२०८३ जेठ ४ , सोमबार 18, May 2026, Monday

‘ओलीको घरफर्क प्रस्ताव भ्रमको जाल’ : एकीकृत समाजवादी

सत्यपाटीसत्यपाटी । काठमाडौं । २०८२ कात्तिक १६ गते आइतबार

नेकपा एकीकृत समाजवादीले पार्टी एकता भाँड्न नेकपा एमालेका अध्यक्ष केपी ओलीले ‘घर फर्क’को जाल फ्याँकेको आरोप लगाएको छ । पार्टी एकताको निर्णयबाट अत्तालिएर ओलीले ‘घरफर्क’ भन्ने भ्रम जाल फ्याँकेको एकीकृत समाजवादीले आरोप लगाएको छ ।

उपाध्यक्ष एवं प्रवक्ता प्रकाश ज्वालाले विज्ञप्ति जारी गर्दै एकीकृत समाजवादीको हालै सम्पन्न केन्द्रीय कमिटीको बैठकले विभिन्न पार्टीबीचको एकताको विषयमा गरेको ऐतिहासिक निर्णयबाट अत्तालिएर केपी ओलीले ‘घर फर्क’ भन्ने भ्रम जाल फ्याकेको उल्लेख गरेका हुन् ।

एकीकृत समाजवादीको केन्द्रीय कमिटीको तेस्रो पूर्ण बैठकले नेकपा माओवादी केन्द्र, विप्लब समूहबाट विद्रोह गरेर पुनःगठन भएको नेकपा, नेपाल समाजवादी पार्टी, नेकपा समाजवादी, जनसमाजवादी लगायतका पार्टीहरूसँग एकता गर्ने निर्णय गरेको थियो । तर एकताप्रतिको विरोधमा भ्रम फैलाइएको भन्दै ओलीमाथि एकीकृत समाजवादीले कटाक्ष गरेको हो ।

विज्ञप्तिमा भनिएको छ, ‘केपी ओली (एमाले अध्यक्ष)ले घर फर्क भन्ने जाल फ्याँकेका छन् । हामी बीचको एकता प्रक्रिया भाँड्ने उनको दुष्प्रयास मात्र हो । यसबाट कोही पनि भ्रमित नहुन र सिंगो पार्टी पंक्तिलाई केन्द्रीय कमिटीको निर्णयको पक्षमा दृढतापूर्वक उभिन पार्टी हार्दिक आह्वान गर्दछ ।’

साथै बैठकले पार्टीको मार्गदर्शक सिद्धान्त मार्क्सवाद, लेनिनवाद, रणनैतिक लक्ष्य वैज्ञानिक समाजवाद र सङ्गठनात्मक सिद्धान्त जनवादी केन्द्रीयता रहने सहमति भएको जनाएको छ । बैठकले नेकपा माओवादी केन्द्र, विप्लव समूहबाट विद्रोह गरेर पुनःगठन भएको नेकपा, नेपाल समाजवादी पार्टी, नेकपा समाजवादी, जनसमाजवादी पार्टी लगायत समावेश हुनेछन् । पार्टीले यसलाई नेपालको कम्युनिस्ट आन्दोलनलाई एकताबद्ध गर्ने निर्णय गरेको थियो ।

प्रकाशित मिति : २०८२ कात्तिक १६ गते आइतबार