आगामी महाधिवेशनमार्फत पार्टीको नेतृत्व सम्हाल्ने योजनासहित सक्रिय राजनीतिमा फर्कने घोषणा गरेकी पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीमाथि एमालेले पार्टी राजनीतिमा प्रतिबन्ध नै लगाएको छ । मंगलबार मध्यरातमा सम्पन्न केन्द्रीय कमिटीको बैठकले पार्टीको विधान, संवैधानिक भावना, मूल्य–मान्यता, नैतिक मापदण्ड र विगतका नजिरहरूका आधारमा भण्डारीको पुनःप्रवेशमा रोक लगाउने निर्णय गरेको हो ।
राष्ट्रपतिजस्तो गरिमामय अभिभावकीय भूमिका निर्वाह गरिसकेकी व्यक्ति सक्रिय दलगत राजनीतिमा फर्कनु लोकतान्त्रिक मर्यादाविपरीत हुने एमालेको ठहर छ । पूर्वराष्ट्रपति भण्डारीको सक्रिय राजनीतिमा फर्कने प्रयास र एमालेले लगाएको प्रतिबन्धले उनको भविष्यको दिशाबारे बहस सुरु भएको छ । एमालेभित्र पुनरागमनका ढोका बन्द भएपछि भण्डारी अब सहज राजनीतिक मोडमा छैनन् ।
उनले अब दीर्घकालीन रणनीति, आत्ममूल्यांकन र यथार्थ बुझाइका आधारमा आफ्नो बाटो तय गर्नुपर्नेछ । तत्काल प्रभावशाली राजनीतिक पुनरागमनको सम्भावना कम देखिए पनि संयमित र रणनीतिक कदमबाट उनले आफ्नो भूमिका पुनःपरिभाषित गर्न सक्छिन् । भण्डारीले आफू नरोकिने संकेत पनि दिइसकेकी छन् । अध्यक्ष केपी शर्मा ओलीले उनलाई पार्टीको ढोका बन्द गरेको संकेत पाएपछि मंगलबार भण्डारीले आफूनिकट पत्रकारहरूसँग कुरा गर्दै आफू माझकिरातकी छोरी भएको र खुट्टा नकमाउने दाबी गरेकी थिइन् ।
एमालेको निर्णयले तत्कालका अवसर बन्द गरेपनि भण्डारीको राजनीतिक प्रभाव र जनाधार शून्य भएको छैन । उनको अनुभव, प्रभाव र स्वर्गीय पति मदन भण्डारीको जनताको बहुदलीय जनवाद (जबज)को विचारले उनलाई अझै पनि बलियो राजनीतिक खेलाडीको रुपमा स्थापित गराउन सक्छ । तर, त्यो बाटो भने निकै जटिल छ । एमालेभित्र अझै पनि भण्डारीप्रति सहानुभूति छ । यस्तो अवस्थामा, उनले तत्काल पार्टीबाहिर नभई संगठित रूपमा आफ्ना समर्थकहरूलाई गोलबद्ध गर्दै एमालेभित्रै प्रभावशाली भूमिका खोज्ने रणनीति अपनाउन सक्छिन् ।
यो बाटो लामो, कठिन र अनिश्चित भएपनि भण्डारीले सशर्त वैकल्पिक भूमिका खोज्ने सम्भावना छ । अहिले एमाले भनेकै केपी ओली हुन् भन्ने मान्यता छ । यदि भण्डारीले ओलीलाई मनाउन सकिन् भने नेतृत्वमा पुग्ने सम्भावना कायमै छ । ओलीसँग प्रत्यक्ष टकराब नगरी विश्वासको वातावरण बनाएर भूमिका खोज्ने बाटो उनले अपनाउन सक्छिन् । भण्डारीसँग नयाँ राजनीतिक दल गठन गर्ने विकल्प पनि छ । एमालेभित्रको आन्तरिक द्वन्द्व, नेतृत्व हस्तान्तरणको चुनौती र वामपन्थी दलहरूको विखण्डनले नयाँ शक्तिको आवश्यकता देखिएको छ ।
नेपालमा कम्युनिष्ट आन्दोलन विभाजनका कारण कमजोर भएको छ । नेकपा (एकीकृत समाजवादी), माओवादी केन्द्र र अन्य साना वामपन्थी दलहरूको विखण्डनले कम्युनिष्ट शक्तिलाई एकजुट गर्ने माग बढ्दो छ । भण्डारीको नेतृत्वमा नयाँ शक्ति निर्माणले यी दलहरूलाई एकताबद्ध गर्न सक्छ । तर, जबजलाई मार्गदर्शक सिद्धान्त मानेको एमालेको वर्तमान अवस्थामा सोही विचारमा आधारित नयाँ दल गठन गर्नु वैचारिक र संगठनात्मक चुनौतीपूर्ण हुनेछ । नयाँ दल गठन नगरी भण्डारीले वामपन्थी दलहरूको गठबन्धनलाई नेतृत्व गर्न सक्छिन् ।
यो गठबन्धनले आगामी निर्वाचनमा बलियो शक्तिको रूपमा उभिन सक्छ । उनको पहिलो लक्ष्य वामपन्थी दलहरूबीच एकता कायम गरी जबजको प्रयोगबाट समाजवादको बाटो तय गर्नु हुनेछ । उनले आफूलाई कुनै खास पार्टीलाई समर्पित नभई समग्र वाम आन्दोलनलाई वैचारिक रूपमा सशक्त बनाउने स्वतन्त्र शक्तिको रूपमा उभिन सक्छिन् । यदि उनी सफल भइन् भने नेपालको कम्युनिष्ट आन्दोलनले नयाँ दिशा पाउनेछ । यद्यपि, यो बाटो जटिलताले भरिएको छ । सक्रिय दलगत राजनीतिमा नफर्की भण्डारीले मदन भण्डारी फाउण्डेशनमार्फत सामाजिक र वैचारिक नेतृत्व प्रदान गर्न सक्छिन् ।
यो बाटोले उनलाई राजनीतिक मर्यादालाई कायम राख्दै प्रभावशाली भूमिका निर्वाह गर्ने अवसर दिनेछ । नेपालका छिमेकी मुलुकहरू विशेषगरी चीन र भारतको भूराजनीतिक चासोले पनि भण्डारीको सम्भावित नेतृत्वलाई प्रभाव पार्न सक्छ । यी मुलुकहरूको रुचि र समर्थनले उनको भावी कदमलाई थप जटिल बनाउन सक्छ । भण्डारीले अब कानुनी लडाइँ, वैकल्पिक राजनीतिक मञ्च, गैरराजनीतिक भूमिका वा एमालेभित्रै दबाब बढाउने कुन बाटो रोज्छिन् ? त्यसले उनको भविष्य निर्धारण गर्नेछ । यो घटनाक्रमले नेपालको राजनीतिक परिदृश्यमा ठूलो प्रभाव पार्ने निश्चित छ ।
सत्यपाटी