सरकारले घरायसी र व्यावसायिक प्रयोजनको लागि खाना पकाउने ग्यासको अलग अलग सिलण्डर वर्गीकरण गर्ने भएको छ । घरायसी र व्यावसायिक प्रयोजनको सिलिण्डरको मूल्य पनि अलग-अलग तोक्न लागिएको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ ।
जसका लागि मन्त्रालयले अध्ययन कार्यदल पनि गठन गरेको छ । भदौ ३१ गते मन्त्रालयले अध्ययन कार्यदल गठन गरेको हो । जसलाई १५ दिनको समय दिइएको छ । १५ दिनमा अध्ययन कार्यदलले प्रतिवेदन बुझाउनु पर्नेछ । कार्यदलको संयोजकमा मन्त्रालयको आपूर्ति व्यवस्था तथा उपभोक्ता हित संरक्षण महाशाखा प्रमुख, सहसचिव जितेन्द्र बस्नेत रहेका छन् ।
अन्य सदस्यहरूमा नेपाल आयल निगमका नायब कार्यकारी निर्देशक वा निर्देशक रहने छन् भने उद्योग विभागका निर्देशक, नेपाल गुणस्तर तथा नापतौल विभागका निर्देशक, ग्यास उद्योग संघका दुई जना प्रतिनिधि र संयोजकले तोकेको सम्बन्धित महाशाखाको एक उपसचिव सदस्य सचिव रहने छन् ।
