यदि विपिन जोशी जिवित भएका भए अहिले उनको परिवार मात्र हैन, पुरै देश उनको रिहाइको खुशीयालीमा हुने थियो । उनलाई विमानस्थलदेखि घरसम्म स्वागत गर्नेको लर्को देखिन्थ्यो होला । दुई वर्षदेखि विपिनको सकुशल रिहाइको प्रतिक्षामा बसेका नेपालीले जब एक साताअघि मात्रै उनी जिवित नरहेको खबर प्राप्त गरे । त्यसपछि परिवारहित सिङ्गो देश शोकमा डुब्यो ।
हमासले बन्धक बनाएको अवधिमै गाजामा मृत्यु भएका कञ्चनपुरका विपिन जोशीको मंगलबार बिहान महाकाली नदीस्थित भुजेलाघाटमा अन्त्येष्टी गरियो । जोशीको पार्थिव शरीरमा कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकालले राष्ट्रिय झण्डा ओढाएर सम्मान व्यक्त गरेका थिए । त्यसपछि शसस्त्र प्रहरी बलको एक टुकुडीले विपिनलाई सलामी अर्पण गर्यो ।
इजरायलले उल्लेख गरेको ‘फरेन्सिक रिपोर्ट’ अनुसार इजरायल–हमास युद्धमा हमासले बन्धक बनाएर टाउकोमा गोली हानी विपिनको हत्या गरिएको जनाइएको छ । विपिन जिवित नरहेको बारे जानकारी गत असोजको अन्तिम साता मात्रै हमासले सार्वजनिक गरेको थियो । कृषि विज्ञानतर्फ स्नातक तहको अध्ययनका सिलसिलामा विपिन लगायतका नेपाली विद्यार्थीको टोली इजरायल पुगेका थिए ।
सोही क्रममा हमासको आक्रमणसँगै विपिनलाई हमासले अपहरण गरी लगेका थिए । विपिनको खोजीका लागि राष्ट्रिय अन्तरराष्ट्रिय स्तरमा दबाब बढाइए पनि अन्ततः विपिन जिवित नभएको हमासले बताएको थियो । विभिन्न प्रक्रिया पुरा गरी सोमबार दिउँसो काठमाडौँ ल्याइएको विपिनको शव साँझ अबेरमा महेन्द्रनगरस्थित घरमा पुर्याइएको थियो । महाकालीको भुजेलाघाटमा राष्ट्रिय सम्मानसहित अन्त्येष्टिका क्रममा विपिन जोशीको सम्मानमा सशस्त्र प्रहरीले सलामी अर्पण गरेको थियो ।
उनको शव इजरायलबाट सोमबार दिउँसो काठमाडौं ल्याइपुर्याइएको थियो । काठमाडौंबाट नेपाली सेनाको स्काइ ट्रकबाट धनगढी र त्यहाँबाट कञ्चनपुरको भीमदत्त नगरपालिका–३ भाषीस्थित घर पुर्याइएको थियो । विपिनको शव परिवारलाई हस्तान्तरण गर्न नेपालस्थित इजरायली दूतावासका अधिकारी विपिनको घरसम्म पुगेका थिए । राति अबेर घरमा शव ल्याइपुर्याइएकाले आज बिहान शवयात्रासहित महाकाली नदी किनारको भुजेलाघाटमा अन्त्येष्टि गरिएको हो । भुजेलाघाटमा बुवा महानन्द जोशी र ठुलोबुवा रामदत्त जोशीले दागबत्ती दिए ।
नेपालका लागि इजरायली राजदूत समुलिक एरी बासले भुजेलाघाटमै पुगेर इजरायली राष्ट्रपतिको शोक सन्देश सुनाउँदै इजरायली झण्डा विपिनको शवमा ओढाए । राजदूत नेतृत्वको टोली शवसँगै काठमाडौँबाट विपिनको अन्त्यिेष्टीसम्म सहभागी भयो । विपिनको काजक्रिया ठुलाबुवा रामदत्त जोशीले गरिरहेको परिवारजनको भनाइ छ । शवयात्रामा जनप्रतिनिधी, इजरायली राजदूतसहितको टोली, विपिनका इष्टमित्र, आफन्तजन र सर्वसाधारणको उल्लेख्य सहभागिता थियो ।
दुई वर्षअघि अध्ययनको सिलसिलामा इजरायल गएका विपिन जोशीको हमास लडाकुको नियन्त्रणसँगै हत्या भएको थियो । दुई वर्षअघि सुदूरपश्चिम विश्वविद्यालयको ‘लर्न एण्ड अर्न’ कार्यक्रम अन्तर्गत इजरायल पुगेका विपिन इजरायल पुगेको एक महिनामै हमासको आक्रमणमा परेका थिए । हमास लडाकुहरु गाजा क्षेत्रबाट इजरायलमा प्रवेश गरी सन् २०२३ को अक्टुबर ७ मा आक्रमण गरेका थिए ।
उक्त आक्रमणमा परेर सुदूरपश्चिम विश्वविद्यालयका १० विद्यार्थीको मृत्यु भएको थियो भने विपिनलाई बन्धक बनाइएको थियो । दुई वर्षसम्म उनको अवस्था अज्ञात थियो ।तर इजरायल र हमासबीच हालै युद्धबिराम भएपछि बन्धकहरुको रिहाइ गर्ने क्रममा गत २८ असोजमा इजरायली सेनाले विपिनको सन् २०२३ तिरै हत्या पुष्टि भएको सूचना इजरायलस्थित नेपाली दूतावासलाई दिएको थियो ।
नेपालको सरकारी समाचार एजेन्सी राष्ट्रिय समाचार समिति (रासस)का अनुसार इजरायलले पठाएको फरेन्सिक परीक्षण रिपोर्टमा विपिनको टाउकोमा गोली लागेर मृत्यु भएको उल्लेख छ । तिहारको बेला विपिनको शव घर आइपुग्दा सन्नाटा छाएको छ । ‘बहिनी पुष्पा यसपाली भाइटीकामा दाजुसित भेट हुने आशामा थिइन्,’ परिवारका सदस्य किशोर जोशीले भने, ‘लक्ष्मीपूजाका दिन विपिनको शव आँगनमा आइपुग्दा परिवार शोकमा डुबेको छ ।’ बहिनी पुष्पाले दाइको निधनको खबरले आधिकारिकता पाएपछि घरमा तिहारका लागि तयार पारिएका सयपत्री फूल उखेलेको जोशी परिवारको भनाइ छ ।
सत्यपाटी