सत्ता गठबन्धनमै संशय ल्याएको भूमिसम्बन्धी विधेयक केहिदिन पहिले संसदीय समितिबाट पारित भयो । भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयकलाई प्रतिनिधिसभा अन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिले बहुमतबाट पारित गरेको छ ।
यसमा नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी (जसपा) नेपाल, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लगायतका राजनीतिक दलहरुले भने फरक मत राख्दै असहमति व्यक्त गरेका छन् । भूमि विधेयकका केही प्रावधानमा सत्तारूढ कांग्रेस र एमालेबीच विवाद देखिँदै आएको थियो । तर विधेयक पारित गर्ने बेलामा कांग्रेस र एमाले एकमत भएका थिए ।
अध्यादेशमार्फत प्रधानमन्त्री ओलीले यो ऐन संशोधन गर्न खोजेका थिए । तर विरोध भएपछि संसद्मा अध्यादेश प्रतिस्थापन विधेयक नै आएन । पछि सरकारले नयाँ विधेयक अध्यादेशकै प्रावधानसहित ल्यायो । जुन विधेयकमाथि सत्तारुढ दल नेपाली काँग्रेसले नै सशंकित बन्दै निरन्तर खबरदारी पनि गरे पनि अन्ततः विधेयक पारित भएको छ ।
भूमि विधेयक पारित भएसँगै यसको विरोधमा जनता समाजवादी पार्टी, नेपालले आन्दोलन थालेको छ । जसपा नेपालले देशका विभिन्न शहरमा विधेयकविरुद्ध आज ९ भदौदेखि १५ गतेसम्म ‘व्यापक प्रदर्शन’ गर्ने भएको हो । जसपा नेपालका महासचिव लालबाबु राउतले विरोध प्रदर्शनमा सहभागी भई सहयोग गर्न सबैलाई आव्हान गरेका छन् ।
सरकारले राष्ट्रियहीत विपरीत भूमि विधेयक पारित भएको भन्दै जसपा नेपालको केन्द्रीय सचिवालय बैठकले वन क्षेत्रको जग्गामा हुने अतिक्रमण रोक्न एवं जैविक विविधता र पर्यावरणको संरक्षण गर्न, तराई मधेशलाई मरुभूमिकरण हुनबाट जोगाउन तथा जल, जंगल र भूमिको रक्षा गर्न विरोध प्रदर्शन गर्न लागेको पनि जसपा नेपालले बताएको छ ।
भूमि सम्बन्धि विधेयक मुलुक र जनताको हितमा नरहेको, भू–माफिया, जग्गा दलालको हित हुने र यसबाट वन जंगल विनाश भई तराई र मधेश मरुभूमिकरण हुने जसपा नेपालको ठहर छ । जसपा नेपालका प्रवक्ता मनिष सुमनले वर्तमान सरकारले भूमि विधेयकलाई जसरी पनि पारित गराउनका लागि गौरहत्या काण्डलाई व्यूँताएकोे आरोप लगाएका छन् ।
अहिले संसद्मा पेश भएको भूमिसम्बन्धी विधेयकले सिंगो देशलाई मरुभूमि बनाउने उनको भनाइ छ । त्यो ऐन कुनै सुकुम्बासीलाई जग्गा दिनका लागि ल्याउन नखोजिएको भन्दै प्रवक्ता सुमनले सुकुम्बासीलाई जग्गा दिनका लागि नेपालमा भएका विद्यामान कानुनहरु नै पर्याप्त हुँदाहुँदै जबरजस्त भूमि विधेयक पारित गरेको बताएका छन् ।
सरकारले ल्याएको भूमि विद्येयकले चुरे समाप्त हुने र तराई–मधेश स्थायी रुपमै मरुभूमिकरण हुने टिप्पणी गर्दै यस वर्षको खडेरी र यसले पारेको प्रभावबाट नेपाल सरकार र शासकले चेत नलिएको उनको आरोप छ । सरकारले ल्याएको भूमि विधेयकको असर सबै नेपाली जनतामा पर्ने बताउँदै अति गैरजिम्मेवार ढंगले यो विद्येयक पारित गरिएको प्रवक्ता सुमनको तर्क छ ।
सबै प्रतिपक्षीहरुको विरोधका वावजुद भूमि विधेयक पारित गरिएको भन्दै उनले यसले आन्दोलन सिर्जना गर्ने चेतावनी दिए । सरकारले राष्ट्रियहीत विपरीत भूमि विधेयकको ल्याएको भन्दै यसको चौतर्फी विरोध भइरहेको हो । विधेयक पारित भएसँगै कृषियोग्य क्षेत्र र भू–स्रोतमा पर्ने असरबारे विश्लेषक र विज्ञहरूले चिन्ता व्यक्त गर्दै आएका छन् ।
विशेषतः मधेशका खुला जमिनलाई अव्यवस्थित बसोबासका नाममा बाँडिने आशंका प्रकट गरिएको छ । प्रवक्ता सुमनको भने, ‘भूमि विधेयकले पास भएसँगै यसले विनाशकारी रूपमा चुरेको क्षति गरी भू–जल पुनर्भरण अवरुद्ध गर्नेछ, जसको प्रत्यक्ष परिणाम मधेशको मरुभूमीकरण हुनेछ ।’ भूमिसम्बन्धी विधेयक देश र जनताको हितभन्दा बढी भूमाफिया र विचौलियाको पक्षमा रहेको जसपा नेपालको निष्कर्ष छ ।
सरकारले वनजंगल विनाश भई तराई–मधेस मरुभूमिकरण हुने गरी विधेयक ल्याएकाले यसविरुद्ध आन्दोलन गर्न लागिएको भन्दै यसले तराई–मधेश मरुभूमिकरण हुने जसपा नेपालको दावी छ । जसपा नेपालले भूमि विधेयकविरुद्ध देशका विभिन्न सहरहरूमा व्यापक विरोध प्रदर्शन गर्न पनि पार्टीपंक्तिलाई निर्देशन दिएको छ । यही ५ भदौमा संसदको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिले विवादित विधेयक पारित गरिसकेको छ ।
यसपछि जसपा नेपालले वन क्षेत्रको जग्गामा हुने अतिक्रमण रोक्न, जैविक विविधता र पर्यावरणको संरक्षण गर्न, तराई–मधेसलाई मरुभूमिकरण हुनबाट जोगाउन तथा जल, जंगल र भूमिको रक्षा गर्न ‘भूमि र वन बचाऔँ, मधेसलाई मरुभूमिकरण हुनबाट जोगाऔँ’ भन्ने अभियानसहित भूमि विधेयकविरुद्ध आन्दोलन गर्ने निर्णय गरेको थियो । सोही निर्णय अनुसार देशका विभिन्न सहरहरूमा व्यापक विरोध प्रदर्शन गर्न जसपा नेपालले अपील गरेको छ ।
सत्यपाटी