गएको भदौमा नेपाल प्रहरीको तालिमप्राप्त कुकुर बिजुलीलाई अवकाश दिइयो । नेपाल प्रहरी केनाइन कार्यालयमा कार्यरत ‘रेस्क्यू डग’ बिजुलीको त्यसलगत्तै एक जना अवकाशप्राप्त प्रहरी उच्च अधिकारीको घरमा नयाँ दैनिकी सुरु भयो । आठ वर्षको बिजुली जर्मन शेफर्ड प्रजातिकी पोथी कुकुर हो ।
नेपाल प्रहरीको केनाइन कार्यालयले निष्क्रिय प्रमाणीकरण गरेपछि अवकाशप्राप्त प्रहरी अतिरिक्त महानिरिक्षक टेकबहादुर तामाङले उसको संरक्षणको जिम्मा लिएका हुन् । विगतमा सेवामुक्त भएका प्रहरीका कुकुरहरू जीवित रहेसम्म उनीहरूको स्याहार सुसार नेपाल प्रहरीको केनाइन कार्यालयले गर्दै आएको थियो ।
तर विक्रम सम्वत २०८० मा नेपाल प्रहरीले ल्याएको एउटा नियम अनुसार यस्ता कुकुरहरू बहालवाला र अवकाशप्राप्त प्रहरी अधिकारीहरू, सर्वसाधारण व्यक्तिहरू र दाताहरूलाई उपलब्ध गराउन थालिएको छ । नेपाल प्रहरीको केनाइन कार्यालयका प्रमुखले हालसम्म २३ वटा ‘निष्क्रिय’ कुकुरहरू सर्वसाधारणसहितका स्वीकारकर्ताहरूलाई उपलब्ध गराइएको बीबीसीलाई बताए ।
बिजुलीको अवस्था के छ ?

अवकाशप्राप्त अतिरिक्त प्रहरी महानिरिक्षक टेकबहादुर तामाङ बिजुलीको ठेगाना परिवर्तन भएको तर उसको व्यवहार नफेरिएको बताउँछन् । हाल पारिवारिक कार्यक्रममा जापानमा रहेका उनले आफूले छिमेकीलाई उक्त कुकुरलाई हेरिदिनु भनेर आएको बताए । उनले भने, ‘तालिम प्राप्त भएकाले त्यसलाई फेरि तालिम गराई राख्नु नपर्ने भएकाले मैले उक्त कुकुर ल्याएको हुँ । प्रहरी अधिकारीलाई यस्तो गर्न प्राथमिकता पनि दिएको रहेछ । त्यो सूचना पाएर मैले लिएको हुँ ।’
उनले भने, ‘तालिम प्राप्त भएकाले यो कुकुर ज्ञानी छ । नयाँ कुकुरलाई ल्याउँदा त्यसलाई तालिम दिनुपर्छ । तर यसले भनेको मान्छ । अहिले म नहुँदा त्यहाँ छिमेकमा हेरिदिनु भनेर आएका छौँ । त्यहाँ मानिरहेको छ ।’ तामाङका अनुसार कुकुरसँग उनको परिवारको गहिरो निकटता छ ।
‘पहिला पनि कुकुर पालेका थियौँ । तर विगतमा त्यो बितिसकेपछि मेरो श्रीमती धेरै दुःखी भइन् । अनि, हामीले पालेका थिएनौँ । धेरै वर्षपछि हामीले फेरि पाल्न लागेका हौँ ।’ बिजुलीले आठ वर्षसम्म नेपाल प्रहरीमा खोज तथा उद्धार कार्यमा सघाएको अधिकारीहरू बताउँछन् । भदौ महिनामा नै म्याक नामक जर्मन सेफर्ड र मोती नामक गोल्डेन रिट्रिभर कुकुरलाई दुई जना बहालवाला अधिकारीहरूले जिम्मा लिएका थिए ।
कस्तो छ नियम ?

अवकाशप्राप्त कुकुरहरूको व्यवस्थापनसम्बन्धी प्रबन्ध प्रहरीका कुकुरहरूको विषयगत सङ्ख्या निर्धारण सेवा प्रवेश तथा सेवामुक्तसम्बन्धी कार्य निर्देशन–२०८० बमोजिम हुँदै आएको छ । प्रहरी उपरीक्षक डाक्टर रामचन्द्र सत्यालका अनुसार उक्त नियम आएयता काठमाडौंस्थित नेपाल प्रहरी केनाइन कार्यालयबाट ६ र विभिन्न प्रदेशका केनाइन शाखाका १७ वटा कुकुरहरू वितरण गरिएका छन् ।
यस्ता कुकुर स्वीकार गर्ने तीन जना सर्वसाधारणहरू रहेका छन् । उनले भने, ‘स्वास्थ्यको कारणले भनौँ वा उनीहरूको कार्यसम्पादनको हिसाबले भनौँ वा उमेर हदको कारणले भनौँ जब प्रभावकारी रूपमा ड्यूटी सम्पादन गर्न सक्दैनन्, उनीहरूको विषय अनुसारको काम गर्न प्रभावकारिता कम हुन्छ, त्यसपछि उनीहरू कामका लागि योग्य छैनन् भनेर हामी निष्क्रिय प्रमाणित गर्छौँ । त्यसका लागि पनि समिति हुन्छ । निष्क्रिय कुकुरहरूलाई हाम्रो बहालवाला कर्मचारी, सेवानिवृत कर्मचारी र आम सर्वसाधारणहरूले म स्वीकार गर्छु भन्ने प्रावधान राखिएको छ ।’
नेपाल प्रहरीको केनाइन कार्यालयको प्रमुखको अध्यक्षतामा रहेको बोर्डको सिफारिसका आधारमा निष्क्रिय गर्नुपर्ने तालिमप्राप्त कुकुरहरूको कार्य क्षमताको परीक्षण गर्ने गरिएको छ । त्यसैगरी निष्क्रिय प्रहरी कुकुर व्यवस्थापन समितिले लिलाम बढाबढमार्फत् सःशुल्क वितरण गरिने प्रहरी कुकुर वा निःशुल्क उपलब्ध गराइने कुकुरबारे सूचना जारी गर्ने गरिएको अधिकारीहरू बताउँछन् ।
प्रहरीका कुकुरहरूको व्यवस्थापन सम्बन्धी कार्य निर्देशनका अनुसार निष्क्रिय प्रमाणीकरण गरिएका कुकुरहरूको वितरणका लागि ६ वटा प्राथमिकताक्रम निर्धारण गरिएको छ । त्यसमा कुनै दातामार्फत् प्राप्त भएको प्रहरीको कुकुरका हकमा निष्क्रियतापश्चात् सोही दातालाई पहिलो प्राथमिकतामा राखेर निःशुल्क वितरण गर्ने प्रावधान राखिएको छ ।
कसलाई कति प्राथमिकता ?

नेपाल प्रहरी केनाइन कार्यालयका प्रमुख रामचन्द्र सत्यालले विगतमा संयुक्त राज्य अमेरिकाले नेपाल प्रहरी र सशस्त्र प्रहरी बललाई उपहार दिएका कुकुरहरू सेवाबाट मुक्त भएपछि फिर्ता लगेको बताए । उनी भन्छन्, ‘अमेरिकाको नीति नै अवकाश पाएको कुकुरलाई आफ्नै देशमा लिएर जाने भन्ने रहेछ । एउटा बेल्जियन मेलिनोईज र अर्को डच शेफर्ड प्रजातिको कुकुर थियो । यहाँ सात–आठ वर्ष काम गर्यो अनि उहाँहरूले लिएर जानुभयो ।’
दोस्रो प्राथमिकतामा नेपाल प्रहरीको बहालवाला कर्मचारीहरूमध्येबाट ज्येष्ठताका आधारमा सःशुल्क वितरण गरिने प्रावधान छ । तेस्रोमा नेपाल प्रहरीका पूर्व कर्मचारीहरूमध्येबाट केनाइन कार्यालय शाखा नजिकै बसोबास गर्ने र वरिष्ठताका आधारमा सःशुल्क वितरण गरिने प्रावधान छ । चौथोमा, प्राप्त निवेदनका आधारमा सःशुल्क वितरण गरिने उल्लेख छ ।
सःशुल्क वितरण नभएको अवस्थामा निःशुल्क वितरण गर्न सकिने भन्दै नियममा त्यसको प्राथमिकताको आधार बहालवाला प्रहरी कर्मचारी हुने र अन्तिम प्राथमिकता सर्वसाधारणलाई दिइने उल्लेख छ । कुनै पनि कार्यालय वा व्यक्तिले अवकाशप्राप्त प्रहरी कुकुर स्वीकार गर्न नचाहेको खण्डमा निष्क्रिय भएका कुकुरहरूको मृत्यु नभएसम्म रासन, आवास र औषधि उपचारसम्बन्धी व्यवस्था सम्बन्धित प्रहरी कार्यालयबाट गरिने नियममा उल्लेख छ ।
स्वामित्व हस्तान्तरणबारे कस्तो प्रतिक्रिया आएका छन् ?

नेपाल प्रहरीको केनाइन कार्यालयको लामो समय नेतृत्व गरेकी अवकाशप्राप्त प्रहरी वरिष्ठ उपरीक्षक डाक्टर देउती गुरुङ प्रहरी कुकुरहरू सङ्गठनको हिस्सा रहेको भन्दै लामो समयको छलफलपछि अवकाशप्राप्त कुकुरहरूको व्यवस्थापनबारे एउटा निष्कर्षमा पुगिएको बताउँछिन् ।
उनले भनिन्, ‘उ पनि नेपाल प्रहरीको एउटा सदस्य हो । निश्चित उमेरपछि उ शिथिल हुँदै जान्छ, कार्यसम्पादन गर्न सक्दैन । हामीले पहिला पालेर नै राख्यौँ । तर पालेरै राख्दा पनि त्यस्तो कुकुरको सङ्ख्या बढी हुने भयो, सरकारले सधैँ रासन पानीहरू दिइराख्नुपर्ने भयो । अनि हामीले निर्देशिका बनाएका हौँ । उसको पनि बाँच्ने अधिकार छ । घरमा बस्यो भने उसले पनि माया पाउँछ । बुढो भए पनि ‘गार्ड डग’ (पहरेदारी गर्ने कुकुर)को रूपमा उसले भूमिका खेल्न सक्छ ।’

गुरुङ उक्त नियम आएपछि मिश्रित प्रतिक्रिया पाएको बताउँछिन् । कतिपयले कुकुरको पशु अधिकारको कुरा उठाएको उल्लेख गर्दै उनले कतिपय बहालवाला र अवकाशप्राप्त प्रहरी अधिकारीहरूले प्रहरी कुकुरहरूलाई पाल्ने इच्छा देखाएको उल्लेख गरिन् ।
‘हाम्रा कुकुरहरूले राम्रो तालिम पाएका हुन्छन् । उनीहरू आक्रामक हुँदैनन् । घरमा घुलमिल भएर बस्न सक्ने खालका हुन्छ्न् किनभने उनीहरू नियमित रूपमा ड्यूटीमा गइरहेका हुन्छन् । सर्वसाधारणसँग पनि भिजेर बस्ने खालका हाम्रा कुकुरहरू छन् । चार–पाँच वर्षसम्म बस्न सक्छन् । सानो जातको १५ वर्षसम्म पनि बाँच्छ । हामीकहाँ ड्यूटी सम्पादन दिने भनेको सात–आठ वर्ष हो । त्योभन्दा बढी उसले कामै गर्न सक्दैन ।’
नेपाल प्रहरीसँग कुन-कुन प्रजातिका कुकुर छन् ?

अधिकारीहरूका अनुसार हाल नेपाल प्रहरीसँग केनाइन कार्यालय महाराजगञ्जसहित १३ स्थानमा गरेर १०० वटा कुकुरहरू रहेका छन् । केनाइन कार्यालयका प्रमुख सत्यालका अनुसार नेपाल प्रहरीसँग जर्मन शेफर्ड, ल्याब्राडोर रिट्रिभर, गोल्डेन रिट्रिभर, बिगल, बेल्जियन मेलिनोइज र ककर स्पानीयल गरेर ६ प्रकारका कुकुरहरू छन् ।
सुँघेर अपराधी वा अपराधस्थल पहिचान गर्नसक्ने विशेष क्षमताका कारण अपराध अनुसन्धानमा तालिमप्राप्त प्रहरी कुकुरहरूले महत्त्वपूर्ण भूमिका खेल्ने गरेका छन् । चोरी, हत्या, अपहरण जस्ता आपराधिक घटनाको अनुसन्धानमा ’ट्र्याकर कुकुर’को प्रयोग गर्ने गरिन्छ । खोजी तथा उद्धारमा खटिने कुकुरहरू विभिन्न किसिमका प्रकोप वा आपराधिक घटनाहरूमा हराइरहेका मानिरहेको रहेको सम्भावित स्थान पत्ता लगाउने कार्यमा प्रयोग गरिन्छन् ।
विस्फोटक पदार्थ खोजी एवं पहिचान एवं लागु औषध खोजी एवं पहिचान कुकुरहरू अन्तर्राष्ट्रिय विमानस्थल लगायतका संवेदनशील क्षेत्रहरूमा परिचालन गराइन्छ । प्रहरीले अनुशासनको महत्त्वलाई दर्साउने उद्देश्यले कला प्रदर्शनी लगायतमा प्रयोग गरिने आज्ञापालक कुकुर र उच्च नश्लका कुकुरहरू प्रजननमार्फत् उत्पादनका लागि ब्रीडर कुकुरहरू पनि राख्ने गरेको पाइन्छ ।