामी जाऔँ । हामी पनि रूपान्तरण हुन आवश्यक छ भन्ने कुरा छ । हाम्रो यात्रा अवरुद्ध छ । हाम्रो पार्टी विघटन भएको छ । नयाँ बाटोका लागि हामीले केही कुरा देशैभरी नेकपा–एसको नाममा संगठित हुनुभएका वडा तहदेखि केन्द्रीय कमिटीसम्म, विभिन्न संगठनदेखि जनवर्गीय संगठनसम्म सबै साथीहरूलाई एकताबद्ध भएर हामी उभियौँ ।’

नेत्री झाँक्रीभन्दा अघि बोलेका कृष्णकुमार श्रेष्ठले एमालेको नाम नै लिएर ‘पुरानै घर’मा फर्कन लागेको बताएका थिए । आफूले पसिना बगाएको, जीवन अर्पण गरेको पार्टीमा फर्किन आफूहरूले चाहेको उनको भनाइ थियो । ‘हाम्रो पार्टीले माओवादी केन्द्रसहित पार्टी एकता गर्ने निर्णय गर्यो र अर्को हाम्रा पार्टीका महासचिवहरू अर्को पार्टी पुनःगठन गर्ने प्रक्रियामा हुनुहुन्छ,’ उनले भनिन्, ‘हामी यो टिम पार्टीका स्थायी कमिटीका सदस्य रामकुमारी झाँक्री लगायतका साथीहरू कसैसँग समाहित र कसैसँग एकताभन्दा पनि हाम्रो मूल घर, हामीले पसिना बगाएको, हामीले जीवन अर्पण गरेको पार्टी नेकपा एमालेमा फर्किने अभियानमा छौँ ।’

एमाले फर्किने टिममा झाँक्री र श्रेष्ठसहित अम्बरबहादुर थापा, डा.वंशीधर मिश्र, होमबहादुर बुढाथोकी, पीताम्बर श्रेष्ठ, अर्जुन राईहरू एमाले फर्किन तयार भएका हुन् । उनीहरूले आफ्नो तल्लो तहका नेता–कार्यकर्तालाई पनि एमालेमा फर्काउने गरी एकीकृत गरिरहेका छन् ।

व्यक्तिगत रूपमा फर्कनुपर्ने, ओलीको इच्छा बमोजिम चल्न र बोल्नुपर्ने !

कुनै वेला प्रमुख शत्रुका रूपमा एकअर्काकाविरुद्ध खह्रो टीकाटिप्पणी गरागर गर्ने नेताहरूलाई जेनजी आन्दोलनपछि उत्पन्न परिस्थितिले एक ठाउँ ल्याउने काम गरेको हो । जेनजी आन्दोलनपछि पुराना दलहरूको अस्तित्व नै संकटतर्फ उन्मुख भएका वेला माओवादी–एकीकृत समाजवादी एकताको निर्णयमा पुगे भने सोही समयमा एमालेले पनि विगतमा पार्टी छाडेकाहरूलाई आउन आह्वान गर्यो ।

यही मौकामा विगतदेखि नै एमालेप्रति नरम देखिँदै आएका झाँक्री र श्रेष्ठ लगायतका नेताहरू एमाले फर्कने निष्कर्षमा पुगेका हुन् तर उनीहरू पार्टीगत तथा समूहगत एकताका रूपमा नभई व्यक्तिगत रूपमा एमालेमा फर्कनुपर्ने छ । किनभने एमाले नेतृत्व व्यक्तिगत रुपमा मात्रै स्वागत गर्न तयार छ । यति मात्र होइन, नीति, नेतृत्व र पदसम्बन्धी कुनै ‘बार्गेनिङ’का लागि पनि एमाले नेतृत्व तयार छैन ।

त्यही कुरा नमिल्दा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल अन्तिम समयमा आएर प्रचण्ड–माधव एकतामै मिसिए । बाँकी एमालेमा फर्कने नेताहरू अब अध्यक्ष केपी ओलीको इच्छानुसार चल्न र बोल्न तयार हुनुपर्नेछ । यो कुरा एमाले महासचिव शंकर पोखरेल यसअघि नै स्पष्ट पारिसकेका छन् । १७ कात्तिकमा प्रेस चौतारीको केन्द्रीय कार्यालय पुगेर उनले नीति र नेतृत्वमा सहमत भए मात्रै घर फर्कन भनेका थिए ।

‘घर फर्किनका लागि कुनै अनुमति लिनु पर्दैन, आउनुस्,’ उनको भनाइ थियो, ‘तर शर्त एउटै छ, नीति र नेतृत्वमा चाहिँ सहमत भएर आउनुस् । फेरि बहस र विवाद गर्न आउने कुरामा सहमति हुन सक्दैन । नीति र नेतृत्वमा सहमत हुने जोकोहीलाई पनि एमालेको ढोका खुला छ, हामी स्वागत गर्न तयार छौँ ।’ त्यसो त एमाले फर्कन तयार भएका नेताहरू पनि यसका लागि तयार नै देखिन्छन् । पत्रकार सम्मेलनमा नेत्री झाँक्रीले एमालेका नीति र नेतृत्व मान्न तयार रहेको आशय व्यक्त गरिन् ।

उनले भनिन्, ‘मण्डली जुन धर्मसँग सम्बन्धित हुन्छ, त्यसको सदस्य हुनु¥यो भने त केही सीमा तोकिन्छ । हामी त झन् कम्युनिष्ट पार्टीका सदस्य जसले पार्टीको नीति, कार्यक्रम विधिलाई निःशर्त पालना गर्नेछु भनेर संगठित सदस्य हुँदा नै शपथ खाएका हुन्छौँ । पार्टीको निर्णयलाई मान्नेछु, सबै व्यक्तिगत हितलाई पार्टी क्रान्तिको अधीनस्थ राख्नेछु भनेर सदस्य हुँदै कैयौँ व्यक्तिगत स्वतन्त्रता सीमित गरिसक्या हुन्छौँ ।’

कसरी हुँदैछ फर्कनेहरूको व्यवस्थापन ?

एमालेमा फर्कन लागेका नेताहरू कसले के जिम्मेवारी पाउने अहिले कुनै टुंगो लागेको छैन । अब नेताहरू पार्टीमा फर्किसकेपछि कसलाई के जिम्मेवारी दिने भन्ने कुरा पार्टीले निर्णय गर्ने एमाले सचिव पद्मा अर्याल बताउँछिन् । कसैलाई यो वा त्यो पद दिने भनेर कसैलाई पनि नबोलाइएको उनले बताइन् ।

‘साथीहरू पहिला पार्टीमा आउनुपर्यो । आउनपूर्व कसैलाई यो वा त्यो पद दिउँला भनेर कसैलाई पनि ल्याइँदैन,’ उनले भनिन्, ‘उहाँहरू स्वतन्त्र हिसाबले आउनुपर्यो । आइसकेपछि उहाँहरूका लगानी, क्षमता सबै मूल्यांकन गरेर पार्टीले जिम्मेवारी दिन्छ ।’ त्यसो त संवादका क्रममा फर्कन लागेका नेताहरूले पनि यो वा त्यो पद भनेर भनेका छैनन् । हिजो चर्को गाली गर्दै छाडेको पार्टीमा फर्कन कुनै पदका लागि बार्गेनिङ गर्ने नैतिक हैसियत पनि उनीहरूमा देखिँदैन ।

नेता कृष्णकुमार श्रेष्ठ कुनै पदका लागि नभई निःशर्त एमालेमा फर्कन लागेको बताउँछन् । हाँसेर बोलिदिए पुग्ने उनको भनाइ छ । ‘हामी घर फर्किने क्रममा नेकपा एमालेसँग वार्ता संवादमै छौँ,’ बुधबारको पत्रकार सम्मेलनमा उनले भने, ‘हामी कुनै पदका लागि होइन, निःशर्त घर फर्किंदै छौँ । हामीलाई केही चाहिएको छैन, मूल घरमा हाँसेर बोलिदिए र सम्मानजनक व्यवहार गरिदिए पुग्छ ।’

प्रकाशित मिति : २०८२ कात्तिक २० गते बिहीबार