२०८३ साउन ५ , मंगलबार 22, July 2026, Wednesday

‘बर्थिङ सेन्टर’ पुग्न दुई घण्टाको पैदल यात्रा

सत्यपाटीसत्यपाटी । कञ्चनपुर । २०८२ असोज ७ गते मंगलबार

कञ्चनपुरको भीमदत्त नगरपालिका–९, खल्ला मसेट्टी क्षेत्रका गर्भवती महिलाहरू नजिकै प्रसूति सेवासहितको स्वास्थ्य संस्था नहुँदा घरमै सुत्केरी हुन बाध्य छन् । बस्तीबाट आठ किलोमिटर टाढा ब्रह्मदेवमा ‘बर्थिङ सेन्टर’ भए पनि जोखिमपूर्ण कच्ची बाटोका कारण त्यहाँ पुग्न मुस्किल पर्छ । सेन्टर पुग्न दुई घण्टा पैदल हिँड्नुपर्ने भएकाले घरमै सुत्केरी हुनुको विकल्प छैन ।

सरकारले गर्भवतीको नियमित जाँच र स्वास्थ्य संस्थामै सुत्केरी गराउनुपर्ने नीति लिए पनि यहाँ यो लागू हुन सकेको छैन । यातायातको सुविधा नभएकाले गर्भवतीलाई स्ट्रेचरमा बोकेर स्वास्थ्य संस्था पु¥याउनुपर्ने बाध्यता छ । यहाँका स्वास्थ्य स्वयंसेविका विमला बमका अनुसार, कतिपय गर्भवती बाटोमै सुत्केरी भएर फर्कन बाध्य भएका छन् । ‘बाटोमा नै शिशु जन्मिएका घटना पनि छन्, बाध्यता छ, के गर्नु गाउँमा बर्थिङ सेन्टर छैन,’ उनले भनिन् ।

सरकारले घरमा सुत्केरी हुने दर शून्यमा झार्ने अभियान चलाएको छ र नियमित चार पटक गर्भजाँच गरेबापत ७०० रुपैयाँ र स्वास्थ्य संस्थामा सुत्केरी भएबापत यातायात खर्चबापत ३ हजार रुपैयाँ दिने व्यवस्था छ । तर, यहाँका गर्भवतीहरूले यो सुविधा पाउन सकेका छैनन् । स्थानीय रेखा विकले भनिन्, ‘हिउँदमा त एम्बुलेन्स आउँछ, जसोतसो स्वास्थ्य संस्था पुगिन्छ । तर, नियमित जाँचका लागि पनि दुई घण्टा पैदल हिँड्नुपर्छ ।’

उक्त बस्तीमा गाउँघर क्लिनिक स्थापना गरिएको छ, जहाँ एक अनमी, अहेब र एक कार्यालय सहयोगी छन् । क्लिनिककी अनमी ममता महता डेढ वर्षदेखि सुत्केरी बिदामा गएपछि फर्किएकी छैनन् । उनको ठाउँमा अर्को कर्मचारी नखटाइँदा बालबालिकालाई खोप र भिटामिन खुवाउनसमेत समस्या भएको छ । अहिले ब्रह्मदेव स्वास्थ्य केन्द्रबाट महिनामा एक पटक अनमी आएर सेवा दिने गरेको क्लिनिकका अहेब नारायण बोहराले बताए ।

‘यहाँ बाटोको समस्या छ, सुत्केरीलाई स्ट्रेचरमा बोकेर पाँच किलोमिटर टाढा पुर्याउनुपर्ने बाध्यता छ,’ बोहराले भने, ‘यहाँ खानेपानीसमेत छैन, म घरबाट पानी बोकेर आउँछु ।’ उनका अनुसार, दैनिक २५ देखि ३० जना सेवाग्राही आउँछन् । स्थानीयहरूले घर नजिकै बर्थिङ सेन्टर स्थापना गरी सुरक्षित सुत्केरीको अधिकार सुनिश्चित गर्न माग गरेका छन् ।

सुगम जिल्ला भनेर चिनिने कञ्चनपुरभित्रै रहेको यो बस्ती विकासका आधारभूत सुविधाबाट वञ्चित छ । पक्की बाटो, स्वास्थ्य, शिक्षा, बिजुली र खानेपानीजस्ता आधारभूत सेवा पाउन पनि यहाँका बासिन्दाले ठुलो कष्ट भोगिरहेका छन् । सदरमुकामदेखि २० किलोमिटर उत्तरमा रहेको यो बस्तीमा जोखिमपूर्ण कच्ची बाटो पार गरेर मात्र पुग्न सकिन्छ ।

प्रकाशित मिति : २०८२ असोज ७ गते मंगलबार