२०८३ साउन ४ , सोमबार 21, July 2026, Tuesday

नवरात्री मेलामा संस्कृति जोगाउँदै युवापुस्ता

सत्यपाटीसत्यपाटी । भक्तपुर । २०८२ असोज १४ गते मंगलबार

भक्तपुरका नेवार समुदायका युवा पुस्ता दसैँमा परम्परागत बाजा बजाउँदै संस्कृति संरक्षणमा सक्रिय भएका छन् । घटस्थापनादेखि यहाँ लाग्ने नौराते अर्थात नवरात्री मेलामा युवायुवतीको समूहले धिमेलगायतका बाजा बजाउँदै आ–आफ्नो टोलबाट मन्दिर जाने र फर्किने गरेका छन् । त्यसरी बाजा बजाउँदै जाने आउनेको समूहले रात गुञ्जयामान हुने गरेको छ ।

नेवारी पोसाकमा सजिएका उनीहरुले टोलटोलबाट धिमे, बाँसुरी, झ्याली लगायत बाजा बजाउँदै मन्दिर गएपछि नवरात्री मेलाको रौनकता थपिएको स्थानीय बताउँछन् । घटस्थापनादेखि नवमीको रातिसम्म यस्ता बाजाले दसैँको रौनकता थपिने टौमढीका स्थानीय विजय धौभडेल बताउँछन् । मेला भर्न शक्तिपीठ आउँदा दसैंँ अवधिमा साँझ र राति भक्तपुर बाजागाजाको धुनले गुञ्जायमान हुने दत्तात्रयका रामचन्द्र प्रजापति बताउँछन् ।

धिमे बजाउँदै नवरात्री मेलामा सहभागी हुन आएकी प्रतिमा श्रेष्ठले भनिन्, ‘बाजा बजाउँदा आनन्द आउँछ । यो हाम्रो पूर्खाको देन पनि हो, पहिला केटी मान्छेले बाजा बजाउनु हुदैन भन्थे, अहिले त्यस्तो छैन । त्यसैले बाजामा आकर्षित भएको हुँ ।’ बाजा बजाउँदै मेला भर्न आउने युवतीको सङ्ख्या पनि हरेक वर्ष बढ्दै गएको छ ।

‘पहिले बाजा बजाउनेमा बढी सङ्ख्या युवकको हुन्थे भने अहिले बाजाप्रति युवतीको आकर्षण उत्तिकै बढेको छ,’ बाजा टोलीमा झ्याली बजाउँदै आउनु भएकी सुनिता खर्बुजाले भनिन् । बाजाको प्रशिक्षण लिएपछि जात्रा र पर्वहरुमा बाजा बजाउन थालेको उनले बताइन् । भक्तपुरका संस्कृतिविद् प्रकाश धौभडेलले बाजाप्रति युवायुवतीको आकर्षण बढेको देखेर लापोन्मुख बाजाहरुको संरक्षण हुनेमा ढुक्क भएको बताए ।

प्रकाशित मिति : २०८२ असोज १४ गते मंगलबार