२०८३ वैशाख २७ , आइतबार 10, May 2026, Sunday

प्रथम महिला प्रधानन्यायाधीशपछि प्रधानमन्त्रीको नयाँ इतिहास नजिक सुशीला कार्की

सत्यपाटीसत्यपाटी । काठमाडौं । २०८२ भदौ २६ गते बिहीबार

पूर्वप्रधानन्यायाधीश सुशीला कार्की नेपालको पहिलो प्रधानमन्त्रीका रुपमा नाम लेखाउने सम्भावनाको बिल्कुलै नजिक पुगेकी छन् । पाँच घण्टाभन्दा लामो समयदेखि जारी जेन–जी पुस्ताको जुम बैठकले अन्तरिम सरकारको नेतृत्व सुशीलालाई दिने कुरामा सहमति जुटाएको हो । उक्त सहमतिपछि जेन–जी पुस्ताले गरेको टेलिफोन संवादमा सुशीलाले आफू अन्तरिम सरकारको नेतृत्व लिन तयार भएको जनाउ दिएकी हुन् ।

सुशीला तयार भएपछि अब प्रधानसेनापति अशोक सिग्देलसँगको वार्ता जेन–जीले उनकै नेतृत्वमा गर्दैछन् । अहिले वार्ता टोली सैनिक मुख्यालय पुगिसकेको छ । यदि प्रधानसेनापति सिग्देल पनि जेन–जीको प्रस्तावमा सहमत भएमा देशकै पहिलो प्रधानमन्त्रीका रूपमा सुशीलाले अहिलेको संकटको बेला देशको बागडोर सम्हाल्नेछिन् । कार्की सर्वोच्च अदालतकी पनि प्रथम महिला प्रधान न्यायाधीश हुन् ।

रोचक के छ भने तत्कालीन प्रधानमन्त्री खड्गप्रसाद ओलीको अध्यक्षताको संवैधानिक परिषद्ले सर्वोच्च अदालतले प्रधानन्यायाधीश पदमा उनको नाम सिफारिस गरेको थियो । अहिले उनै ओलीको आकस्मिक र अप्रिय बहिर्गमनपछि सुशीलाले देशको नेतृत्व सम्हाल्ने भएकी हुन् । कार्की न्यायपालिकामा भ्रष्टाचारविरूद्ध शून्य सहिष्णुताको लागि चर्चित छिन् । उनी प्रधानन्यायाधीशबाट बाहिरिएपछि नागरिक अभियन्ताका रुपमा सक्रिय छिन् ।

आफ्नो खरो स्वभाव र स्पष्ट वक्ताका कारण उनी चर्चित पनि छिन् । प्रधानन्यायाधीश रहेका समयमा सुशीलाविरुद्ध तत्कालीन सत्ता गठबन्धनका सांसदहरूले महाभियोगको प्रस्ताव दर्ता गरेका थिए । तर त्यो सफल हुन सकेन । कार्कीविरुद्ध १७ वैशाख २०७६ मा सत्तारूढ गठबन्धनका नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रका २४९ सांसदको हस्ताक्षरसहित महाभियोग प्रस्ताव संसद् सचिवालयमा दर्ता भएको थियो ।

त्यसबेला उनलाई तत्कालै निलम्बित भएको पत्र थमाइएको थियो । नेकपा एमाले लगायत प्रतिपक्षी दलहरूको अवरोधका कारण संसद् बैठकमा यो विषयले सहज प्रवेश पाएन । २२ वैशाख २०७७ मा सर्वोच्च अदालतका न्यायाधीश चोलेन्द्रशमशेर राणाको इजलासले अन्तरिम आदेश जारी गर्दै उक्त प्रस्तावलाई निष्प्रभावी बनाइदिँदा कार्की सर्वोच्च फर्किइन् । सुशीलाई कार्की परिवारका सात सन्तानमध्ये जेठी हुन् । उनको परिवार किसान थियो ।

उनीहरू बीपी कोइरालाको परिवारनिकट थिए । सुशीलाका बुवाले उनलाई डाक्टर बनाउन चाहेका थिए । तर उनले कानुन पढिन् । बनारस हिन्दू विश्वविद्यालय वाराणसीमा पढ्ने क्रममा कांग्रेसका युवा नेता दुर्गाप्रसाद सुवेदीसँग भेट भएर उनले बिहे गरिन् । उनले बनारस हिन्दू विश्वविद्यालयबाट राजनीतिशास्त्रमा एमए गरेकी छन् । उनले महेन्द्र बहुमुखी क्याम्पस धरानमा पढाएकी छन् । उनले विराटनगरस्थित पुनरावेदन अदालतको बार अध्यक्ष पनि बनिन् ।

वि.सं. २०३५ सालदेखि उनले वकालत थालिन् । उनी सन् २००९ मा सर्वोच्च अदालतमा न्यायाधीश बनिन् । त्यसपछि कार्की सर्वोच्च अदालतको प्रधानन्यायाधीश बनिन् । उनले न्यायाधीश हुने क्रममा कयौँ चर्चित मुद्दाको फैसला सुनाइन् । उनले बहालवाला सूचना तथा सञ्चारमन्त्री जयप्रकाश प्रसाद गुप्तालाई भ्रष्टाचार मुद्दामा दोषी ठहर गरिन् ।

भ्रमण र स्वभाव

अमेरिका, बेलायत, श्रीलङ्का, जापान, चीन, भारत, तान्जिनियाँ र नेदरल्यान्ड लगायतका देशको भ्रमण गरिसकेकी कार्की नेपाली, अङ्ग्रेजी र हिन्दीमा भाषामा निपुण छिन् । तीन दशकभन्दा बढी वकालत क्षेत्रमा काम गरेकी उनीसँग सात वर्ष सर्वोच्च अदालतको न्यायाधीश भएर काम गरेको अनुभव छ ।

निडर स्वभाव र सरल जीवनशैली अपनाउने उनी न्याय क्षेत्रमा स्वच्छ छविका रुपमा परिचित छिन् । यसअघि २०७२ सालमा नेपालको संविधान जारी भएपछि पहिलोपटक तीन महिला उच्च पदमा पुग्न सफल भएका थिए। राष्ट्रपति विद्यादेवी भण्डारी, सभामुख ओनसरी घर्तीपछि उनी पहिलो प्रधानन्यायाधीश बनेकी थिइन् । अब उनै पहिलो प्रधानमन्त्रीको ढोकानजिक पुगेकी हुन् ।

प्रकाशित मिति : २०८२ भदौ २६ गते बिहीबार