२०८२ चैत २८ , शनिबार 11, April 2026, Saturday
पहिलो महिला प्रधानमन्त्री

नयाँ युगकी अगुवा ‘सुशीला कार्की’

सुशीला कार्की, जेनजी विद्रोहको प्रेरणाले सत्तामा पुगेकी पहिलो महिला प्रधानमन्त्री, नेपालको राजनीतिक इतिहासमा नयाँ अध्याय थप्दैछिन् ।
सत्यपाटीसत्यपाटी । काठमाडौं । २०८२ भदौ २७ गते शुक्रबार

नेपालको राजनीतिक इतिहासमा सधैँ महत्त्वपूर्ण स्थान राख्ने सहर, फेरि एकपटक चर्चामा छ । देशले पहिलो महिला प्रधानमन्त्रीको रूपमा सुशीला कार्कीलाई पाएसँगै विराटनगरबाट प्रधानमन्त्री बन्ने नेताहरूको सङ्ख्या ६ पुगेको छ । जेनजेड विद्रोहको बलमा सत्ताको बागडोर सम्हाल्न सफल सुशीला कार्कीले विराटनगरको गौरवमय इतिहासलाई थप उजागर गरेकी छिन् ।

विराटनगरको गर्विलो इतिहासमा पहिलो नाम आउँछ, नेपालका पहिलो निर्वाचित प्रधानमन्त्री बीपी कोइरालाको । उनले २०१६ साल जेठ १३ गतेदेखि २०१७ साल पुस १ गतेसम्म देशको नेतृत्व गरे । नेपाली काङ्ग्रेसका संस्थापक नेतामध्ये एक बीपीले लोकतन्त्र र समाजवादी आदर्शलाई नेपालमा स्थापित गर्न महत्त्वपूर्ण योगदान दिए ।

बीपीका दाजु मातृकाप्रसाद कोइरालाले पनि विराटनगरको प्रतिनिधित्व गर्दै दुई पटक प्रधानमन्त्रीको जिम्मेवारी सम्हाले । उनको पहिलो कार्यकाल २००८ साल मङ्सिर १ गतेदेखि २००९ साल साउन ३० गतेसम्म र दोस्रो कार्यकाल २०१० साल असार १ गतेदेखि २०११ साल माघ २६ गतेसम्म रह्यो । काङ्ग्रेसका प्रभावशाली नेताको रूपमा उनले राणाशासनपछिको नेपालमा महत्त्वपूर्ण भूमिका खेले ।

गिरिजाप्रसाद कोइराला : चार कार्यकालको कीर्तिमान

बीपी र मातृकाका कान्छा भाइ गिरिजाप्रसाद कोइरालाले बहुदलीय लोकतन्त्र पुनस्र्थापनापछि चार पटक प्रधानमन्त्रीको जिम्मेवारी सम्हाले । उनको कार्यकाल २०४८ साल जेठ १२ देखि २०५१ साल मङ्सिर १४, २०५४ साल चैत २६ देखि २०५६ साल जेठ १७, २०५६ साल चैत १० देखि २०५८ साल साउन ११ र २०६३ साल वैशाख १२ देखि २०६५ साल भदौ ५ सम्म रहे । गिरिजाप्रसादको नेतृत्वमा नेपालले शान्ति प्रक्रिया र गणतन्त्र स्थापनाको महत्त्वपूर्ण कोसेढुङ्गा पार गर्यो ।

विराटनगरले नेपालको पहिलो कम्युनिस्ट प्रधानमन्त्री मनमोहन अधिकारीलाई पनि जन्म दियो । उनले २०५१ साल मङ्सिर १४ गतेदेखि २०५२ साल भदौ २६ गतेसम्म देशको नेतृत्व गरे । सामाजिक न्याय र आर्थिक सुधारमा जोड दिने उनको छोटो कार्यकालले कम्युनिस्ट आन्दोलनलाई नेपालमा स्थापित गर्न महत्त्वपूर्ण योगदान पुर्यायो । पञ्चायतकालमा विराटनगरका नगेन्द्रप्रसाद रिजालले दुई पटक प्रधानमन्त्रीको जिम्मेवारी सम्हाले ।

उनको पहिलो कार्यकाल २०३० सालदेखि २०३२ सालसम्म र दोस्रो कार्यकाल २०४२ साल चैत १९ गतेदेखि २०४३ साल जेठ १ गतेसम्म रह्यो । पञ्चायती व्यवस्थामा उनको नेतृत्वले विराटनगरको प्रभावलाई कायम राख्यो । विराटनगरले लामो समयपछि फेरि एक ऐतिहासिक व्यक्तित्वलाई प्रधानमन्त्रीको रूपमा पाएको छ । सुशीला कार्की, जेनजी विद्रोहको प्रेरणाले सत्तामा पुगेकी पहिलो महिला प्रधानमन्त्री, नेपालको राजनीतिक इतिहासमा नयाँ अध्याय थप्दैछिन् । उनको नेतृत्वले विराटनगरको गौरवमय विरासतलाई पुनःजन्म दिएको छ ।

प्रकाशित मिति : २०८२ भदौ २७ गते शुक्रबार