नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री दीपक खड्का, उनकी पत्नी विनता थापा खड्का र नाबालक छोराले पनि नयाँ राहदानी लिएको खुलेको छ । परराष्ट्र मन्त्रालयका एक अधिकारीका अनुसार, भदौ ३१ गते मंगलबार खड्का दम्पती र छोराको राहदानी एकैपटक जारी गरिएको हो ।
यसअघि कांग्रेस सभापति शेरबहादुर देउवा र उनकी पत्नी तथा पूर्वपरराष्ट्रमन्त्री आरजु राणा देउवाले पनि संविधान दिवस (असोज ३) को दिन नयाँ कूटनीतिक राहदानी लिएको खुलासा भइसकेको छ । जेनजी आन्दोलनमा खड्काको घरमा भएको आगजनी गरिएको थियो । घर तोडफोड गर्दा उनको घरमा पैसा नै पैसा भेटिएको भिडिओ भाइरल बनको थियो ।
देउवा निवासनजिकै रहेको खड्काको निवासमा भदौ २४ गते प्रदर्शनकारीले आगो लगाउँदा ठूलो संख्यामा हजार, पाँच सयको नोट र अमेरिकी डलर जलेको विषयमा सामाजिक सञ्चालहरुमा बहस चलेको थियो । उनी निकट एक नेताका अनुसार प्रदर्शनकारीहरु घर जलाउन लाग्दा उनी घरमै थिए । उनले केही नगद प्रदर्शनकारीहरुको भीडमा आफैंले फाल्न लगाएर उनीहरुको ध्यान मोडी घरबाट निस्केको कांग्रेसका नेताहरुले बताएका छन् ।
कांग्रेस सभापति शेरबहादुर देउवा र उनकी पत्नी तथा पूर्वपरराष्ट्रमन्त्री आरजु राणाले भने गत ३ असोजमा संविधान दिवसका दिन कूटनीतिक राहदानी लिएको खुलेको छ । देउवा दम्पतीले कहिले र कसरी राहदानी प्राप्त गरे भन्ने विषयमा परराष्ट्र र राहदानी विभागले औपचारिक रूपमा केही बताएका छैनन् ।
सत्यपाटी