२०८३ साउन ३ , आइतबार 19, July 2026, Sunday
साहित्य

दीपावलीको दियो यसपालि मधुरो छ

आमालाई हँसाउनु छ, तर खै ! रित्तिएका काख छन्, कुल्चिएका भाव छन् ।
उमङ्गजङ्ग शाहउमङ्गजङ्ग शाह । काठमाडौं । २०८२ कात्तिक ४ गते मंगलबार

लक्ष्मी मातालाई भित्र्याउनु छ,
सुख-शान्ति ऐश्वर्य ल्याउनुछ,
तर के गर्नु खै !
दीपावलीको दियो यसपालि मधुरो छ ।

पराई मुलुकमा यो देशको छोरो लड्दै गर्दा,
थाम्नलाई बलिया हात रहेनछन् थाहा भो ।
भैगो ! समाज गुहारौँ भनेथेँ,
आफ्नै स्वर भासिइसकेछ थाहा भो ।

व्याधा कस्तो ! बालखाका रगत बग्दै गर्दा,
चित्त उसको दुख्दो रहेनछ थाहा भो ।
समाज खै ! हुँडार प्रवृत्ति हावी भएछ,
प्राण नउड्दै सिकार लुछ्न चुक्दो रहेनछ थाहा भो ।

बुद्धको सन्देश, भृकुटीको त्याग, सहिदको बलिदान भुल्दा,
निश्चलता दुर्लभ भो, धमिलो पानी आज बढी रुच्दो रहेछ थाहा भो ।
सत्यनिष्ठा, न्यायप्रेमी गोर्खालीको वीर गाथा खोई ?
निर्भय खुकुरी बरु कोमल थियो,
कुटिलताको बधसालामा कलमले बढी रेट्दो रहेछ थाहा भो ।

आत्मानुभूति माथि सहानुभूति हावी छ ।
भावना बजारमा बिक्री हुँदै गर्दा,
किन्नेको होड यहाँ चल्दो रहेछ थाहा भो ।
कालो-सेतो, सेतो-कालो फरक छुट्याउनै गाह्रो,
धुर्तले अनेक रंग आफ्नै भर्दो रहेछ थाहा भो ।

आमालाई हँसाउनु छ, तर खै ! रित्तिएका काख छन्, कुल्चिएका भाव छन् ।
मलम भन्दा गहिरो घाउ, इट्टा भन्दा जीवनको भाउ यहाँ सस्तो छ ।
छिपेका स्यालका हुई-हुई पनि फेरि उही,
पोखिएका रगत माथि हानथाप, जुवाको खाल छ ।
खै! कसरी मनाउने तिहार ?
दीपावलीको दियो यसपालि साह्रै मधुरो छ ।

प्रकाशित मिति : २०८२ कात्तिक ४ गते मंगलबार