२०८२ कात्तिक ३० , आइतबार 17, November 2025, Monday

बाँकेमा फस्टाउँदै कालिजपालन व्यवसाय

सत्यपाटी
सत्यपाटी । बाँके । २०८२ असोज २६ गते आइतबार

पछिल्लो समयमा आएर बाँकेमा कालिजको माग बढ्दै जाँदा कालिजपालनमा लागेका किसान उत्साहित बनेका छन् । माग पूरा गर्न उनीहरुलाई भ्याइनभ्याई छ । जाडोको मौसममा कालिजको माग झनै बढ्ने भएकोले उत्पादन दोब्बर वृद्धि गरेको उनीहरुको भनाइ छ । बाँकेको बैजनाथ गाउँपालिका–१, चिसापानीका तुला बुढा कालिज पालन व्यवसायमा सफल उदाहरण बनेका छन् ।

जङ्गलमा पाइने बोटबिरुवा, झारपात र किरा–फट्याङ्ग्रा खाएर हुर्किने कालिजलाई उहाँले व्यवस्थित खोरमा पाली व्यावसायिक रूपमा अगाडि बढाएका हुन् । करिब १५० कालिज पालेर गत वर्षबाट कालिज पालनको सुरुवात गरेका बुढाको फार्ममा अहिले ३०० भन्दा बढी कालिज छन् । उनले जाडोको मौसमलाई लक्षित गरेर कालिज उत्पादन दोब्बर गरेको बताए ।

‘माग अनुसार कालिज पुर्याउन गाह्रो परेपछि यो वर्ष सङ्ख्या बढाएर ३०० पुर्याएका हौं,’ बुढाले भने । उनका अनुसार उत्पादन भएका कालिज बाँके, बर्दिया, सुर्खेत र काठमाडौँसम्म पनि पठाइन्छ । ‘काजिल किन्न ठाउँठाउँबाट मानिसहरू आउँछन्, धेरैजसोले त फोन गरेरै अर्डर गर्छन्,’ उनले थपे ।

स्वादिलो र स्वास्थ्यका हिसाबले फाइदाजनक भएकाले नेपालगन्ज र कोहलपुर लगायत यस क्षेत्रका बजारमा कालिजको माग बढ्दो क्रममा छ । सोही कारणले व्यवसायिक रुपमा पालन गर्ने उदेश्यका साथ करिब १० लाख रुपियाँको लगानीमा बुढाले कालिजका लागि आधुनिक खोर बनाएका छन् ।

फलामको जालीले घेरेको खोरको माथिल्लो भागमा पनि धागोको जाली लगाइएको छ जसबाट कालिज उडेर भाग्न नपाओस् । ‘कालिज उड्ने पक्षी भएकाले माथि पनि जाली अनिवार्य हुन्छ,’ उनले बताए । कालिजलाई कुखुराको दानासँगै हरियो घाँस, रुखबिरुवाको पात तथा स्थानीय बोटबिरुवाका फल खुवाइन्छ ।

बुढाले कालिजका लागि आफ्नै बारीमा किम्बु, सरिफा, इपिल, कटहर, बकाइनो र नीम लगायतका बिरुवा रोपेका छन् । उनका अनुसार कालिजले बिरुवाको बोक्रासम्म खाइदिने भएकाले बेलाबेलामा नयाँ बोट रोप्नुपर्छ । अहिले भाले कालिज प्रतिवटा तीन हजार रुपैयाँ र पोथी कालिज दुई हजार ५०० रुपैयाँमा बिक्री भइरहेको बुढाको भनाइ छ ।

उनका अनुसार भालेको तौल बढी हुने र मासु स्वादिलो भएकाले त्यसको माग पोथीभन्दा धेरै हुने गरेको छ । गत वर्ष लगानीको अधिकांश रकम खोर निर्माणमा खर्च भएपनि यस वर्षदेखि नाफा हुने अपेक्षा गरिएको बुढाले बताए । उनले भने, ‘पहिलो वर्ष लगानी उठ्यो, अब फाइदा हुने विश्वास छ ।’

बुढाले हाल अण्डाबाट चल्ला निकाल्ने मेसिन खरिद गरेका छन् भने अण्डा तथा चल्ला दुबै बिक्री गर्दै व्यवसाय विस्तारमा लागेका छन् । उनका अनुसार माग वृद्धि हुँदै गएकाले यो व्यवसायमा राम्रो भविष्य देखिएको छ । कालिजपालनमा तौरतरिका मिलेको खण्डमा प्रशस्त कमाइ गर्न सकिन्छ । कालिज विशेषत छदेखि आठ महिनामा बिक्रीका लागि योग्य हुन्छ ।

कलिलो तथा नरम घाँस घरमै खस्रो बनाएर पिसेको गहुँ, मकैको दाना कालिजको आहार हो । कालिजको मासुको माग पछिल्लो समय अत्यधिक मात्रामा बढ्दो छ । कालिजपालन व्यवसायमा पछिल्लो समय आकर्षण बढिरहेको देखिन्छ । अहिले बजारमा कालिजको माग बढ्दो छ । बजार मूल्य राम्रो हुन थालेपछि यसको व्यावसायिक पालनमा आकर्षण बढ्न थालेका हुन् ।

प्रकाशित मिति : २०८२ असोज २६ गते आइतबार