आख्यानकार कल्पना खरेलद्वारा लिखित भृकुटीतारा उपन्यास पढ्ने अवसर प्राप्त भयो । मझौला आकारको यो पुस्तक पढी सकिदा यो त उपन्यास मात्र नभएर ऐतिहासिक दस्तावेज नै हो कि भन्ने महशुस भयो । प्रस्तुत उपन्यासले इतिहासका पानाहरुमा कमै मात्र लेखिएका र सुनिएका लिच्छविकालीन (सातौँ शताब्दी) राजकुमारी भृकुटी र तिब्बतका सम्राट स्रोङचोम गम्पोबिचको विवाहको नालीबेली मात्र नभएर त्यति बेलाका नेपालका राजा अंशुवर्माले आफ्ना जनताहरुलाई रामराज्यको झल्को दिने गरी निभाएको भूमिका र उनको शेषपछि नेपाली दरबारमा चलेको कुटनीति दाउपेच आफ्नै आँखा अगाडि फिल्मको पर्दामा जस्तै छर्लङ्ग देखाउन सफल भएको छ ।
त्यसैगरि भृकुटीले विवाहअघि कैलाशकुट दरबार र विवाह पश्चात् तिब्बतको पोटला दरबारमा राज्यको समृद्धि र सुरक्षा र विकासको निम्ति महारानीको रुपमा निभाएको भूमिका बडो रोचक ढंगले पस्किएको छ । प्रस्तुत उपन्यास कुनै लहडको भरमा नभै राजा स्रोङचोङ गम्पो आफैंले लेखिएको भनिएको पुस्तक मणि काबुल भोलुम ‘क’को धरातलबाट तयार गरिएकाले यो यथार्थपरक छ भन्न सकिन्छ । तिब्बती राजा स्रोङ्चङ गम्पो र मन्त्री तोङ्त्सेन तथा साम्भोटाले नेपालप्रति देखाएको हार्दिकता हेर्दा त्यतिबेला नेपाल र तिब्बतबीचको कुटनैतिक सम्बन्ध बुझ्न सकिन्छ ।
दरबारका भारदार बाबुराम पाडेलले नेपालको पशुपतिनाथ, स्वयम्भूनाथ, मुक्तिनाथ, साँखु जस्ता ठाउँको बारेमा गरेको ऐतिहासिक वर्णनले उपन्यास कुनै ऐतिहासिक दस्तावेजभन्दा कम छैन भन्ने पुष्टि गरेको छ भने झन् त्यससँग जोडिएका प्रकृतिको मनमोहक दृश्यको वर्णनले मन नै आनन्दित तुल्याउँछ । चरित्रप्रधान शैलीमा लेखिएको यस उपन्यासले त्यतिबेलाको कला, संस्कृति, भाषा आदिको अवस्था देखाउने कुरामा समेत न्याय गरेको देखिन्छ । इतिहासमा रुचि राख्नेहरुका निम्ति समेत यो पुस्तक कोशेढुङा बन्न सक्छ । यस प्रकारको अध्ययन अनुसन्धानका निम्ति लेखकलाई साधुवाद नदिइरहन सकिएन । आगामी दिनमा अझ निखारता आउँदै जाओस्, लेखिका कल्पना खरेललाई सफलताको शुभकामना ।
सत्यपाटी