झन्डै चार वर्षअघि नेकपा एमालेबाट विद्रोह गरेर नयाँ यात्रा सुरु गरेका माधव नेपाल एकपछि अर्को संकटले घेरिएर थिचिएपछि गल्दै गएका छन् । जीवनको उत्तरार्धमा नेकपा एकीकृत समाजवादीमार्फत फरक बाटो हिँडेका उनी यात्रा क्रमशः कठिन हुँदै गएपछि ‘पार्टी एकता’को पक्षमा उभिएका छन् ।
पूर्वप्रधानमन्त्रीसमेत रहेका नेता नेपाल र एकीकृत समाजवादीमाथि अप्ठ्यारो परिस्थिति आइलागेको छ । पार्टी गठन लगत्तैदेखि नेता–कार्यकर्ता पलायनको क्रम, आन्तरिक किचलो, राजनीतिक शत्रुहरू निशानामा पर्नाले संकटोन्मुख रहेको एकीकृत समाजवादीमा अहिले अध्यक्ष नेपालमाथि नै भ्रष्टाचार मुद्दा अर्को संकटका रूपमा थपिएको छ । यसले अस्तित्व रक्षाका लागि संघर्षरत पार्टीको भविष्य झन् अन्योलग्रस्त बनेको विश्लेषण भइरहेका छन् ।
अध्यक्ष नेपाल पतञ्जलि जग्गा हिनामिना प्रकरणमा निर्दोष छन् भन्न नमिल्ने विशेष अदालतको ठहर गरिसकेको छ । सांसद पद गुमाइसकेका नेपालले अहिले नेतृत्व नै छोड्नुपर्नेसम्मको दबाब पार्टीभित्रै झेलिरहेका छन् । १४ असारमा पार्टीनिकट युवा संघको कार्यक्रममा नेतृ रामकुमारी झाँक्रीले अध्यक्ष नेपाललाई ‘मरेको सिनो’सँग तुलना गर्दै समयपूर्व महाधिवेशनमार्फत नेतृत्व परिवर्तन गर्नुपर्ने बताएकी थिइन् ।
‘म त भन्छु अर्लि महाधिवेशन गरौँ । कानुनी र संवैधानिक हिसाबले अध्यक्षमाथि समस्या आयो । कैयौँ पार्टी सदस्यहरूमा पनि समस्या आएकै छ । अब काँधमाथि मरेको सिनो हालेर हिँड्न सकिँदैन ।’ महाधिवेशनमा उपाध्यक्षका लागि प्रतिस्पर्धा गरेकी झाँक्री पराजित भएकी थिइन् । आफूलाई षड्यन्त्रपूर्वक हराइएको भन्दै त्यसयता उनी नेतृत्व पंक्तिसँग रुष्ट छिन् । बाहिर मुख नखोले पनि महाधिवेशनमा पराजित अन्य नेताहरू पनि नेतृत्वसँग सन्तुष्ट छैनन् ।
यसरी पार्टीभित्रै दबाबमा रहेका अध्यक्ष नेपाल अहिले विचार मिल्ने अन्य दलसँग एकता गर्ने पक्षमा देखिएका हुन् । बिहीबारको सचिवालय बैठकमा उनले विचार मिल्नेसँग एकता गरेर जाने ब्रिफिङ गरेका हुन् । तत्काल एकता सम्भव नभए कार्यगत एकता भए पनि गर्नुपर्नेमा उनको जोड थियो । ‘अब हामी कम्युनिष्ट आन्दोलनलाई नयाँ शिराबाट अगाडि बढाउनुपर्छ । हामी कम्युनिष्ट एकताको पक्षमा छौँ । त्यसैले विचार मिल्नेसँग एकता गरेर जान्छौँ,’ उनले भने, ‘नभए कार्यगत एकता र सहकार्य पनि गर्न सकिन्छ ।’
त्यसो त माओवादी केन्द्रसँग पहिला नै एकता प्रक्रिया अघि बढेर पनि रोकिएको थियो । एकीकृत समाजवादीका नेताहरूका अनुसार माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रयोग मात्र गर्ने बुझाइपछि नेता नेपाल एकता गर्ने निर्णयबाट पछि हटेका थिए । अहिले फेरि एकताको पक्षमा उभिनुलाई संकटबाट मोचन पाउने रणनीतिमा नेपाल देखिन्छन् । राजनीतिक विश्लेषक सुरेन्द्र लाभ नेता नेपालले माओवादीसँगकै एकताको कुरा गरेको र त्यो स्वाभाविक पनि ठान्छन् । तत्कालीन नेकपा कालदेखि नै प्रचण्ड–नेपाल निकट रहेका र आफूमाथि संकट आइलाग्दा कुनै न कुनै किसिमको साथ एकतामार्फत नेपालले खोजेको बुझाइ लाभको छ ।
‘माधव नेपाल र प्रचण्डबीचको निकटता एकीकृत समाजवादी नबन्दै देखिको हो । पछि पार्टी बनेपछि पनि निरन्तर उहाँहरूबीचको त्यो निकटता रहँदै आयो । पार्टी एकता नभए पनि कार्यगत एकता थियो र छ पनि,’ उनले भने, ‘अहिले झन् टड्कारो रूपमा किन उठाउनुभयो भन्ने लाग्छ भने पार्टीमा संकट आयो यसलाई टार्न पनि होला कतै न कतै । किन भने हामीले अल्पसंख्याको आवाज बहुमतले नसुन्ने डेमोक्रेसीको अभ्यास गरिरहेका छौँ । यस्तो अवस्थामा स्वाभाविक ूपमा शक्ति आर्जन गर्ने मनसाय होला । रणनीति होला ।’
तर एकीकृत समाजवादीका उपाध्यक्ष एवं प्रवक्ता प्रकाश ज्वाला भने विचार मिल्नेहरूसँगको एकता पहिलादेखिकै नीति भएको बताउँछन् । राष्ट्र र जनताको उत्थान तथा समाजवादको यात्रा तय गर्नका लागि यो पूर्वनिर्धारित नीति भएको उनको तर्क छ । ‘एकताको विषय पूर्वनिर्धारित नीति हो । एकताको विरुद्धमा हामी कहिल्यै छैनौं,’ उनी भन्छन्, ‘वामपन्थी, समाजवादी प्रगतिशील शक्तिहरू एकताबद्ध हुनुपर्छ । राष्ट्र र जनताको उत्थानका लागि, समाजवादको तयारीका लागि अघि बढ्न पनि वामपन्थीहरू, समाजवादी शक्तिहरू एक हुनुपर्छ भन्ने मान्यता पहिल्यैदेखिको हो ।’
यद्यपि अहिले कुनै पनि दलसँग ठोस छलफल भने नभएको नेता ज्वाला बताउँछन् । परिस्थितिअनुसार विचार मिल्ने दलहरूसँग अब छलफल अघि बढ्ने उनको भनाइ छ । ‘अहिले ठोस रूपमा फलानोसँग भनेर छलफल अघि बढेको छैन,’ एमालेसँग पनि हुन सक्छ भन्ने प्रश्नमा उनले भने, ‘परिस्थितिमा भर पर्छ । परिस्थिति कसरी विकास हुन्छ‚ त्यसमा भर पर्छ ।’ नेता ज्वालाले ‘परिस्थितिको विकास’ भनेर एमालेको भावी नेतृत्वमा को आउँछ भन्नेतर्फ संकेत गरेका हुन् । एमाले नेतृत्वमा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी आएको अवस्थामा नेपालका सबै वापमन्थीहरू एक ठाउँमा आउने विश्लेषण हुँदै आएको छ ।
उत्तरी छिमेकी चीनको चाहना पनि नेपालका कम्युनिष्टहरूलाई एक ठाउँ आऊन् भन्नेमै छ । गत जेठ दोस्रो साता भण्डारीले गरेको भ्रमणका क्रममा पनि चीनले सोही चाहना व्यक्त गरेको बताइन्छ । त्यसपछिका घटनाक्रमले पनि यसलाई पुष्टि गर्दै लगेको छ । पूर्वराष्ट्रपति भण्डारी एमालेको सक्रिय राजनीतिमा फर्किसकेकी छन् । उनले पदीय आकांक्षा केही नभएको बताए पनि एमाले पंक्ति प्रष्टै देखिने गरी पक्ष र र विपक्षमा विभाजित छ । यसले पनि एमालेको भावी नेतृत्वको प्रतिस्पर्धामा भण्डारी उत्रिने निश्चितप्रायः छ ।
सत्यपाटी संवाददाता । काठमाडौं