२०८३ वैशाख ६ , आइतबार 19, April 2026, Sunday

मुटुरोगलाई समयमै व्यवस्थापन नगरे हृदयघात हुनसक्छ !

पछिल्लो समय सामाजिक सञ्जालको बढी मात्रामा प्रयोगका कारण मुटुरोग सम्बन्धी जनचेतना बढेको पाइन्छ ।
डा.मिलनप्रकाश श्रेष्ठडा.मिलनप्रकाश श्रेष्ठ । मुटुरोग विशेषज्ञ । २०८२ भदौ १ गते आइतबार

कुनै पनि व्यक्तिमा मुटुको कोठा, मुटुको भल्व र मुटुको रक्तनलीमा हुने समस्यालाई मुटुरोग भनिन्छ । मानिसमा जन्मजात मुटुको रोग हुने गर्दछ । यसबाहेक मुटुको वाथरोग हुने, मुटुमा ब्लक हुने समस्यासमेत हुने गर्दछ । कुनै व्यक्तिमा मुटुको चाल गढवढ हुने (एरीदमिया) समस्या, मुटुले पर्याप्त रुपमा काम गर्न नसक्ने अवस्था (हार्ट फ्लेयर) समेत हुने गरेको देखिन्छ । मुटुको ब्लकलाई वास्ता नगर्दा वा समयमा उपचार नगर्दा हृदयघात समेत हुन्छ । पहिलेभन्दा पछिल्लो समय शहरी क्षेत्रमा मुटुका विरामीको दर बढेको छ ।

खानपानमा पर्याप्त ध्यान नदिँदा तथा योग, ध्यान र कसरत नगर्दा यस रोगका विरामीहरु दिनानुदिन बढ्दै गएका छन् । यसैगरी बढी तनाव लिँदासमेत मुटुरोग हुने गरेको छ । ब्लडप्रेसर र सुगरको कारणले मुटुरोग बढ्ने गरेको पाइन्छ । सुगर र ब्लड प्रेसरका विरामी बढी हुँदा मुटुरोगका विरामी समेत बढ्ने गरेका छन् । खासगरी मानसिक तनावको समस्या, धुमपान, मद्यपानका कारणले मुटुरोग हुने गर्दछ । ब्लडप्रेसर, सुगर र कोलेस्टोरको समस्या भए पनि विरामीले हेलचक्र्याईँ गरेको पाइन्छ ।

पछिल्लो समय अनावश्यक रुपमा तनाव लिने, धुमपान तथा मद्यपानको सेवन गर्ने, पर्याप्त मात्रामा नसुत्ने, मांसाहारी खाना अत्याधिक खाने, पर्याप्तरुपमा चिल्लो पदार्थ खान गर्नाले मुटुरोगको समस्या अत्याधिक मात्रामा देखिने गरेको पाइन्छ ।

यसरी हेलचेक्र्याँई गर्दा मानिसहरुलाई हृदयघातको समस्या देखिन्छ । ४० वर्ष उमेर कटेका विरामी मुटुको समस्याका कारण बढी मात्रामा अस्पतालमा आउने गरेको पाइन्छ । उक्त उमेर समूहका मानिसमा पहिलेको तुलनामा बढी मात्रामा मुटुको रोग देखिएको पाइन्छ । नियमित रुपमा चेकजाँच नगर्दा समस्या देखिने गरेको पाइन्छ । पछिल्लो समय सामाजिक सञ्जालको बढी मात्रामा प्रयोगका कारण मुटुरोग सम्बन्धी जनचेतना बढेको पाइन्छ । मानिसहरु मुटु दुख्नासाथ अस्पताल आएर डाक्टरको परामर्श लिने गर्नुहुन्छ ।

ब्लड प्रेसरको समस्या अहिले २० देखि ३० दशकका व्यक्तिलाई पनि देखिन थालेको पाइन्छ । उक्त उमेर समूहका मानिसलाई ब्लड प्रेसरको समस्या देखिने र औषधी सुरु गर्नुपर्ने अवस्था आएको छ । उक्त उमेर समूहका कतिपय ब्लड प्रेसरका विरामीहरु औषधी खान मान्नुहुन्न । ब्लड प्रेसर भएका विरामीले समयमै औषधी खाए दुर्घटना हुनबाट बच्न सकिन्छ । पछिल्लो समय अनावश्यक रुपमा तनाव लिने, धुमपान तथा मद्यपानको सेवन गर्ने, पर्याप्त मात्रामा नसुत्ने, मांसाहारी खाना अत्याधिक खाने, पर्याप्तरुपमा चिल्लो पदार्थ खान गर्नाले मुटुरोगको समस्या अत्याधिक मात्रामा देखिने गरेको पाइन्छ ।

मुटुरोग भएका मानिसहरुले नियमित रुपमा प्रेसर, सुगर र कोलेस्टोल जाँच गर्नुपर्ने हुन्छ । कुनै समस्या देखिहाल्यो भने डाक्टरको परामर्श लिनुपर्ने हुन्छ । यस्तै, विरामी हुन नदिनका लागि खानपानमा विशेष ध्याद दिनुपर्ने हुन्छ । सकेसम्म शाहकारी भोजनलाई प्रोत्साहन दिनुपर्छ । शाहकारी भोजन स्वास्थ्यका लागि राम्रो कुरा हो । कुनैपनि व्यक्तिले रोग लाग्न नदिनका लागि दैनिक आधा घण्टा (३० मिनेट)देखि एक घण्टासम्म नियमित रुपमा व्यायम गर्नुपर्छ । यस्तै रातको समयमा ६ देखि ८ घण्टासम्म नियमित सुत्नुपर्ने हुन्छ । विरामी हुन नदिनका लागि तनावलाई व्यवस्थापन गर्नु उत्तम उपाय हो । (लेखक ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल धापासी, काठमाडौका वरिष्ठ मुटुरोग विशेषज्ञ हुन् ।)

प्रकाशित मिति : २०८२ भदौ १ गते आइतबार