२०८३ असार १४ , आइतबार 28, June 2026, Sunday
जेनजी विद्रोह

कसले चलाइरहेको छ देश ? कहाँ छन् राजनीतिक दलका नेताहरू ?

‘कसैको पनि हातमा नरहेको बेलामा सुरक्षा अङ्गको सक्रियता नभई सामान्य अवस्थामा आउनै सक्दैन ।’
सत्यपाटीसत्यपाटी । काठमाडौं । २०८२ भदौ २५ गते बुधबार

दुई दिनसम्म चलेको प्रदर्शनसँगै प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिएपछि राष्ट्रपति रामचन्द्र पौडेल र नेपाली सेना दुवैले वार्ताको लागि आग्रह गरेका छन् । तर प्रधानमन्त्री ओलीले राजीनामा दिएर अचानक सिर्जना भएको रिक्तताको अवस्थामा राज्य सञ्चालनको बागडोर सम्हालिरहेका मानिएका राष्ट्रपति रामचन्द्र कहाँ छन् ?

उनको सचिवालयका अनुसार महाराजगन्जस्थित शीतल निवासमा दिउँसो प्रदर्शनकारी प्रवेश गरेपछि करिब २ः१५ बजे नेपाली सेनाले उनलाई त्यहाँ असुरक्षित हुन सक्ने भन्दै बाहिर जानुपर्ने बतायो । पौडेललाई सेनाको हेलिकप्टरले त्यहाँबाट उद्धार गरेको थियो । लगत्तै प्रदर्शनकारीहरूले राष्ट्रपति कार्यालय र निवास रहेको उक्त राणाकालीन भवनमा तोडफोड र आगजनी गरे ।

नेपाली सेनाको सुरक्षामा रहेका राष्ट्रपति पौडेलले अज्ञात स्थलबाट साँझ छ बजेपछि आन्दोलनरत ‘जेनजी’ प्रतिनिधिहरूलाई वार्तामा आउन आह्वान गरेका थिए । त्यसपछि उनलाई कहाँ लगियो र कहाँ राखिएको छ भन्नेबारे नेपाली सेनाले पनि आधिकारिक जानकारी सार्वजनिक गरेको छैन । नेपाली सेनाका प्रवक्ता राजाराम बस्नेतले राष्ट्रपतिसहित शीर्ष नेताहरू रहेको स्थान आफ्नो ‘जानकारीमा नभएको’ बताएका छन् ।

संविधानअनुसार नेपाली सेनाको परमाधिपति समेत रहेका पौडेल नै अहिले देश चलाउने व्यक्ति रहेको हुन सक्ने आफूलाई लागेको पूर्वमुख्यसचिव लीलामणि पौडेलले बताए । ‘कसैको पनि हातमा नरहेको बेलामा सुरक्षा अङ्गको सक्रियता नभई सामान्य अवस्थामा आउनै सक्दैन,’ विसं २०६९ सालमा संविधानसभा विघटनपछि रिक्तताको अवस्थामा नेपाल सरकारको मुख्यसचिव रहेका पौडेल भन्छन् ।

‘सेना सक्रिय भएर काम गरिरहेको छ भने पनि परमाधिपति त राष्ट्रपति नै हो नि । अहिले नागरिक प्रशासन नभए पनि राष्ट्रपतिको रूपमा परमाधिपति चाहिँ हुनुहुन्छ नि त ।’ आन्दोलनरत पक्षलाई प्रतिनिधि बनाएर वार्तामा आउन भनिनुपर्ने र वार्ताको नेतृत्व राष्ट्रपतिले गर्नुपर्ने आफूलाई लागेको पौडेल बताउँछन् ।

कामचलाउ प्रधानमन्त्री बनेका ओलीको मौनता

सङ्घीय संसद् भवन, प्रमुख प्रशासकीय केन्द्र सिंहदरबार अनि राष्ट्रपति र प्रधानमन्त्री निवासमा समेत प्रदर्शनकारीहरूले धावा बोलेपछि प्रधानमन्त्री केपी ओलीले राजीनामा दिएको मङ्गलवार दिउँसो २ः२४ बजे उनको सचिवालयले सार्वजनिक गरेको थियो । राष्ट्रपति पौडेलले ओलीको राजीनामा स्वीकृत गर्दै ‘संविधान बमोजिम अर्को व्यवस्था नहुन्लका लागि’ उनैलाई कामचलाउ सरकारको जिम्मेवारी दिएको राष्ट्रपति कार्यालयले बताएको छ ।

तर राजीनामा बुझाएपछि कामचलाउ बनेका प्रधानमन्त्री ओलीको कहीँ कतै उपस्थिति देखिएको छैन । ‘उहाँ (ओली) नै कार्यवाहक हो भनेर राष्ट्रपति कार्यालयबाट भनिए पनि उहाँको भूमिका सार्वजनिक देखिएको छैन । उहाँले काम गरिरहेको भए मुख्य सचिव, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीसहित अनुसन्धान विभागका प्रमुखहरू बसेर निर्णय गरेको अवस्था सार्वजनिक हुनुपर्ने अवस्था थिएन,’ पौडेल भन्छन् ।

त्यसकारण कार्यपालिकाको राजनीतिक नेतृत्व निष्क्रिय भएको पौडेलको बुझाइ छ । ओली देश छोडेर बाहिरिएको चर्चा सामाजिक सञ्जालमा भइरहे पनि उनीनिकट एक जना व्यक्तिले उनी नेपालमै रहेको र सुरक्षा निकायको संरक्षणमा रहेको दाबी गरेका छन् । उनलाई प्रधानमन्त्री निवास बालुवाटारबाट नेपाली सेनाको हेलिकप्टरमार्फत् मङ्गलवार दिउँसो उद्धार गरिएको थियो ।

कामचलाउ प्रधानमन्त्रीको राजनीतिक अनुपस्थिति नदेखिए पनि कर्मचारीतन्त्रको नेतृत्व हाँक्ने मुख्यसचिव एकनारायण अर्यालले नेपाल सरकारका सचिवहरूको बैठक राखेका छन् । उनले मङ्गलवार पनि सुरक्षा निकायहरूसँग संयुक्त रूपमा विज्ञप्ति निकालेर राजनीतिक संवादको माध्यमबाट यथाशक्य छिटो शान्तिपूर्ण समाधान निकाल्न आह्वान गरिरहेका थिए ।

अन्य विशिष्ट व्यक्तिहरू कहाँ छन् ?

राज्यका प्रमुख अङ्गहरूमध्येका बाँकी दुई व्यवस्थापिका र न्यायपालिकाको उपस्थिति पनि कर्मचारीतन्त्र तहबाट मात्रै देखिएको छ । बुधवारका लागि तय गरिएको प्रतिनिधिसभा बैठक अर्को सूचना जारी नभएसम्म स्थगित गरिएको सूचना सङ्घीय संसद्का महासचिव पद्मप्रसाद पाण्डेले प्रकाशित गरेका छन् ।

‘प्रतिनिधिसभाको बैठक विशेष कारणले निर्धारित समयमा बस्न नसक्ने भएकोले प्रतिनिधिसभा नियमावली, २०७९ को नियम ६ को उपनियम (३) बमोजिम सम्माननीय सभामुखले अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गर्नुभएको बेहोरा माननीय सदस्यहरूको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ,’ पाण्डेले सभामुखको निर्णय उद्धृत गर्दै जारी गरिएको सूचनामा भनिएको छ ।

उनको सचिवालयले सभामुख देवराज घिमिरे सुरक्षा निकायको संरक्षणमा रहेको बतायो । दिउँसोसम्म सभामुखको निवासमै रहेका घिमिरेले प्रदर्शन चर्कँदै गएपछि ‘आफूलाई नेपाली सेनाले सुरक्षा व्यवस्थाका लागि अन्यत्रै लैजान लागेको’ आफ्नो सचिवालयलाई जानकारी दिएको सचिवालयका एक सदस्यले बताए ।

राष्ट्रियसभा अध्यक्ष नारायण दाहाल पनि सुरक्षा निकायकै सुरक्षामा रहेको र सम्पर्कमै रहेको उनको सचिवालयले जनाएको छ । राज्यको अर्को निकाय सर्वोच्च अदालतको भवन जलेका कारण अनिश्चितकालका लागि बन्द भएको छ । मुख्यरजिस्ट्रारले अदालतको भवन आगजनीका कारण पूर्ण रूपमा जलेको भन्दै भन्दै अर्को सूचना जारी नहुँदासम्मका लागि त्यहाँबाट हुने मुद्दाहरूको सुनुवाइ स्थगित गरिएको जनाएका छन् ।

अरू पूर्वप्रधानमन्त्रीहरू कहाँ छन् ?

प्रदर्शनकारीहरूले मङ्गलवार दिउँसो पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र परराष्ट्रमन्त्री समेत रहेकी उनकी पत्नी आरजू राणा देउवाको घरभित्र प्रवेश गरेर तोडफोड र आगजनी गर्दा देउवा दम्पती उनीहरूकै घरमा थिए । उनीहरूमाथि आक्रमण भएको भिडिओ सामाजिक सञ्जालमा कैयौँले शेअर गरेका छन् ।

टाउकोमा चोट लागेका देउवालाई सुरक्षा निकायले घरपछाडिको पर्खालबाट बाहिर निकालेको र हेलिकप्टरमार्फत् उद्धार गर्ने तयारी गरिएको दाबी गरिएका भिडिओहरू पनि सामाजिक सञ्जाल र अनलाइन सञ्चारमाध्यममा फैलिएका छन् । ती भिडिओहरूको आधिकारिकता पुष्टि गरेको छैन । तर उनलाई अस्पताल लगिएको र सुरक्षा निकायको निगरानीमा उपचार भइरहेको उनीनिकट स्रोतले बताएको छ ।

मङ्गलवार प्रदर्शनकारीहरूले सिंहदरबारमा तोडफोड र प्रवेशद्वारमा आगजनी सुरु गर्दा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल र माधव नेपाल सहितका कैयौँ विपक्षी नेताहरू संसद् सचिवालयमा बैठकमा थिए । बाहिर निस्कने अवस्था नभएपछि त्यहाँबाट उनीहरूलाई पनि नेपाली सेनाले उद्धार गरेर नेपाली सेनाकै स्वामित्वमा रहेको कुनै ठाउँमा पुर्याएको जानकार स्रोतले बताएको छ ।

कारागारबाट मङ्गलवार नै बाहिर आएका पूर्वउपप्रधानमन्त्री समेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले साँझ भिडिओ सन्देश जारी गरेका थिए । उक्त भिडिओ सन्देशमा लामिछानेले आफू रहेको स्थानबारे सुरक्षा निकायलाई जानकारी गराएको र आफूलाई पनि सुरक्षाको आवश्यकता पर्न सक्ने बताएका छन् ।

प्रकाशित मिति : २०८२ भदौ २५ गते बुधबार