‘यतिधेरै जग्गाजमिन सबै बाँझो भयो, गाउँभरिका घर सबै रित्तिए, दुःख पर्दा सहायता दिने छिमेकी पनि छैनन्,’ बागलुङ काठे खोला गाउँपालिका–५ कर्लिमका तिलबहादुर कँडेल भन्छन् । उनलाई अचेल एक्लो महसुस हुँदै गएको छ । कँडेललाई छरछिमेकी गाउँबाट बसाइँसराइ गरेर सहर झरेपछि कर्लिम गाउँ रित्तो बनेकामा निकै दुःख लागिरहेको छ ।
कुनै बेला गुल्जार रहेको यो गाउँमा दुई–चार घरमा मात्रै मान्छे भेटिन्छन् । यसैकारण समस्या पर्दा गुहार माग्दासमेत सहयोग गर्ने कोही नभएको कँडेल बताउँछन् । ‘गाउँमा बिमार पर्दासमेत अस्पतालसम्म पुर्याउने मान्छेसमेत नपाइने अवस्था छ । गाउँघर झाडीले ढाकिन थालेपछि वन्यजन्तुको आतङ्क बढ्दै गएको छ । घरकै छेउमा वन्यजन्तुले वासस्थान बनाउँदा हिँडडुल गर्न पनि त्रास हुने गरेको छ,’ उनी भन्छन् ।
स्थानीय मैना सुवेदीले गाउँमा युवा शक्ति नहुँदा खेतीबारीमा काम गर्नसमेत छोडिएको बताइन् । एक दशक अगाडिसम्म गाउँमा धेरै मान्छे हुँदा रमाइलो रहेको स्मरण गर्दै हरेक वर्ष जनसङ्ख्या घट्दै जाँदा दुःख सुखमा पनि मान्छे नभेट्ने अवस्था रहेको उनको भनाइ छ । यस्तो अवस्था अन्त्यका लागि राज्यले बसाइसराइलाई व्यवस्थापन गर्नुपर्ने र घर खाली राख्न नपाइने नीति ल्याउनुपर्ने सुवेदीको धारणा छ ।
‘गाउँमा निस्किने बाटोसमेत वनमारा र झाडीले पुरिएको छ । युवाहरू विदेश गए । उनीहरूले कमाएको धनले आफ्ना परिवार सहर बजारमा घर बनाएर सारे । धनी मानी सबै सहर बजार र विदेशमा गए । त्यसैले जता हेर्यो त्यतै बाँझो जमिन, उराठिलो बस्ती मात्रै देखिन्छ,’ उनले भने । काठेखोलाको कर्लिम मात्र होइन जिल्लाका अन्य धेरै ठाउँबाट बसाइँसराइ गर्नेको सङ्ख्या बढ्दै गएको छ । जसले ग्रामीण क्षेत्र सुनसान छन् ।
काठे खोला जिल्लामै धेरै बसाइसराइ गर्ने ठाउँ हो । यहाँका अधिकांश युवा जापान, कोरिया र अष्ट्रेलियामा छन् भने उनीहरूको परिवार बागलुङ बजार, पोखरा, काठमाडौँ र चितवन बसाइँ सरेका छन् । काठे खोला गाउँपालिकाका अध्यक्ष राजु थापाले नागरिकलाई गाउँमा रोक्नका लागि सीप, प्रविधि र उद्यमसँग जोड्ने कार्यक्रम ल्याइएको बताए ।
पहिलेको तुलनामा गाउँमा धेरै परिवर्तन आए पनि बसाइँसराइ रोक्न नसकिएको उनको भनाइ छ । ‘गाउँमा बसेर उद्यम गर्ने युवालाई अनुदानसहित प्राविधिक सहयोगसमेत गर्दै आएका छौँ । गाउँपालिकाको स्रोतले भ्याएसम्मको काम गरिरहेका छ । यस कार्यमा सबैले सहयोग गर्न आवश्यक छ । गाउँमा अवसर सिर्जना गर्न सबै लागौँ,’ अध्यक्ष थापाले भने ।
सत्यपाटी