जेनजी पुस्ताले आज काठमाडौं लगायत देशका धेरै स्थानमा प्रदर्शन गर्ने भएको छ । सन् १९९७ देखि २०१२ भित्र जन्मेको ‘जेनजी’ पुस्ताले आज प्रदर्शन गर्न लागेको हो । काठमाडौंमा माइतीघरमा प्रदर्शन हुनेछ ।
तीन दशकदेखि निरन्तर लुट र विलासितामा डुबेका शासक वर्गविरुद्ध निर्णायक विद्रोह तयारीमा जेनजी लागेका हुन् । सरकारले भदौ १२ गते सात दिनको समय दिएर २६ सामाजिक सन्जाल निष्क्रिय गर्ने निर्णय गरेको थियो । सरकारले अचानक सामाजिक सञ्जाल बन्द गरेपछि यसले सबैभन्दा बढी प्रभावित आफूहरू भएको जेनजी पुस्ताको दाबी छ ।
सामाजिक सञ्जाल प्लेटफर्ममा अभ्यस्त यस पुस्ताले आज बृहत् प्रदर्शन गर्न लागेको हो । सामाजिक सञ्जालको पहुँच बन्द गर्ने सरकारको निर्णयले अभिव्यक्ति स्वतन्त्रता सीमित हुने भएकाले नागरिकले आफ्ना विचार खुला रूपमा व्यक्त गर्न नपाउने भन्दै उनीहरूले सरकार विरुद्ध स्वतः स्फूर्त प्रदर्शनको घोषणा गरेका छन् ।
सरकारको कदमले युवामाझ आपसी सम्पर्क, सिर्जनशीलता र समूहगत गतिविधिमा कमी आउने, आर्थिक दृष्टिले हेर्दा अनलाइन व्यापार, ई–कमर्स, डिजिटल मार्केटिङ र विज्ञापन उद्योग ठप्प हुने खतरा रहेको भन्दै जेन्जीले प्रदर्शनको घोषणा गरेका हुन् । जेनजीको प्रदर्शनलाई कलाकार, कन्टेन्ट क्रियटर्स लगायतले साथ दिएका छन् ।
टिकटक लगायतका प्लेटफर्म धेरै फ्लोवर्स भएका प्रयोगकर्ताले राजनीतिकरण हुन नदिन पनि अपिल गरिरहेका छन् । राजधानीमा आइतबार पत्रकार सम्मेलन गरी सोमबार (आज) देखि भ्रष्टाचार र अन्यायविरुद्ध सडकमा उत्रिने घोषणा गरेको छ । जेनजी पुस्ताले विद्रोह केवल सरकार बदल्ने होइन, सम्पूर्ण राजनीतिक व्यवस्था बदल्ने प्रदर्शन भएको दाबी गरेको छ ।
विद्रोहको मूल लक्ष्य नेपालको सम्पूर्ण ध्यान विकास र तीव्र आर्थिक वृद्धिमा केन्द्रित गराएर केही दशकभित्रै नेपाललाई विश्वका उन्नत राष्ट्रहरूको पंक्तिमा उभ्याउने रहेको उल्लेख छ । ‘अब हामी चुप बस्दैनौं ! डराउँदैनौं ! हामी झुक्दैनौं ! अब हामी उठ्छौं ! भदौ २३ गते जनताको ज्वालामुखी सडकमा फुट्नेछ,’ जेनजीको वक्तव्यमा भनिएको छ ।
तीन दशकदेखि निरन्तर लुट र विलासितामा डुबेका शासकवर्गविरुद्ध निर्णायक विद्रोह तयारीमा जेनजी लागेका छन् । जेनजी पुस्ताले विद्रोह केवल सरकार बदल्ने होइन, सम्पूर्ण राजनीतिक व्यवस्था बदल्ने प्रदर्शन भएको दाबी गरेको छ । जेनजी पुस्ताको विद्रोहलाई समर्थन गर्दै राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय समिति सदस्य रविकिरण हमालले केही दिनअघि विज्ञप्ती निकाले ।
‘हजारौं युवाहरू विदेशी भूमिबाट रातो बाकसमा फर्किरहेका छन्, सयौं आमाबाबु सन्तानविहीन भएका छन्, कैयौँ बालबालिकाहरू टुहुरा भएका छन् । घुस नदिएर कुनै काम नहुने यो मुलुकमा न्याय मरेको छ, सुरक्षा निकाय भ्रष्टहरूको सेवक बनेका छन्,’ प्रदर्शनमा सहभागिताको लागि हमालले जारी गरेको वक्तव्यमा भनिएको छ ।
वक्तव्यमा भनिएको छ, ‘जनताले प्रत्यक्ष भोटमार्फत आफ्ना सरकार प्रमुख रोज्ने प्रणाली ल्याइनेछ, तीन दशकसम्म लुटिएको जनताको पैसा फिर्ता गराइनेछ, र लुट गर्नेहरूलाई कालकोठरीमा हालिनेछ ।’ त्यस्तै, विश्वविद्यालयदेखि न्यायालय, कूटनीतिक निकायदेखि कर्मचारीतन्त्रसम्मलाई पुनःसंरचना गरेर जनताको पक्षमा उन्मुख गरिने स्पष्ट योजना पनि सार्वजनिक गरिएको छ ।
उनीहरूले योग्य, इमान्दार र निष्ठापूर्वक काम गर्ने व्यक्तिहरूलाई अवरोध नभइ अवसर दिने वातावरण निर्माण गर्ने प्रतिबद्धता गरेका छन् । विद्रोहको मूल लक्ष्य नेपालको सम्पूर्ण ध्यान विकास र तीव्र आर्थिक वृद्धिमा केन्द्रित गराएर केही दशकभित्रै नेपाललाई विश्वका उन्नत राष्ट्रहरूको पंक्तिमा उभ्याउने रहेको उल्लेख छ ।
यस्तै सोमबारको प्रदर्शनको लागि ‘हामी नेपाली’ नाम गरेको एनजीओ समेत देखिएको छ । सन् २०१५ देखि सक्रिय रहेको यो एनजीओले सोमबार हुने प्रदर्शनमा आफ्ना स्वंय सेवक उतार्न लागेको हो । ‘खास गरी करप्सनको कुरा चाहिँ अगाडि नै आइरहेको थियो । तर, प्रदर्शन भएको थिएन,’ संस्थाका प्रतिनिधि श्रीष घजुले भने, ‘अब कसैले लिड गर्ने त्यस्तो थिएन । अनि हाम्रो अर्गनाइजेसनले चाहिँ यसलाई लिड गर्ने हो ।’
सरकारले सोसल मिडिया बन्द गरेपछि त्यसले धेरैको रोजीरोटी खोसेको, अभिव्यक्ति स्वतन्त्रता कुन्ठित पारेको भन्दै जेनजी आन्दोलनमा समर्थन बढ्दै गएको छ । जेनजीको आन्दोलनमा काठमाडौं महानगरपालिका प्रमुख बालेन्द्र साह (बालेन)ले समर्थन गरेका छन् । आफ्नो फेसबुकमा स्टाटास राख्दै उनले आफू उमेर हदबन्दीका कारण जान नमिल्ने तर, सर्मथन रहेको बताए ।
‘भोलिको र्याली स्पष्ट स्वस्फूर्तरुपमा जेन जेड को हो, उहाँहरू भनेको २८ वर्ष मुनि हुनुहुन्छ, जसकोलागि म पनि अझै बुडो देखिन्छु । मलाइ पनि उहाँहरूको इच्छा, उद्देश्य, सोच बुझ्नु मन छ,’ उनले लेखेका छन्, ‘भोलि यो स्वतफुर्त र्यालीमा कुनै पार्टी, नेता, कार्यकर्ता, सांसद, अभियन्ताहरू आफ्नो स्वार्थ पूरा गर्न बाठो नबन्नु होला । म उमेर हदबन्दीको कारण जान मिल्दैन, तर उहाँहरूको कुरा बुझ्नु जरुरी छ, मेरो भरपुर समर्थन छ । प्रिय जेन जेड भन्नुस् तपाईँहरूले कस्तो देश देख्न चाहनुहुन्छ ?’

किन अघि आए जेनजी ?
नेपालमा सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णयले पछिल्ला दिनहरूमा विशेषगरी जेनजी पुस्तालाई भर्चुअलदेखि प्लेटफर्म सडकदेखिसम्म सक्रियतर्फ डोर्याएको देखिएको छ । इन्टरनेटसँगै हुर्किएको र डिजिटल संस्कृतिमा डुबिरहेको यो पुस्ता आफ्ना अधिकार र भविष्यका अवसर गुम्ने डरले व्यापक प्रदर्शनको तयारीमा रहेको घजु बताउँछन् ।
उसो त जेनजी पुस्ताले यसअघि इन्डोनेसिया र फिलिपिन्समा भएको भ्रष्टाचारको प्रदर्शनबाट प्रभावित भएको टिकटक लगायतका समाजिक सन्जालमा राखिएको भिडिओले देखाउँछ । इन्डोनेशियामा हाल सरकारको कार्यशैली विरुद्ध प्रदर्शन भइरहेको छ । जसको सुरुवात सांसदले पाएको अत्यधिक महँगो भत्ता र विशेषाधिकारप्रति असन्तुष्टि जनाउँदै भएको थियो ।
प्रदर्शन राजधानी जकार्तासहित दर्जनौँ प्रान्तमा फैलिएको छ । प्रदर्शनकारीले त्यहाँको प्रहरी चौकी, सरकारी कार्यालय लगायतामा तोडफोड र आगजनी गरेका थिए । प्रदर्शनले त्यहाँ कम्तीमा १० जनाको मृत्यु, सयौँ घाइते र हजारौँ गिरफ्तारी भएको छ । विद्यार्थी, महिला समूह र मजदुरहरूले ‘डिजिटल स्वतन्त्रता’ र ‘राजनीतिक पारदर्शीता’का नारासहित प्रदर्शनलाई निरन्तरता दिइरहेका छन् ।
नेपालमा पनि पछिल्लो समय व्यापक भष्ट्राचार बढेको भन्दै इन्डोनेशियाको ट्रेण्ड पच्छाउँदै भिडिओ सामाजिक सन्जालमा देखिएका छन् । सरकारले सोसल मिडिया बन्द गरेपछि त्यसले धेरैको रोजीरोटी खोसेको, अभिव्यक्ति स्वतन्त्रता कुन्ठित पारेको, फ्रिडम अफ स्पिच बन्देज गरेको भन्दै जेन जी आन्दोलनामा आएका हुन् । आइतबार नेपाल पत्रकार महासंघका पूर्व पदाधिकारीको आव्हानमा सोसल मिडिया निष्क्रियको विरोधमा प्रदर्शन गरेको थियो ।
नेपो बेबी एक्सपोज र वेक अप नेपाल अभियान
उसो त सरकारको कदम र कार्यशैली विरुद्ध जनतामा आक्रोस बढेको बढ्यै छ । त्यसमा पनि पछिल्ला कदमहरू जेन्जी पुस्ताको लागि निकै आक्रोशित बनाएको देखिन्छ । सरकारमा बस्नेहरू भष्ट्राचारमा लिप्त हुने र जनताका छोराछोरी सँधै गरिबी र खाडीमा काम गर्नुपरेको जस्ता नारा दिएर टिकटक, रेडिट, फेसबुक जस्ता प्लेटफर्ममा ‘नेपो बेबी एक्सपोज’ तथा ‘वेक अप नेपाल क्याम्पेन’ अभियान सुरु गरेका छन् ।
‘एक्सपोज नेपो बेबी’ र ‘वेक अप नेपाल’ ह्यासट्याग राखेर सामाजिक सन्जालमा नेताका छोराछोरीको जीवनशैली, उनीहरूको महँगो लाइफ स्टाइल आदिको एक्स्पोज गर्ने क्रम जारी छ । यसको सुरुवात कहाँबाट भयो भन्ने ठ्याक्कै भन्न नसकिएपनि केही समयअघि परराष्ट्रमन्त्री आरजु राणाले दिएको स्टेटमेन्टको भिडिओ निकै प्रयोग भएको देखियो ।
राणाको ‘हिजो म पुतलीसडकको रेड लाइटमा थिएँ । वरिपरि हेर्दा नेपालीको जीवनशैली राम्रो देखियो । सबैजना वेल ड्रेश, हातमा राम्रो मोबाइल लिएर स्मुथली हिँडिरहेको देखिन्थ्यो । उनीहरूको फेस ब्राइट देखिन्थ्यो’ भन्ने भिडियो रहेको छ । आरजुको केही समयअघि दिएको भिडिओ तथा नेताका छोराछोरीको फोटो तथा भिडिओ सार्वजनिक गर्न थालेका हुन् । विशेष गरी टिकटकमा ‘एक्सपोज नेपो बेबी’ भिडिओ टे«न्डिङ भइरहेका छन् ।
सत्यपाटी