२०८३ भदौ २ , मंगलबार 18, August 2026, Tuesday

मनसुन बाहिरिने क्रम रोकिँदा देशभर बदली, चट्याङसहित वर्षा

सत्यपाटीसत्यपाटी । काठमाडौं । २०८२ असोज १४ गते मंगलबार

देशका सबै प्रदेशमा मंगलबार (असोज १४) साधारणतया बदलीको पूर्वानुमान छ । साधारणतथा बदली भनेको ५१ देखि ७५ प्रतिशतसम्म आकाश बादलले ढाकेको अवस्था हो । कतिपय स्थानमा वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

‘कोसी, वाग्मती, गण्डकी, लुम्बिनी, सुदूरपश्चिम र कर्णाली प्रदेशका पहाडी र तराई भू–भागका केही स्थानहरूमा बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना छ,’ महाशाखाले आज बिहान जारी गरेको मौसम पूर्वानुमान बुलेटिनमा उल्लेख छ ।

यस दिन कोसी, वाग्मती र गण्डकी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ । यस दिन राति कोसी, मधेस र वाग्मती प्रदेशमा साधारणतया बदली रहने सम्भावना छ । बाँकी भू–भागमा आंशिक बदली रहने पूर्वानुमान छ ।

आंशिक बदली भनेको २६ देखि ५० प्रतिशतसम्म आकाश बादलले ढाकेको अवस्था हो । ‘कोसी, वाग्मती र गण्डकी प्रदेशका केही स्थानहरूमा तथा लुम्बिनी प्रदेश थोरै स्थानहरूमा र बाँकी भू–भागका एक–दुई स्थानमा मध्यम वर्षाको सम्भावना छ,’ महाशाखाले भनेको छ । हाल देशभर मनसुनी वायुको प्रभाव छ । स्थानीय वायुको पनि प्रभाव रहेको महाशाखाले जनाएको छ ।

मनसुन बाहिरिने क्रम रोकियो, विकास हुँदैछ भारी वर्षा गराउने प्रणाली

यो वर्षको मनसुन बाहिरिने क्रम तत्काललाई रोकिएको मौसमविद्ले बताएका छन् । मनसुन बाहिरिँदै भारतको उत्तराखण्ड, उत्तर प्रदेशसम्म आइपुगेको छ । अब भने कम्तीमा एक साता मनसुन बाहिरिन रोकिने सम्भावना उच्च रहेको जलवायुविज्ञ डा. धर्मराज उप्रेतीले उल्लेख गरेका छन् ।

‘अर्थात्, समुद्रमा उत्पन्न नयाँ प्रणालीका कारण मनसुन बाहिरिने क्रम रोकिएको हो । यो कुरा भारत मौसम विभागले हिजो जारी विज्ञप्तिमा उल्लेख्य गरेको छ,’ विज्ञ उप्रेतीले सोमबार (असोज १३) दिउँसो सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन् । समुद्रमा उत्पन्न त्यही नयाँ प्रणालीका कारण बडादशैँ टीकाको भोलिपल्ट (असोज १७) देखि पूर्वी नेपालबाट भारी वर्षा गराउने प्रणाली विकास हुँदै गरेको उनले जनाएका छन् ।

‘असोज १८ देखि असोज २१ सम्म नेपालमा पनि (वर्षा गराउने प्रणाली) सक्रिय हुने सम्भावना छ,’ उनले भनेका छन् । भारत मौसम विभागले असोज १७–१९ गतेसम्म सिक्किम, पश्चिम बंगाल, बिहारमा भारी वर्षाको ‘अलर्ट’ जारी गरेको छ । ‘विभिन्न मोडेलको सूक्ष्म अध्ययन गर्दा नेपालमा भने असोजको १७ गते रातिदेखि कोसी प्रदेशबाट (वर्षा) प्रवेश गरी असोज १९–२० सम्म लुम्बिनी प्रदेश र कर्णाली प्रदेशको तल्लो भागसम्म पुग्ने देखाउँछ । असोजको १५ गतेसम्म अझ स्पस्ट हुनेछ,’ विज्ञ उप्रेतीले लेखेका छन् ।

मनसुन अवधिको यही असोज १० गतेसम्म नेपालमा १,२६९.९० मिलिमिटर वर्षा भएको छ । यो भनेको मनसुनी वर्षाको ८५.८ प्रतिशत हो । ‘अर्थात्, अहिलेसम्म औसतभन्दा कम वर्षा भएको छ,’ उनले भनेका छन्, ‘गत वर्ष असोजको अन्तिममा मनसुन बाहिरिएको थियो ।’ नेपालबाट मनसुन बाहिरिने सरदर मिति अक्टोबर २ हो । यो मितिभन्दा अगाडि वा पछाडि पनि मनसुन बाहिरिन सक्छ । त्रिभुवन विश्वविद्यालयको जल तथा मौसम विज्ञान विषयका सहप्राध्यापक डा.विनोद पोखरेलले पनि उक्त अवधिमा भारी वर्षाको सम्भावना औँल्याएका छन् ।

‘अहिलेको फोरकास्ट (पूर्वानुमान) हेर्दा अक्टोबर ४ देखि अक्टोबर ७ (असोज १८–२१)सम्म भारी वर्षाको सम्भावना देखाएको छ,’ उनले शनिबार (असोज ११) बिहान फेसबुकमा लेखेका छन्, ‘प्रार्थना गरौँ, यो फोरकास्ट मिलोस् ।’ जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले यसअघि महाअष्टमीदेखि विजयादशमीसम्मको दशैँ विशेष मौसम बुलेटिन जारी गरेको थियो । त्यसमा मध्यमसम्म वर्षाको सम्भावना औँल्याइएको थियो ।

कुनै स्थानमा २४ घण्टामा ५० देखि १०० मिलिमिटरसम्म पानी पर्नुलाई ‘भारी’ वर्षा भनिन्छ । १० देखि ५० मिलिमिटरसम्म पानी परे ‘मध्यम’ वर्षा भनिन्छ । १० मिलिमिटरसम्म पानी परे ‘हल्का’ वर्षा भनिने महाशाखाले जनाएको छ । कुनै स्थानमा २४ घण्टामा १०० देखि २०० मिलिमिटर पानी पर्नुलाई ‘धेरै भारी’ वर्षा भनिन्छ । २४ घण्टामा २०० मिलिमिटरभन्दा धेरै पानी परे ‘अति भारी’ वर्षा भनिने महाशाखाले जनाएको छ ।

प्रकाशित मिति : २०८२ असोज १४ गते मंगलबार