पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई एमालेको राजनीतिमा रोक्न महासचिव शंकर पोखरेल निरन्तर एकपछि अर्को षडयन्त्र गर्दै आएका छन् । पार्टीमा १० वर्षपछि फर्किएर नेतृत्व लिन खोजेकी पूर्वराष्ट्रपति भण्डारीको पक्षमा माहोल बन्दै गएपछि महासचिव पोखरेल टिम बनाएरै विद्यालाई रोक्न क्रियाशील भएका छन् ।
एमालेको सचिवालयमा रहेका बहुमत सदस्यहरू भित्रभित्रै विद्याको पक्षमा रहेको जानकारी पाएका महासचिव पोखरेलले पार्टी अध्यक्ष केपी शर्मा ओलीपछि वरियताक्रममा रहेका उपाध्यक्षहरूलाई कुनै पनि कार्यक्रममा नपठाउने र जनवर्गीय संगठन तथा केन्द्रीय विभागहरूको भेला राखेर आफैले सम्बोधन गर्दै नेतृत्वको विषयमा छलफल नगर्न निर्देशन दिँदै आएका छन् ।
स्रोतका अनुसार सेनाका परमाधिपति भैसकेको व्यक्तिलाई पुनः पार्टी राजनीतिमा फर्किन नदिन विद्याविरुद्व सर्वोच्च अदालतमा मुद्दा दायर गर्ने सोच पनि विद्या विरोधी गुटले बनाइरहेको छ । पार्टी सचिवालय सदस्यहरू मध्ये वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल भण्डारीको पक्षमा प्रष्टसँग खुलिसकेका छन् । अन्य सदस्यहरू विष्णु पौडेल, युवराज्ञ ज्ञवाली, अष्टलक्ष्मी शाक्य, सुरेन्द्र पाण्डेले मुख खोलेका छैनन् ।
माओवादीबाट आएका उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ र लेखराज भट्ट यसैपनि मौन रहने भएकाले उनीहरू ओलीले जे भन्छन् त्यतै लाग्ने निश्चित छ । उपमहासचिव पृथ्वी सुब्बा गुरूङले पनि मुख खोलेका छैनन् । सचिवहरू गोकर्ण विष्ट र योगेश भट्टराईको पनि प्रष्ट धारणा छैन । रघुवीर महासेठले बेलाबखत आफ्ना धारणा ल्याए पनि योगेश भट्टराई जस्तै मझधारमा उभिएका छन् ।
विद्याविरुद्व गुटमा को–को छन् ?
विद्या भण्डारीले भने आफ्ना पति मदन भण्डारीको नाममा खुलेको फाउन्डेसनमार्फत् राजनीतिक गतिविधिलाई देशव्यापी लैजाने तयारीमा लागिरहेका बेला महासचिव शंकर पोखरेलले पार्टी कार्यालयमा बसेर आफ्नो ‘कोर टिम’ बनाएर प्रतिरक्षामा उत्रिएका छन् ।
उपमहासचिव प्रदीप ज्ञवाली, विष्णु रिमाल, सचिव पद्य अर्याल, अनुशासन आयोगका अध्यक्ष केशव बडाल, संगठन विभाग प्रमुख काशीनाथ अधिकारी, संगठन विभागका सचिव माधव ढुंगेल, स्थायी कमिटी सदस्य खगराज अधिकारी, भानुभक्त ढकाल, राजन भट्टराई, कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्की, प्रचार विभागका प्रमुख राजेन्द्र गौतम, प्यूठानका सांसद सूर्य थापा, दोलखाका नेता पार्वत गुरुङसहितको ‘कोर टिम’ बनाएर पूर्वराष्ट्रपति भण्डारीलाई जसरी पनि छेक्न लागिपरेका छन् ।
स्थायी समिति सदस्य भानुभक्त ढकालले विद्याप्रति लाग्नेहरू ‘नोटिस’मा रहेको बताएपछि कार्यकर्ताको तारो बनेका छन् । जनाधार नभएकाहरूको चेतावनी भन्दै उनलाई सामाजिक सञ्जालमा धेरैले उठाएका छन् । कार्यकर्ताहरूले हैसियत जाँच्नसमेत उनलाई चुनौती दिइरहेका छन् ।
राष्ट्रपतिको कार्यकाल सकिएको दुई वर्ष पुगेपछि भण्डारीले राजनीतिक सक्रियता देखाएकी हुन् । दुई कार्यकाल देशको राष्ट्रपतिको भूमिकामा बसेर २८ फागुन २०७९ मा उनी उक्त भूमिकाबाट टाढा भएकी थिइन् । बिस्तारै बोल्ने, चाहिएको मात्र, कम बोल्ने स्वभावकी भण्डारी राष्ट्रपति हुनुपूर्व एमालेको उपाध्यक्ष थिइन् ।
महासचिवको षड्यन्त्र
२८ फागुन २०७९ मा उनको कार्यकाल सकियो । भोलिपल्ट उनी शीतल निवासबाट बाहिरिइन् । त्यसको तीन महिनापछि वैशाख १ गते भण्डारीले एमालेको पार्टी सदस्यता पुनः नवीकरण गरेकी थिइन । यो नै उनको पार्टी राजनीतिको नवीकरणीय बिन्दु बनेको थियो । यतिन्जेल चुपचाप बसेका महासचिव पोखरलले यही असार ११ गते बसेको सचिवालय बैठकमा सिधै भण्डारीलाई रोक्नकै लागि पार्टी विधानमा व्यवस्था गर्नुपर्ने प्रस्ताव राखेका थिए ।
त्यसयता भण्डारीलाई रोक्नका लागि निरन्तर रूपमा क्रियाशील रहेका छन् । पार्टीका बैठकहरू, भेलामा मात्र होइन विभिन्न सञ्चारमाध्यममा अन्तर्वार्ता दिएर पनि भण्डारीलाई रोक्न पोखरेल सक्रिय छन् । एमाले अध्यक्ष ओलीको पार्टीभित्र विकल्पको खोजी भइरहेको बेला पूर्वराष्ट्रपति भण्डारीले नेतृत्व गर्दा सर्वस्वीकार्य हुने एमाले नेता कार्यकर्ताहरूको धारणा छ । भण्डारीलाई अध्यक्ष बनाउनका लागि काठमाडौँसहित बाहिरी जिल्लामा उनको पक्षमा माहोल बनाउन नेताहरू लागिसकेका छन् । अहिले विद्याको कुनै जिम्मेवारी छैन ।
महासचिव पोखरेलले आगामी विधान महाधिवेशनमा उमेर हद हटाउने प्रस्ताव लैजाने बताएर भण्डारीलाई रोक्ने प्रयासको पुष्टि गरेका छन् । विधान महाधिवेशनको मिति तोकिएपछि उमेरहद नराख्ने गरी बहस सुरु गराएका छन् । नेतृत्वको जामलाई हटाउने र समयानुकूल बनाउने गरी एमालेले यसअघि ल्याएको ७० वर्षे उमेरहदलाई हटाउने गरी छलफल शुरु गर्नुको मूल उद्देश्य नै विद्यालाई रोक्नु रहेको छ ।
एमालेले राजनीतिमा उमेरहद निर्धारणलाई महत्व दिँदै आएको थियो । तर, पूर्वराष्ट्रपति भण्डारी एमाले राजनीतिमा सक्रिय हुने घोषणासँगै उमेरहद नलाग्ने प्रस्ताव अघि सारेर जसरी पनि रोक्न कस्सिएका महासचिव यतिमा मात्र रोकिएका छैनन् । महासचिव पोखरेल मुलुकको सर्वोच्च पदमा पुगेका वा राष्ट्रपति, उपराष्ट्रपति भैसकेका व्यक्तिलाई पार्टी राजनीतिमा रोक लगाउने गरी विधान महाधिवेशनमा प्रस्ताव लैजाने पनि तयारी गरेका छन् ।
‘महासचिव शंकर पोखरेलले विधान महााधिवेशनमा उमेर हद हटाउने मात्र होइन, राष्ट्रपति–उपराष्ट्रपति भैसकेका व्यक्तिलाई पार्टी राजनीतिमा सक्रिय हुन नपाउने गरी संशोधन प्रस्ताव लैजाने तयारी गर्नुभएको छ,’ एमालेका एक पदाधिकारीले भने । ती पदाधिकारीका अनुसार महासचिव पोखरेल यतिमा मात्र रोकिने अवस्था छैन । विधान महाधिवेशनमा ७० वर्षे उमेर हद कायम रहे वा दुई कार्यकाल मात्र अध्यक्ष बन्न पाउने व्यवस्था कायम रहे उनको ध्यान अर्ली महाधिवेनमा केन्द्रित हुनेछ ।
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन आगामी २०८३ को मंसिरमा हुनु पर्ने हो । तर एक वर्षअघि नै आगामी मंसिर वा फागुनसम्ममा महाधिवेशन गरेर अर्को कार्यकालका लागि अध्यक्ष बन्ने ओलीको चाहानालाई साथ दिन महासचिव पोखरेल लागिपरेका छन् । ओलीपछि एमालेको नेतृत्वमा आफ्नो स्थान कसरी सुरक्षित बनाउने भन्नेमा पोखरेलको ध्यान केन्द्रित देखिन्छ ।
भिडेरै छाड्ने मुडमा विद्या
पूर्वराष्ट्रपति विद्याको ध्यान भने विधान महाधिवेशनमा केन्द्रित भइसकेको छ । अघिल्लो पटक विधानमा उल्लेख भएका विषयलाई कसरी कायम गर्ने र पार्टीलाई नीति, विधि र थितिमा हिँडाउने भन्नेमा भण्डारीको ध्यान केन्द्रित छ । आठौँ महाधिवेशनले स्थापित गरेको ७० वर्षे उमेरहद गत वर्ष बसेको सचिवायल बैठकले हटाइदिएको थियो । एमाले विधानमा सचिवालयको बैठकले विधानमा छेडखानी गर्न पाउने भन्ने कतै पनि उल्लेख छैन ।
तर, २०८० साल जेठ १९ गते बसेको सचिवालय बैठकले ७० वर्षे उमेरहदको सम्बन्धमा ‘पार्टी विधानमा रहेको ७० वर्षको उमेरको हद हाललाई निलम्बन गर्ने’ भन्ने निर्णय ग¥यो । अहिले पार्टीभित्र उठेको बहस नै यही हो । यद्यपि, प्रथम विधान महाधिवेशनले ७० वर्षे उमेरको हदलाई निरन्तरता दिए पनि १०औँ महाधिवेशनले व्यक्ति विशेषलाई केन्द्रमा राखी त्यसको व्याख्या गरेको थियो ।
तर, सचिवालय बैठकले व्यक्ति विशेषलाई नै केन्द्रमा राखेर उक्त प्रावधान पूर्णरूपमा स्थगन गरिदियो । यद्यपि, यो विषय अबको विधान महाधिवेशनमा छलफलको विषय बन्ने निश्चित भएपछि महासचिव पोखरेल उमेरहद हटाउनेमा केन्द्रित भएका हुन् । उता पूर्वराष्ट्रपति भण्डारी भने महासचिव पोखरेलमात्र होइन पार्टी अध्यक्ष केपी ओली नै भिड्न आएपनि नछाड्ने मनस्थितिमा अघि बढिसकेकी छन् ।
आफूलाई रोक्न ओली पक्षले चाल्ने जुनसुकै कदमलाई पनि निस्तेज पार्ने तयारी भण्डारीको छ । त्यसका लागि उनले समूह बनाइसकेकी छिन् । जसले सांगठनिक र जिल्ला दौडाहाको कार्यक्रम बनाइरहेको छ । ‘अबको रणनीति भनेको महासचिव शंकर पोखरेललाई होइन केपी ओलीलाई नै अभिभावकीय जिम्मेवारी र भूमिका दिएर महाधिवेशनबाट कार्यकारी अध्यक्षको जिम्मेवारी विद्या भण्डारीले लिने गरी कोर्स अघि बढिसकेको छ,’ भण्डारीनिकट एक पदाधिकारीले भने, ‘निर्णायक धक्का दिने हो ।’
सत्यपाटी