२०८२ फागुन ५ , मंगलबार 17, February 2026, Tuesday

देउवासँग ‘वारपार’को लडाइँमा कोइराला

सत्यपाटीसत्यपाटी । काठमाडौं । २०८२ साउन १३ गते मंगलबार

गठबन्धनमा लामो समयदेखि असन्तुष्ट रहेका प्रमुख सत्ता साझेदार दल नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले पार्टी सत्तामा भए पनि सरकारमा रहेको अनुभूति नभएको बताउँदै आएका छन् । पार्टी सरकारमा हुनुले जनतामा खास फरक नपरेको बताउदै पार्टी सत्तामा भएपनि सरकारमा नभएको बताउने गरेका हुन् । यसमा नेता कोइरालाको आफ्नै ‘लजिक’ छ ।

‘हाम्रो प्रतिस्पर्धी कुनै पनि ठाउँमा एमाले हुन्छ । हामी अहिले एमालेसँग सहकार्य गरेर अगाडि बढिरहेका छौँ । त्यसैले कहीँ यो सरकार गलत गरिरहेको छ कि भनेर हामीले खबरदारी गरिराख्नुपर्छ । हामीले खबरदारी गरेनौँ भने कांग्रेसलाई अफ्ठ्यारोमा पर्न सक्छ । त्यसैले हामी सत्तामा छौँ तर, सरकारमा छैनौँ’, उनले बेलाबखत भन्ने गरेका छन् । कोइरालाले अर्को चिन्ता पनि व्यक्त गर्दै आएका छन् ।

उनलाई डर छ कि एमालेसँगको सत्ता सहकार्यले कांग्रेस एमालेकरण भइरहेको छ । त्यसो त कोइराला जतिबेला कांग्रेस–एमालेबीच सत्ता सहकार्यको समझदारी बन्यो, त्यतिबेलै पनि खुसी थिएनन् । समझदारीअनुसार कांग्रेस–एमालेको सरकार बनेयता नै कोइरालाले सरकारप्रति आलोचनाका भाषाहरू बोल्दै आएका छन् । तर, कांग्रेस–एमाले गठबन्धनको एक वर्षसम्म आइपुग्दा कोइराला गठबन्धन ‘ब्रेक’को मनस्थितिसम्म पुगेपनि संस्थापन कांग्रेस हल्लिएको छैन ।

पछिल्लो समय उनी पार्टीभित्रको आफ्नो समूहका नेताहरूसँग मात्रै होइन, प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र प्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी ओलीसँग त्यति खुसी नरहेकी पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटघाट गर्दै आएका छन् । यी भेटवार्ताहरूमा कोइरालाले सरकारप्रति आलोचना गर्दै गठबन्धन ‘ब्रेक’ गर्दा के हुन्छ भन्ने प्रश्नको जवाफ खोजिरहेका भए पनि अंकगणित कमजोर भएकाले उनले त्यसको उत्तर पाइसकेका छैनन् ।

विद्या भण्डारी र प्रचण्डसँग कोइरालाले के कुरा गरे, त्यसको यथार्थता बाहिरिएको छैन । भण्डारी भने पछिल्लो समय पार्टीभित्रको किचलोमा रुमलिएकी छिन् । प्रचण्ड पनि जनार्दन शर्मासँग जुहारी खेलिरहेका छन् । कोइरालाले भण्डारी र प्रचण्डलाई भेटेर आएपछि आफूनिकट सांसदहरूसँगको बैठकमा अहिल्यै गठबन्धन ‘ब्रेक’ गर्दा के हुन्छ भन्नेबारे छलफल गरेका थिए । तर सांसदहरुले स्पष्ट जवाफदिन सकेका थिएनन ।

सभापति शेरबहादुर देउवाले पार्टीलाई ‘प्राइभेट कम्पनी’ बनाएको आरोप लगाउदै आएका कोइरालाले अब त्यसप्रति ‘लोयल’ नहुने चेतावनीयुक्त सन्देश दिएका छन् । प्रादेशिक सरकारहरूमा कोइराला पक्षका सांसदहरू नभएको पनि असन्तुष्ट रहेका उनले अझै एक वर्ष एमाले नेतृत्वको सरकारलाई दबाबमा राख्ने संकेत गरे । कोशी प्रदेशमा कोइरालाको सांसदहरूले सम्मानजनक उपस्थिति खोजिरहेका छन् ।

त्यसो त कोइरालाले आफूपक्षीय मन्त्रीहरूलाई फिर्ता बोलाउनेबारे पनि छलफल थालेका छन् । तर फिर्ता बोलाई हाल्न सकेका छैनन । संघीय तथा प्रादेशिक सरकारहरूमा रहेका मन्त्रीहरूलाई फिर्ता बोलाउनेबारे पनि छलफल चलिरहेको एक नेताले बताए । ‘मन्त्री फिर्ता बोलाउने निर्णय भइसकेको होइन तर, त्यसरी पनि छलफल सुरु भएको छ,’ ती नेताले दृष्टिसँग भने । मन्त्री फिर्ता बोलाएपछि भने गठबन्धन फुट्न सक्ने ती नेताको भनाइ छ तर, त्यो खाली छलफलको क्रममा रहेको उनले दोहोर्याए ।

कोइरालाको यो सक्रियताका प्रति संस्थापन पक्षले चासो देखाएको छ । कोइरालाको दौडधुपलाई ध्यान दिएका नेताहरुले चाक्सीबारीमा जुटेर छलफल गरेका थिए । त्यसपछि उनीहरुसहित संस्थापन पक्षका नेताहरूले पनि यसबारे छलफल गरेका छन् । उनीहरूले यसबारे पार्टी सभापति शेरबहादुर देउवासँग पनि संबाद गरेका थिए । चाक्सीबारीको भेलामा गठबन्धन २०८४ सम्म नै जानुपर्ने निष्कर्षसमेत निकालिएको छ तर, त्यसका लागि सरकारको यो ‘स्पीड’ले नपुगेको निष्कर्ष पनि निकालिएको छ ।

संस्थापनइतर पक्षका नेताहरू भने अब पनि यसैगरी नचल्ने बुझाइमा पुगिसकेका छन् । यसबीचमा कम्तीमा ६० प्रतिशत शक्ति आर्जन गरेको निष्कर्ष निकालेर बसेको संस्थापनइतर पक्षका नेताहरूले अब ‘वार कि पार’कै अवस्थामा जाने चेतावनी दिइरहेका छन् । १५औं महाधिवेशन नजिकिँदै गएको र देउवा सभापतिका उम्मेदवार बनाउन नमिल्ने अवस्थामा कोइरालाले सक्रियता बढाएर संस्थापन पक्षका कतिपय नेताहरूलाई तानिसकेको बताइन्छ । अहिल्यै गठबन्धन ‘ब्रेक’को छलफल र बहसले अरु केही सहयोग नगरे पनि पार्टीको मुख्य समर्थनमा ओली नेतृत्वको सरकारसँग असन्तुष्ट नेताहरू तान्न सकिने बुझाइमा कोइराला छन् ।

‘सरकारसँग धेरै साथीहरूको असन्तुष्टि छ । पार्टी नेतृत्वका प्रति पनि कतिपय साथीहरूले प्रश्न नै उठाइरहनुभएको छ,’ संस्थापनइतर पक्षका एक नेताले भने, ‘यस्तो अवस्थामा कतिपय नेताहरूले आफ्नो समूह चिन्नुपर्ने अवस्था पनि छ । यसले त्यो क्रममा पनि समर्थन गर्न सक्छ ।’ बालकृष्ण खाणलगायतका नेताहरूले समूह परिवर्तन गरिसकेका छन्। पहिले संस्थापन पक्षका नेता खाण अहिले कोइरालाको गुटमा पुगेको कांग्रेस नेताहरू नै बताउँछन् । यस्तो अवस्थामा कोइरालाले ‘फाइदा नै नभए पनि घाटाचाहिँ हुँदैन’ भन्ने बुझाइका साथ सक्रियता बढाएको ती नेताको भनाइ छ ।

प्रकाशित मिति : २०८२ साउन १३ गते मंगलबार