२०८३ जेठ ४ , सोमबार 18, May 2026, Monday

काँग्रेस सभापती देउवा विदेशमा, पार्टीभित्र किचलो

सत्यपाटीसत्यपाटी । काठमाडौं । २०८२ कात्तिक १८ गते मंगलबार

नेपाली काँग्रेसका सभापती शेरबहादुर देउवा विदेशमा भएका बेला यहाँ पार्टीमा किचलो भएको छ । जेन जी आन्दोलनमा घाइते भएका देउवा उपचारका लागि विदेश गएपछि पार्टीमा किचलो भएको हो । कार्यवाहक सभापतिको पद उपसभापति पूर्णबहादुर खड्कालाई जिम्मा लगाएर शेरबहादुर देउवा उपचारका लागि विदेश गएका छन् । अब सक्रिय राजनीतिमा नफर्किने गरी उनी हिँडे पनि कांग्रेसमा किचलो भने अझै उस्तै छ ।

जेनजी आन्दोलनको क्रममा आगलागीमा परेको केन्द्रीय कार्यालय सानेपाको भवनबाट देउवाले नेतृत्व हस्तान्तरणको अभ्यासस्वरूप कार्यवाहक दिएका थिए । तर, उनले कार्यवाहक दिएपछि खड्काले स्थितिलाई सजहतापूर्वक अगाडि बढाउन सकेका छैनन् । देउवा हिँडेकै पर्सिपल्टदेखि संस्थापन निकटका पूर्वपदाधिकारीको दबाबमा गुटको बैठक गरेका खड्का उनीहरूको दबाबबाट अझै मुक्त हुन सकेका छैनन् ।

महाधिवेशन फागुन २१ गतेलाई तोकिएको प्रतिनिधिसभा निर्वाचनपछि कि अघि भन्नेमा कांग्रेसमा चरम विवाद र विग्रहको स्थिति देखिएको छ । केन्द्रीय समितिको नियमित बैठक रोकेर सहमति गर्न खोजिएको प्रयाससमेत अझै टुंगोमा पुग्न सकेको छैन । बरु विमलेन्द्र निधि, प्रकाशमान सिंह, गोपालमान श्रेष्ठ, विजयकुमार गच्छदार, डा.शशांक कोइराला र डा.प्रकाशशरण महतले कुनै हालतमा चुनावअघि महाधिवेशनमा जान नहुने अडान लिएका छन् । यही अडानलाई देखाउँदै कार्यवाहक सभापति खड्काले निर्णय लिन सकिरहेका छैनन् ।

यिनीहरूको अडानका बीच सोमबार ललितपुरको सिद्धार्थ कटेजमा बसेको कार्यसम्पादन समितिको अनौपचारिक छलफलमा कुरा नमिलेको हो । महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले पुस १६ देखि १९ गतेसम्म नियमित महाधिवेशन गर्नुपर्ने विषयमा कुरा राखेका थिए । तर, संस्थापन निकटका पदाधिकारी र पूर्वपदाधिकारीले निर्वाचनअघि महाधिवेशन गर्न नसकिने अडान राखेको एक नेताले जानकारी दिए । कार्यवाहक सभापति खड्काले पटकपटक आफ्नै पक्ष र इतरकासँग छलफल गरे पनि कुनै सहमति नजुटेको एक नेताले जानकारी दिए ।

‘कार्यवाहक सभापतिले छलफलको प्रयास गरेको देखिन्छ । तर, सोमबार दिनभरको उहाँको प्रयास कुनै टुंगोमा पुगेन । सबै आ–आफ्नै अडानमा बसेपछि यही विवाद बोकेरै भोलि १ बजे बस्ने केन्द्रीय समितिको बैठकमा जाने जस्तो गरी उठेका छौं,’ एक नेताले भने, ‘महामन्त्रीहरूले कार्यतालिका जसरी पनि ल्याउनैपर्ने अडान लिनुभएको छ । हाम्रो तर्फबाट निर्वाचनअघि महाधिवेशन हुँदैन भनेका छौं । धेरै नेताले हुँदैन भनेपछि अब महामन्त्रीले कार्यतालिका ल्याए पनि अर्को कार्यतालिका वैशाखमा महाधिवेशन गर्ने गरी ल्याउनुपर्ने दबाब आएको छ ।’

संस्थापन र इतर पक्षबीच कुरा नमिलेपछि कार्यवाहक सभापति खड्काले नेता शेखर कोइरालासँग धारणा मागेका थिए । तर, उनले प्रस्ट जवाफ नदिएको एक नेताले बताए । महाधिवेशन गर्नुपर्ने आशय व्यक्त गरे पनि कोइरालाले अडान लिएर निर्वाचनअघि नै महाधिवेशन गर्नेबारे राय नदिएको ती नेता बताउँछन् । त्यसैले अब केन्द्रीय समितिको बैठकमा सदस्यको कुरा सुन्ने र बैठक सकिने बेलासम्म सहमतिको प्रयास गर्ने गरी नेताहरू उठेका छन् ।

संस्थापन पक्षबाट वैशाखमा मात्रै महाधिवेशन गर्न सकिने अडान आएका बेला यही पक्षका केन्द्रीय सदस्यले छुट्टै भेला गरेका छन् । सोमबार बानेश्वरमा संस्थापनपक्षीय केन्द्रीय सदस्यहरूको भेला भएको हो । उनीहरूको भेलाले महाधिवेशनभन्दा निर्वाचनलाई प्राथमिकता दिनुपर्ने निर्णय गरेको छ । निर्वाचनलाई प्राथमिकता राख्नुपर्ने भन्दै संस्थापन पक्षीय केन्द्रीय सदस्यले वैशाखमा महाधिवेशन गर्नेगरी महामन्त्रीहरू अडानमा रहेपछि वैशाख २५ देखि २८ गतेसम्म महाधिवेशन गर्ने गरी संस्थापनबाट महाधिवेशनको कार्यतालिका बनाएर जानुपर्नेमा नेताहरूले जोड दिएका छन् ।

यो छलफलको अगुवाइ गरेका नेता गुरु बरालले वैशाख २५ देखि २८ गतेसम्म महाधिवेशनको मिति प्रस्ताव गरेको जानकारी दिए । उनीहरूले समानुपातिक र राष्ट्रियसभा सदस्यका उम्मेदवार पार्टीका वर्तमान र पूर्वपदाधिकारीबाहेक हालसम्म कुनै अवसर नपाएकाबाट बनाउन पनि प्रस्ताव गरेका छन् । छलफलमा सहभागी भएका नेता शिवप्रसाद हुमागाईंले यतिखेर महाधिवेशनभन्दा निर्वाचन कांग्रेसको प्राथमिकतामा रहेको बताए ।

‘राष्ट्र र राष्ट्रियता संकटमा भएकोले सारा ध्यान कांग्रेसले मुलुकलाई निकास दिन र नेतृत्व दिन लगाउनुपर्छ । झिनामसिना कुरामा अल्झिनु हुँदैन । संविधान डिरेल भएकोले यसलाई सही मार्गमा ल्याउनुपर्छ । यसका लागि निर्वाचन नै उपयुक्त माध्यम हो । निर्वाचनलाई स्वागत गरेर तयारीमा लाग्नुपर्छ भन्ने हाम्रो निचोड हो,’ हुमागाईंले भने, ‘नियमित कि विशेष अधिवेशनको नचाहिने बखेडा झिनो विषय हो । नियमित प्रक्रियाको कुरा हो । चार वर्षमा नभए पाँच वर्षभित्र हुन्छ । संकटका बेलामा मलाई टीका लगाएर देऊ भनेर हुँदैन । विशेष महाधिवेशनमा संगठनलाई रूपान्तरण, नेतृत्व रूपान्तरण हुँदैन । गगन थापाबाहेक अर्को नेतृत्वमा पार्टी नेतृत्व हत्याउने, कु मात्रै हुन्छ । हिजो सभापति हुनुभएन । अब गगनबाहेक अर्को राख्न हुँदैन ।’

विशेष महाधिवेशनवालाको छुट्टै दबाब

चुनावअघि कि पछि भन्नेमा बहस केन्द्रित भइरहेका बेला विशेष महाधिवेशन पक्षले पनि उत्तिकै दबाब बढाइरहेका छन् । शीर्ष नेतालाई भेट्दै उनीहरूले ढिलोमा पुससम्म नियमित महाधिवेशन गर्न अन्यथा विशेष महाधिवेशनमा जान दबाब बढाएका छन् । अभियानको नेतृत्व गरिरहेका गुरु घिमिरे, देवराज चालिसेसहितका नेता शेखरको निवास पुगेका थिए ।

प्रकाशित मिति : २०८२ कात्तिक १८ गते मंगलबार