२०८३ साउन ५ , मंगलबार 22, July 2026, Wednesday

नेताहरूलाई कहाँबाट आउँछ पैसा ?

सत्यपाटीसत्यपाटी । काठमाडौं । २०८२ असोज १० गते शुक्रबार

जेनजी आन्दोलनका क्रममा पूर्वप्रधानमन्त्रीद्वय शेरबहादुर देउवा र पुष्पकमल दाहालको घरमा लगाइएको आगोले जलेका पैसाको स्रोत पहिचान गर्न अनुसन्धान थालिएको छ । सरकारले पैसाको स्रोत पहिचनाका लागि विभिन्न निकायलाई परिचालन गरेको छ । ‘उहाँहरु (शेरबहादुर देउवा र पुष्पकमल दाहाल)को घरमा ठुलो रकम रहेको र आन्दोलनका क्रममा जलेको भेटिएकाले त्यसको स्रोत पहिचानका लागि अनुसन्धान थालिएको हो,’ प्रधानमन्त्री कार्यालयका एक कर्मचारीले भने ।

ती कर्मचारीका अनुसार यो मामिलामा राजस्व अनुसन्धान विभाग, सम्पत्ति शुद्धीकरण विभाग र नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोका बेग्लाबेग्लै अनुसन्धान टोलीले काम गरिरहेका छन् । ‘सम्बन्धित निकायले अनुसन्धान गरिरहेका छन्, प्रतिवेदन आएपछि मात्रै थप प्रक्रिया अघि बढ्छ,’ ती कर्मचारीले भने । यतिबेला राजनीतिक दलका नेताहरु सम्पत्ति शुद्धीकरण विभागको अनुसन्धान घेरामा छन् । अन्तरिम सरकारले उनीहरुको गतिविधिबारे निगरानी गरिरहेको छ ।

यो सरकारको मुख्य काम ६ महिनाभित्र प्रतिनिधिसभाको निर्वाचन गराउने भए पनि उसले जेनजीको माग बमोजिम अन्दोलनमा भएको दमन, हिंसात्मक घटना र भ्रष्टाचारका विषयमा छानबिन गर्ने भएको छ । दमनका विषयमा छानबिन गर्न आयोग बनिसकेको छ । भ्रष्टाचारको अनुसन्धानका लागि आयोग बनाउन बाँकी छ । ‘राजनीतिक दलका नेताहरुको घरमा कसरी पैसा थुप्रियो । यो विषयमा छानबिन गर्नेगरी सरकार अघि बढेको छ,’ स्रोतले भन्यो ।

भ्रष्टाचारका विषयमा छानबिन गर्न आयोग नबन्दै देउवा र दाहालको घरमा जलेका पैसाबारे अनुसन्धान थालिएको छ । यो विषयमा औपचारिक रुपमा सरकारी निकायका अधिकारीहरु कोही पनि बोल्न तयार छैनन् । ‘सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले देउवा र दाहालकोे घरबाट संकलन गरेका केही प्रमाण डिजिटल फरेन्सिक ल्याबमा पठाइएको छ,’ स्रोतले भन्यो । फरेन्सिक ल्याबबाट नतिजा आएपछि मात्रै प्रतिवेदन बन्ने सम्पत्ति शुद्धीकरण विभागको भनाइ छ ।

नेपाली कांग्रेसका सभापति देउवा र कांग्रेस नेता एवं पूर्वउर्जामन्त्री दीपक खड्काको घरमा गत आइतबार सम्पत्ति शुद्धीकरण विभागको टोली पुगेर मुचुल्का उठाएको थियो । हरिहरभवनस्थित विभागबाट एसपी नवरत्न पौडेलसहितको टोली बुढानीलकण्ठस्थित देउवा र खड्काको निवासमा पुगेर मुचुल्का उठाएको थियो । विभागको टोलीले माओवादी केन्द्रका अध्यक्षसमेत दाहालको खुमलटारस्थित घरमा पुगेर मुचुल्का उठाएको थियो ।

जेनजी आन्दोलनका क्रममा प्रदर्शनकारीहरूले आगो लगाइदिएपछि उनीहरूको घर जलेको थियो । जलेका तीनैजनाको घरमा डढेको अवस्थामा पैसा भेटिएको थियो । पैसा जलेपछि त्यसको स्रोत पत्ता लगाउन अनुसन्धान थालिएको हो । ‘ठुला ठेक्काको सेटिङ, कर्मचारी सरुवाबढुवामा लिएको घुस, खरिद सामग्रीवापतको रकम, नीतिगत रुपमा व्यापारीलाई सहज बनाइदिएवापत प्राप्त गरेको रकम, व्यापारी र तस्करसँग सेटिङ मिलाइदिएवापतको रकम नै नेताहरुको घरमा पुगेको अनुमान गरिएको छ,’ प्रधानमन्त्री कार्यालयका ती कर्मचारीले भने ।

देउवाको घरमा डलर र नेपाली हजार, पाँच सय दरका नोटहरूका जलेको अवस्थामा भेटिएका थिए । पैसा राख्ने सुरुङसमेत भेटिएको दाबी गरिएको थियो । खड्काको घरबाट पनि केही रकम भेटिएको भिडियो सार्वजनिक भएको थियो । खड्काको घरमा भेटिएको पैसा भन्दै प्रदर्शनकारीले उडाएको भिडियो पनि सार्वजनिक भएको थियो । देउवाको सचिवालयले भने विज्ञप्ति जारी गर्दै रकम राख्ने सुरुङ र पैसा घरमा नभएको दाबी गरेको थियो । आवश्यक परेमा यस विषयमा राजस्व अनुसन्धान विभागले पनि छानबिन गर्ने बताइएको छ ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले देउवा र दाहालको घरमा जलेका र भेटिएका सबै पैसा कानुनसम्मत आर्जन नभएको आशंकासहित अनुसन्धान सुरु गरिएको जनाएको छ । जेनजी आन्दोलनपछि सुशीला कार्की नेतृत्वमा बनेको सरकारले नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्रलगायत दलका माथिल्लो तहका केही नेताको सम्पत्ति विवरण मगाएर छानबिन गर्ने स्रोतले बताएको छ । ‘कर्मचारीको सम्पत्ति विवरण रहेको निजामती किताबखाना, नेताहरुको सम्पत्ति विवरण रहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोग र न्यायधीशहरुको सम्पत्ति विवरण रहेको न्यायपरिषद्सँग विवरण मागिनेछ,’ प्रधानमन्त्री कार्यालयका एक कर्मचारीले भने ।

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री रमेश लेखक, पूर्वप्रधानमन्त्रीद्वय शेरबहादुर देउवा र पुष्पकमल दाहाल, पूर्वपरराष्ट्रमन्त्री आरजु राणा देउवासहित २०४६ सालपछि राजनीतिक नेतृत्वमा रहेका नेताहरुको सम्पत्ति छानबिन गर्ने तयारीमा सरकार छ । सरकारले यो विषयमा ठोस निर्णय भने गरेको छैन । सरकारले जेनजी आन्दोलनमा भएको दमन र हिंसात्मक घटनाका विषयमा छानबिन गर्न विशेष अदालतका पूर्वन्यायधीश गौरीबहादुर कार्की नेतृत्वमा आयोग गठन गरिसकेको छ ।

स्रोत : नागरिक दैनिक
प्रकाशित मिति : २०८२ असोज १० गते शुक्रबार