नेपाली राजनीतिमा सिद्धान्त, विचार, नीति, कार्यक्रम र पृष्ठभूमि फरकफरक रहेका तथा सत्ता र प्रतिपक्षमा रहेका दलहरूबीच आलोचना, टिप्पणी र आरोप–प्रत्यारोप हुनु सामान्य मानिन्छ । यस्तो बहस राजनीतिक प्रक्रियाको स्वाभाविक अंशको रूपमा लिइन्छ । तर, हाल नेपाली राजनीतिक दलहरू केवल एकअर्कालाई आरोप लगाउनमा मात्रै सीमित छैनन्, आफैँभित्र पनि गम्भीर विवादमा फसिरहेका छन् ।
संसद्मा प्रतिनिधित्व गर्ने लगभग सबै दलहरू अहिले आन्तरिक कलहको चरम अवस्थाबाट गुज्रिरहेका छन् । राजनीतिक स्थायित्व कायम गर्ने, संविधान संशोधन गर्ने र देशलाई समृद्धि बनाउने घोषणा गरेर सरकार गठन गरेका नेपाली कांग्रेस र नेकपा एमाले मात्र होइन, विपक्षी दलहरू पनि अहिले आन्तरिक विवादमा छन् ।
विद्याको पुनरागमनले एमालेमा बबन्डर
हाल नेपाली राजनीतिमा सबैभन्दा चर्चित विषय हो, पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको एमाले राजनीतिमा पुनरागमन । पार्टीको आगामी महाधिवेशनमा नेतृत्व सम्हाल्ने तयारीमा रहेकी भण्डारीमाथि पार्टीले सक्रिय राजनीतिमा रोक लगाएको छ । यसपछि अध्यक्ष केपी शर्मा ओली र भण्डारीबीचको टकराव चुलिएको छ ।
ओलीले भण्डारीको पक्षमा उभिने नेताहरूलाई कारबाहीको दण्ड चलाउन सुरु गरिसकेका छन् भने विद्या पनि ‘ब्याकिङ’ रहेको भन्दै ओलीसँग भिड्ने मुडमा देखिएकी छन् । एमालेका असन्तुष्ट नेताको साथ लिने र मदन भण्डारी फाउन्डेसनमार्फत राजनीतिक गतिविधि अगाडि बढाउने भण्डरीको तयारी छ । एमालेले पार्टीमा आउन बार लगाएपछि फाउन्डेसनकी अध्यक्ष तथा विद्याकी छोरी उषाकिरण भण्डारीले समेत आपत्ति जनाएकी छन् ।
कांग्रेसमा देउवालाई शेखरको काउन्टर
नेपाली कांग्रेसमा संस्थापन पक्ष र इतर समूहबीचको द्वन्द्व पुरानै हो, तर पछिल्लो समय डा. शेखर कोइरालाको सक्रियताले यो विवाद उत्कर्षमा पुगेको छ । देउवा पक्षद्वारा इतर नेताहरूलाई गरिएको अनुशासनात्मक कारबाहीप्रति शेखर पक्ष आक्रोशित छ । शेखरले देउवाको नेतृत्वप्रति बारम्बार असन्तुष्टि व्यक्त गर्दै आएका छन् ।
पछिल्लो समय त शेखर वैकल्पिक गठबन्धन निर्माणमा लागिपरेको चर्चा समेत सुरु भएको छ । पार्टी नेतृत्वमाथि दबाब बढाउन प्रमुख प्रतिपक्षी माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेट गरिसकेका छन् । शेखर समूहले सच्चिने कि सक्किने भन्ने शैलीमा देउवालाई तर्साइरहेको छ । कांग्रेसको बागमती प्रदेशमा त झन् नेताहरूको टकराबले आफ्नै नेतृत्वको सरकार नै ढल्ने अवस्थामा पुगेको छ ।
माओवादीमा जनार्दनको चुनौती
माओवादी केन्द्रमा अध्यक्ष प्रचण्ड र उपमहासचिव जनार्दन शर्माबीचको विवाद पनि उत्कर्षमा छ । चार दशकभन्दा बढी माओवादीमा अविछिन्न राज गरेका प्रचण्डविरुद्ध जनार्दनले धावा बोलिरहेका छन् । ‘मनमोहन अधिकारीबाहेक सबै कम्युनिस्ट प्रधानमन्त्रीहरू भ्रष्ट छन्’ भन्ने जनार्दनको अभिव्यक्तिपछि प्रचण्डले कडा प्रतिक्रिया दिएका छन् । जनार्दनले पार्टीको रूपान्तरणका लागि नेतृत्व हस्तान्तरणको मागसमेत राखेका छन्, जुन विशेष महाधिवेशनमार्फत सम्बोधन गर्ने भनिए पनि हालसम्म अड्किएको छ ।
रास्वपामा नेतृत्वको अन्योल
सहकारी ठगी प्रकरणमा सभापति रवि लामिछानेको जेल यात्रा र विचाराधीन मुद्दा रास्वपाका लागि ठूलो चुनौती बनेको छ । उपसभापति डोलप्रसाद अर्याल र डा.स्वर्णिम वाग्लेबीच पार्टी नेतृत्वका लागि रस्साकस्सी छ । रविको अनुपस्थितिमा पार्टी कसरी सञ्चालन गर्ने भन्ने विषयमा स्पष्टता छैन । सुमना श्रेष्ठसहित केही नेताहरू काठमाडौंका मेयर बालेन साहसँग सहकार्यको पक्षमा छन् भने केहीले पार्टीको ‘ब्रान्ड’ बिग्रने भन्दै विरोध गरिरहेका छन् ।
राप्रपामा कारबाहीको शृंखलाले चर्कियो विवाद
गणतन्त्रवादी दलहरू मात्रै नभई राजतन्त्रको वकलत गर्दै आएको राप्रपाभित्र पनि उस्तै विवाद छ । उपाध्यक्ष, प्रवक्तासहितका नेताहरूलाई हटाइएपछि महामन्त्री धवलशमशेर राणा पक्षले नेतृत्वमाथि स्वेच्छाचारिता र निरंकुशताको आरोप लगाउँदै निर्वाचन आयोगमा उजुरीसमेत दिएको छ ।
यतिमात्रै होइन, पार्टी एकताको तीन वर्ष पुगे पनि रविन्द्र मिश्रसहितका ४० जना नेताको नाम नै निर्वाचन आयोगमा अद्यावधिक नभएको पाइएको छ । लामो समय हुँदा पनि एकतामा आएकाको विवरण नै अद्यावधिक नगरिनुले गम्भीर सवाल खडा गरेको छ । राजसंस्थाको पुनःस्थापना गर्छौं भन्दै समय–समयमा उत्रिने उनीहरु पार्टी नेतृत्वका विवाद र असहमतिको ज्वालाले अस्तित्व नै संकटमा पारिरहेका छन् ।
जनमत र नागरिक उन्मुक्तिका पनि उस्तै
जनमत पार्टीभित्र अध्यक्ष डा.सिके राउत र अन्य वरिष्ठ नेताबीचको विवाद पनि सतहमा आएको छ । पार्टीबाट निष्कासित नेताहरूमाथि भएको कालोमोसो प्रकरणपछि अध्यक्ष राउतमाथि गम्भीर आरोप लागेका छन् ।
निलम्बित नेताहरूले राउतमाथि गुण्डा परिचालनको आरोप लगाएका छन् भने राउत पक्षले उनीहरूलाई पार्टीको धन अपचलन गरेको आरोप लगाएको छ । यता, नागरिक उन्मुक्तिमा संरक्षक रेशम चौधरी र अध्यक्ष रञ्जिता श्रेष्ठबीचको मतभेद पार्टीको अस्तित्वमै चुनौती बनेर देखिएको छ । सरकारमा सहभागी हुने वा नहुने विषयमा उनीहरूबीच मतभेद चुलिएको छ ।
नेकपा एसमा पनि अस्तित्वको सङ्घर्ष
नेकपा एमालेबाट विद्रोह गरेर बनाइएको नेकपा एकीकृत समाजवादीभित्र पनि नेतृत्व संकट देखा परेको छ । अध्यक्ष माधवकुमार नेपाल पतञ्जली प्रकरणपछि सांसद पद गुमाइसकेका छन् । भरखरै पार्टीमा भित्रिएका बामदेव गौतमले जिम्मेवारी नपाए पार्टी छोड्ने चेतावनी दिइरहेका छन् ।
अर्कोतर्फ नेतृ रामकुमारी झाँक्रीले अध्यक्ष माधवकुमार नेपाललाई मरेको सिनोको संज्ञा दिँदै ‘अर्ली महाअधिवेशन’को माग गरेपछि पार्टीमा तरङ्ग पैदा भएको छ । यसले नेकपा एसको भविष्य झनै संकटतर्फ मडारिएको छ । राष्ट्रिय राजनीतिमा दलहरूको आन्तरिक विवादले राष्ट्रिय एजेण्डा भने ओझेलमा परेको छ ।
देश सञ्चालन गर्ने राजनीतिक दलहरू एकपछि अर्को गर्दै आन्तरिक विवादमा फस्दा सिंगो शासन प्रणालीले लय समाप्त सकेको छैन । नेताहरूको व्यक्तिगत स्वार्थ र हठले दलहरू विभाजन उन्मुख भइरहँदा उनीहरूबाट जनताले गरेको आशामा कालो बादल मडारिँदै गएको देखिन्छ ।
सत्यपाटी