२०८३ जेठ २५ , सोमबार 9, June 2026, Tuesday

अन्तरिम सरकारका सम्भावित चार युवा मन्त्री को हुन् ?

सत्यपाटीसत्यपाटी । काठमाडौं । २०८२ असोज ७ गते मंगलबार

प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको मन्त्रिपरिषद् हालसम्म आठ सदस्यीय छ । संविधानअनुसार मन्त्रिपरिषद् २५ सदस्यीय बनाउन सकिन्छ तर जेनजी आन्दोलनको जगमा बनेको सरकारले सानो मन्त्रिमण्डल बनाउन चाहेको छ ।

मन्त्रिमण्डलमा अझै चार–पाँच जना नियुक्त हुनसक्ने सम्भावना छ । हालसम्म अनुभवी र विज्ञ व्यक्तिहरूलाई मन्त्री नियुक्ति गरिए पनि अब मन्त्रिपरिषद् विस्तार हुँदा युवा अनुहारलाई प्राथमिकतामा राखिएको प्रधानमन्त्री निकट स्रोतले जनाएको छ ।

अबको मन्त्रिपरिषद् विस्तारमा श्रद्धा श्रेष्ठलाई मन्त्री बनाउन छलफल चलिरहेको छ । उनी नेपाल पर्यटन बोर्डकी वरिष्ठ प्रबन्धक हुन् । पर्यटन क्षेत्रमा विशेष अनुभव बटुलेकी उनलाई सरकारमा भित्र्याउने तयारी छ ।

नेपाल–अमेरिका अल्मुनाई नेटवर्कका पूर्व महासचिव प्रदीप खतिवडा पनि सम्भावित मन्त्रीको सूचीमा परेका छन् । युवा अभियन्ता खतिवडा युवाको हकहितका क्षेत्रमा कार्यरत छन् । जेनजी आन्दोलनमा सक्रिय भूमिका निर्वाह गरेकी रक्षा बमलाई पनि मन्त्री बनाउने तयारी रहेको उच्च स्रोतले जनाएको छ ।

उनले सरकारमा जेनजीको वास्तविक प्रतिनिधित्व गर्ने स्रोतले जनाएको छ । मन्त्री बनाउने अर्काे सम्भावित नाम हो ताशी ल्हाजोम । उनी चर्चित युवा जलवायु अभियन्ता हुन् । उनले स्थानीय तहदेखि राष्ट्रिय र विश्वव्यापी मञ्चसम्म जलवायु विषयवस्तुमा विचार राख्दै आएकी छन् ।

सरकारमा युवा प्रतिनिधित्व सुनिश्चित गर्दै जेनजी आन्दोलनको भावनालाई सम्मान गर्ने तयारीमा प्रधानमन्त्री कार्की रहेकी स्रोतले जनाएको छ । आगामी शुक्रबारसम्म नयाँ मन्त्रीको शपथग्रहण गराउने तयारी रहेको बताइएको छ ।

प्रकाशित मिति : २०८२ असोज ७ गते मंगलबार