सेती नदीको पुलबाट फालिएको कुकुर घटना भएकै दिनदेखि बेपत्ता छ । गत भदौ १७ गते बझाङको जयपृथ्वी नगरपालिका–१०, चैनपुरस्थित पानकोट पुलबाट एउटा कुकुरलाई सेती नदीमा फालिएको थियो ।
आफूले पालेको कुकुरलाई नदीमा फाल्ने सोही नगरपालिकाकी ४२ वर्षीया विमलादेवी रोकाया हुन् । कुकुरलाई नदीमा फाल्दै गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि प्रहरीले उनलाई पक्राउ गरेको हो ।
सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख डीआईजी सानुराम भट्टराईका अनुसार, रोकायालाई बिहीबार (असोज १) पक्राउ गरिएको हो । पक्राउ परेकी विमलाले उक्त कुकुर दुई हप्तादेखि बिरामी भएको र अरू मानिसलाई समेत टोक्न थालेकाले नदीमा फालेको बयान प्रहरीलाई दिएकी छन् ।
बिरामी भएका कारण कुकुरको शरीरको पछिल्लो भागबाट दुर्गन्ध आउन थालेको समेत उनले बताएकी छन् । सामान्यतया, खुट्टा नबाँधी फालिएका कुकुरहरू नदी जतिसुकै ठूलो भए पनि पौडिएर बाहिर निस्कने गर्छन् । तर, विमलाले पालेको उक्त कुकुर भने हालसम्म घर फर्किएको छैन ।
