२०८३ जेठ २५ , सोमबार 9, June 2026, Tuesday

शिक्षामन्त्री महावीरले भने, ‘मन्त्रालयमै खान्छु, यहीँ सुत्छु, यही काम गर्छु’

सत्यपाटीसत्यपाटी । काठमाडौं । २०८२ असोज ६ गते सोमबार

नवनियुक्त शिक्षामन्त्री महावीर पुनले किताब बेच्दाबेच्दै मन्त्री बनाइदिएको भनेर रमाइलो जवाफ दिएका छन् । नवनियुक्त शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले मन्त्रालयमै बसेर काम गर्ने बताएका छन् । मन्त्री भएपछि पत्रकारले सोधेको जिज्ञासामा पत्रकारहरूसँग कुरा गर्दै यस्तो बताएका हन् ।

उनले अब शिक्षा र प्रविधि क्षेत्रको विकासका लागि मन्त्रालयमै ओछ्याएर लगाएर सुत्ने र काम गर्ने पनि प्रतिक्रिया दिएका छन् । उनले भने, ‘मन्त्रालयभित्र किचेन होला, त्यहीँ पकाएर खान्छु र ओच्छ्यान लगाएर सुत्छु र खुरुखुरु काम गर्छु ।’ पत्रकारले उनलाई मन्त्री भएपछि केके काम गर्नुहुन्छ भनेर सोधेपछि उनले ठट्यौली पारामा उक्त जवाफ दिएका हुन् ।

पुनले थपे, ‘म शिवजी भएदेखि त्रिनेत्र लगाएर यस्तोयस्तो गर्छु भन्ने थिएँ । अपर्झट मन्त्री भइएको छ । प्लान बनाएर आएको भए पो त, राजनीतिक क्षेत्रमा काम गरेर आएको भए यो गर्छु भन्ने हो । किताब बेच्दाबेच्दै यहाँ ल्याएर मन्त्री बनाएपछि अहिले नै के गर्छस् भनेर कसरी भन्ने ।’ सबैभन्दा पहिलो काम के गर्नुहुन्छ ? भन्ने प्रश्नमा उनले मन्त्रालय पुग्छु भने ।

तपाईं शिक्षामन्त्री भएपछि सबैले निःशुल्क शिक्षा पाउँछन् ? भन्ने अर्को प्रश्नमा पुनले भने, ‘म भगवान हो र निःशुल्क शिक्षा दिन ? केही न केही होला, गरम्ला । अहिले कसरी भन्ने ? पत्रकारले आजै मलाई नपेल्नु न हो ।’ आफ्नो पालोमा केही न केही सुधारको काम गर्ने उनले बताए । आफ्नो लयमा किताब बेच्दै गरेको समयमा एक्कासी मन्त्री बन्नुपरेको पनि उनले बताए ।

‘मन्त्रालयभित्र किचन होला, यही पकाएको खाने, ओछ्यान लगाएर यही सुत्ने, यही काम गर्ने हो,’ पत्रकारको प्रश्नमा उनले भने, ‘काम गर्ने हो । म मन्त्री हुँदैमा सबै सुधार हुन्छ भन्ने छैन । म भगवान हैन ।’ आफूले काम गर्दा विज्ञको सुझाव लिएर अगाडि बढ्ने बताए । विज्ञान प्रविधि र अनुसन्धानमा नै आफ्नो ध्यान हुने उनको भनाइ छ । अहिले शिक्षा र विज्ञानको क्षेत्रमा यही काम गर्छु भनेर योजना नरहेको उनले बताए ।

प्रकाशित मिति : २०८२ असोज ६ गते सोमबार