बाँकेमा अघिल्लो आर्थिक वर्ष २०८०–०८१ मा भन्दा गत आर्थिक वर्ष २०८१–०८२ मा तरकारी तथा फलफूलजन्य वस्तुमा विषादीको मात्रामा वृद्धि भएको पाइएको छ । अघिल्लो आवमा भन्दा गत आवमा तरकारी तथा फलफूलजन्य वस्तुको नमूना बढी मात्रामा परीक्षण भएसँगै विषादी पाइने सङ्ख्यामा पनि वृद्धि भएको हो ।
नेपालगन्जस्थित कृषि विभाग, केन्द्रीय कृषि प्रयोगशाला, विषादी अवशेष द्रुत विश्लेषण प्रयोगशाला एकाइमा गत आवमा एक हजार ८८३ वटा विभिन्न तरकारी तथा फलफूलजन्य वस्तुको नमुना परीक्षण भएका हुन् । उक्त सङ्ख्यामा नमुना परीक्षण हुँदा १० वटा नमुनामा कैफियत पाइएको हो ।
त्यसैगरी अघिल्लो आवमा एक हजार ९४ वटा नमुना परीक्षण हुँदा सात वटा नमुनामा कैफियत पाइएको थियो । प्रयोगशाला एकाइ नेपालगन्जका नायव प्राविधिक सहायक गौरव चौधरीले गत आवमा एक हजार ८८३ वटा तरकारी तथा फलफूलजन्य वस्तुको नमूना परीक्षण गर्दा १० वटा नमुनामा कैफियत पाइएको जानकारी दिए ।
‘प्रयोगशालामा गत आवमा एक हजार ८८३ वटा नमुना परीक्षण भएकोमा १० वटा नमुनामा कैफियत देखियो, अघिल्लो आवमा एक हजार ९४ परीक्षण गरिएको थियो, जसमा सात वटा नमुनामा कैफियत देखिएको थियो,’ उनले भने, ‘अघिल्लो आवमा भन्दा गत आवमा नमुना परीक्षणको सङ्ख्यामा उल्लेख्य वृद्धि भएको छ, परीक्षणको दायरा बढेसँगै कैफियतमा पनि केही वृद्धि भएको पाइयो ।’
उनका अनुसार कैफियत पाइएका तरकारी बाँके जिल्लाकै उत्पादन हुन् । १० वटामध्ये नौ वटा रायो, माटे र सम्धिनी लगायतका सागमा कैफियत पाइएको हो भने एउटा बोडीको नमुनामा पाइएको हो । चैतमा तीन, वैशाखमा पाँच, जेठमा एक र असारमा एक वटा नमुनामा कैफियत देखिएको थियो । दश वटै नमुना परीक्षण गर्दा रेड लेबल (उपभोग गर्न नमिल्ने) पाइएको चौधरीले बताए ।
प्रयोगशालामा भारतबाट आयातित ४१३, सल्यानका २७३, बाँकेका ९६२, चितवनका ७९, सुर्खेतका १२, जुम्लाका एक, बर्दियाका ५३, रोल्पाका ११, दैलेखका दुई, रुपन्देहीका एक र दाङका ७६ गरी एक हजार ८८३ वटा नमुना परीक्षण भएका हुन् । तरकारी तथा फलफूलजन्य वस्तुको नमुना परीक्षणमा ३५ प्रतिशतभन्दा कम निषेध प्रतिशत भएमा त्यसलाई ग्रीन लेबल र उपभोग गर्न मिल्ने हुन्छ ।
त्यस्तै तरकारी तथा फलफूलजन्य वस्तुको नमुना परीक्षणमा ३५ देखि ४५ प्रतिशत निषेध प्रतिशत पाइएमा त्यसलाई यल्लो लेबल र त्यसलाई चार पाँच दिनसम्म क्वारेन्टिनमा राखेर पुनः परीक्षण गर्दा ३५ प्रतिशतभन्दा कम निषेध प्रतिशत देखिएमा त्यो पनि उपभोग गर्न मिल्ने र ४५ प्रतिशतभन्दा माथि निषेध प्रतिशत देखिएमा त्यसलाई रेड लेबल भनिने र उपभोग गर्न नमिल्ने चौधरीले बताए ।
प्रयोगशालामा नेपालका विभिन्न जिल्लाबाट नेपालगन्ज आउने तरकारी तथा फलफूलजन्य वस्तु र भारतबाट आयात गरिने तरकारी तथा फलफूलजन्य वस्तुको विषादी जाँच हुने गरेको छ । एकदेखि डेढ घण्टाभित्रमा प्रयोगशालामा परीक्षण गरिएका नमुनाको नतिजा आउने उनको भनाइ छ ।
प्रयोगशालामा आव २०८०–०८१ मा एक हजार ९४ वटा नमुना परीक्षण हुँदा तीन वटा यल्लो र चार वटा रेड लेबल गरी सात वटा नमुनामा कैफियत पाइएकोमा आव २०७९–०८० मा एक हजार ८५ नमुना परीक्षण हुँदा छ वटा यल्लो र १० वटा रेड लेबल गरी १६ वटा नमुनामा कैफियत देखिएको थियो । गत आवमा नमुना परीक्षणको सङ्ख्या वृद्धि भएसँगै कैफियत पाइने सङ्ख्यामा पनि वृद्धि भएको हो ।
नायव प्राविधिक सहायक चौधरीका अनुसार तरकारी तथा फलफूलजन्य वस्तुमा अर्गानोफस्फेट र कार्बामेट गरी दुई वटा विषादी समूहको परीक्षण हुने गर्दछ । कृषि विभाग, केन्द्रीय कृषि प्रयोगशाला, विषादी अवशेष द्रुत विश्लेषण प्रयोगशाला एकाइ नेपालगन्जबाट २०७९ मङ्सिर महिनादेखि तरकारी तथा फलफूलजन्य वस्तुको विषादीको नमुना परीक्षण सुरु गरिएको हो ।
चालु आव २०८२–०८३ को साउन महिनादेखि हालसम्म प्रयोगशालामा ४८२ वटा विभिन्न तरकारी तथा फलफूलजन्य वस्तुको नमुना परीक्षण गरिएको छ । उक्त नमुनामा कुनै पनि कैफियत नपाइएको प्रयोगशालाले जनाएको छ ।
सत्यपाटी