पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको पुनरागमनपछि नेकपा एमालेमा दुई लाइन संघर्ष चर्किने स्पष्ट संकेत देखिएको छ । प्रधानमन्त्री एवं वर्तमान अध्यक्ष केपी शर्मा ओली नै भावी नेतृत्वका लागि पनि निर्विकल्प जस्तै रहेका वेला पूर्व उपाध्यक्षसमेत रहेकी भण्डारी पार्टीमा फर्किएपछि शक्ति संघर्ष चर्किने अवस्था बनेको हो ।
एमाले विधान अधिवेशनको सँघारमा सक्रिय राजनीतिमा फर्किएको घोषणा गरेकी पूर्वराष्ट्रपति भण्डारीलाई भावी नेतृत्वको बलियो उम्मेदवारका रूपमा हेरिएको छ । यसबारे नेताहरूले आफ्नो मत प्रकट गर्न शुरु गरेका छन् भने पक्षधरताबारे खुल्नसमेत थालेका छन् । खासगरी अध्यक्ष ओलीको चेपुवामा परेका नेताहरू पूर्वराष्ट्रपति भण्डारीलाई एमालेका भावी नेतृत्वमा देख्न चाहन्छन् । पार्टीमा फर्काउन शुरुदेखि नै सक्रिय रहेका उनीहरू अब भने खुलेरै बोल्न थालेका छन् ।
कारबाहीमा पर्ने भयले उनीहरू खुलेर बोल्ने गरेका भने थिएनन् तर शनिबार मदन भण्डारी जयन्तीको अवसर पारेर भण्डारीले सदस्यता नवीकरण गरेर एमालेमा फर्किएको घोषणा गरेपछि भने भावी नेतृत्व परिवर्तनको पक्षमा खुल्न थालेका हुन् । एमाले स्थायी कमिटी सदस्य कर्ण थापा एमालेका भावी अध्यक्षको लागि हरेक हिसाबले उपयुक्त पात्र पूर्वराष्ट्रपति भण्डारी नै भएको बताउँछन् । एमालेको आन्तरिक समस्या पनि उनले मात्रै समाधान गर्न सक्ने उनको बुझाइ छ ।
‘हामीले पार्टी विधानमै के व्यवस्था गर्यौँ भने एउटा ७० वर्षे उमेरहद र अर्को कुनै पनि एउटा पदमा दुई कार्यकाल मात्रै रहने पाउने,’ उनी भन्छन्, ‘यो व्यवस्थालाई हेर्दा एमालेको प्रमुख नेता बन्नका निम्ति उहाँ (विद्या भण्डारी)को सम्पूर्ण मापदण्ड पूरा भएको छ । चाहे त्यो योगदानले होस्, वैचारिक स्पष्टताले होस् वा योग्यता क्षमताले होस् । एमालेको आन्तरिक जीवनमा जुन समस्या भोगिरहेका छौं, त्यसलाई समाधान पनि दिन सक्ने भएकाले उहाँ एउटा प्रमुख नेतृत्व गर्न सक्ने व्यक्ति हो भन्नेमा कुनै सन्देह छैन ।’
वर्तमान नेतृत्व सामूहिक हुन नसकेको बुझाइ नेता थापाको छ । जिम्मेवारी व्यक्तिको भए पनि नेतृत्व सामूहिक हुन सक्नुपर्ने र त्यसका लागि अगुवाइ गर्ने क्षमता भण्डारीले राख्ने उनी बताउँछन् । ‘पार्टी प्रणाली, कमिटी प्रणालीलाई बलियो बनाउन हामीले स्थापित गरेको सामूहिक नेतृत्वको प्रणालीमा त्रुटि भएका छन् । पार्टीमा अनेक किसिमका आन्तरिक समस्या र जटिलता हुन्छन्, जसलाई हामीले राम्रोसँग अनुभूत गरेका छौं । जिम्मेवारी व्यक्ति हुन्छ तर नेतृत्व सामूहिक हुन आवश्यक छ’, थापा भन्छन्, ‘यो कुरा उहाँ (भण्डारी)बाट सम्भव छ । यसको अगुवाइ उहाँले गर्नुहुन्छ । पार्टी पंक्तिको भावनालाई बुझेर अघि बढ्ने क्षमता राख्नुहुन्छ ।’
एमाले उपाध्यक्ष युवराज ज्ञवाली सक्रिय राजनीतिमा फर्किने पूर्वराष्ट्रपति भण्डारीको कदमको समर्थन गर्छन् । तथापि उनले भावी नेतृत्वका सन्दर्भमा भने मुख खोलेनन् । ‘राष्ट्रपति भए पनि पार्टीको माया हुन्छ, आस्था हुन्छ । फेरि पार्टीको उपाध्यक्ष भइसकेको मान्छे, उमेर छ अझै, बाँकी समय पार्टीलाई दिन्छु भन्दा मिल्दैन–मिल्दैन । राष्ट्रपति भइसकेको मान्छे मूर्ति भएर बस्नुपर्छ भन्न मिल्दैन । त्यो तहमा पुगेको व्यक्ति, राष्ट्रिय अन्ताराष्ट्रिय रूपमा परिचित, महिला सक्रिय भएर काम गर्दा त एमालेलाई त फाइदा नै भयो नि !’, उनले भने, ‘भावी नेतृत्व के कसो भन्नेमा चाहिँ वेला आएपछि बोल्नुपर्ने हुन्छ ।’
नेता ज्ञवालीले पक्षधरताबारे मुख नखोले पनि उनले भण्डारीलाई समर्थन गर्ने निश्चितप्रायः छ । किनभने एमालेमा ‘दश भाइ’को ट्याग पाएका मध्येकाहरू बाहिर नबोले पनि वर्तमान अध्यक्ष ओलीको कार्यशैली र व्यवहारप्रति सन्तुष्ट छैनन् । त्यसो त ओलीनिकट मानिएकै कतिपय नेतासमेत पूर्वराष्ट्रपति भण्डारीको पक्षमा खुलेरै लागेका छन् । शनिबार नै वृक्षरोपण कार्यक्रममा ओलीले स्वार्थीहरूलाई मात्र महाधिवेशन लागेको भन्दै त्यसको हिसाबकिताब खोज्ने चेतावनी दिएका थिए ।
शनिबार भण्डारीले सक्रिय राजनीतिमा फर्किएको घोषणा गरेकै मञ्चबाट एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले त्यसको जवाफ पनि फर्काए । ‘अहिले एमालेभित्र यही(विधान अधिवेशन र महाधिवेशन) विषयमा अलिअलि छलफल चल्न खोज्या हो । बेलाको कुरा बेलामा चल्छ नि त । विधान महाधिवेशन भदौ २० देखि २२ मा छ । महाधिवेशन आउँदै छ अनि सचेत नेता कार्यकर्ता त सलबलाउँछन् नि ! कुरा गर्छन् । के गर्दा ठिक होला । यो गर्दा ठिक कि त्यो गर्दा ठिक,’ उनले भने, ‘खबरदार बोल्न पाउँदैनस् भन्न मिल्यो ? मिल्दैन ।’
वरिष्ठ उपाध्यक्ष पोखरेलले द्वन्द्व सर्वत्र हुने भन्दै पार्टीमा हुने द्वन्द्वलाई विधिसम्मत प्रकट हुन दिनुपर्ने बताए । अन्यथा निश्चित विन्दुमा पुगेपछि विस्फोट हुने चेतावनी उनले दिए । ‘द्वन्द्व सर्वत्र छ, प्रकृतिमा छ, मानव समाजमा छ, पोलिटिकल सिस्टममा, पार्टीहरूमा द्वन्द्व छ’, उनले भने, ‘जब द्वन्द्व छ भने जबजले भन्छ द्वन्द्वको सर्वव्यापकता हो भने त्यसलाई विधिसम्मत प्रकट हुन दिनुपर्छ‚ त्यसो हुन दिइएन भने विस्फोटको रूप लिन्छ, जसले क्षति पु¥याउँछ । यो त्यस्तो नहोस् भन्नका लागि द्वन्द्वलाई विधिसम्मत रूपमा प्रकट हुन दिनुपर्छ । पार्टीहरूभित्र द्वन्द्वले निकास पाएन भने विद्रोह हुन्छ, विग्रह पैदा हुन्छ ।’
विग्रह र विद्रोहमा नेतृत्वले अरूलाई दोष दिएर मात्रै नहुने पोखरेलको धारणा राखे । ‘विग्रह गर्ने विद्रोह गर्नेलाई मात्रै दोष दिएर हुँदैन । हाम्रो कार्यसम्पादन शैलीमा कहाँ त्रुटि छ भन्ने भन्ने कुरा ख्याल गर्नुपर्छ,’ उनले भने, ‘जान त गयो तर जानु पछाडिको कारण के हो भन्ने कुरा जिम्मेवारी तहमा रहेकाहरूले खोजी गर्नुपर्छ कि पर्दैन ?’ वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले ओलीको चाहनाविपरीत उमेरहद र दुई कार्यकाल मात्रै पदमा रहन पाउने व्यवस्थाको वकालत गर्दै आएका छन् । पोखरेलले विधानमा रहेको दुई कार्यकालमात्रै पदमा रहन पाउने र ७० वर्षे उमेरहद हटाउन नहुने आफ्नो अडान शनिबार पनि दोहोर्याए ।
त्यसलाई हटाइए पार्टी कमजोर हुने दाबीसमेत उनले गरे । ‘दशौँ महाधिवेशन र त्यसअघिको विधान अधिवेशनले छलफल गरेर पारित गरेका दस्तावेज हामीसँगै छन् । महाधिवेशनले पारित गरेको कार्यकाल, उमेरका पनि कुरा छन्, नियन्त्रण र सन्तुलनका कुरा पनि राख्यौं । त्यो राखेको भनेको कुनै झोमा राखेको थिएन, त्यो सुविचारित ढंगले लामो समयदेखि तीन दशकदेखिको बहसपछि राखिएको हो,’ उनले भने, ‘पार्टी जीवनको लोकतन्त्रीकरण, जबजको अविच्छिन्न अंग हो । त्यसलाई तलमाथ पार्न सकिँदैन । त्यसलाई तलमाथि पार्नु भनेको पार्टी कमजोर पार्नु हो ।’
लगातार दुई कार्यकाल अध्यक्ष बनेका ओली अहिले ७३ वर्षमा छन् । आगामी विधान अधिवेशनले यो व्यवस्था कायमै राखे उनी पुनः अध्यक्षमा उठ्न पाउँदैनन् । सोही कारण उनले अहिले उमेरहद र दुई कार्यकालवाला व्यवस्थाको विरोध गर्दै आएका छन् । कहिले २० वर्ष कसैले आशा नगर्नु भन्ने ओलीले जेठ अन्तिम साता अनेरास्ववियुको २४औं महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्ने क्रममा ७० वर्षे उमेरका कुरा फेल खाइसकेको बताएका थिए । चिनियाँ राष्ट्रपति सी चिनफिङको उदाहारण दिँदै उनले कार्यक्षमता मुख्य हुने बताएका थिए ।
‘७० वर्ष उमेरका कुरा आयो । ७० वर्षे उमेरहदको विषय फेल खाइसक्यो । अहिले म ७४ चल्दै छु, ७० मा रिटायर्ड हुने भन्ने कुरा फेल खाएन ? चार वर्ष घटाउन भएन क्यारे उमेर’, उनले भनेका थिए, ‘स्वास्थ्यले साथ दिन्छ दिँदैन, कार्यक्षमता हुन्छ कि हुँदैन मुख्य कुरा हो । चीनमा दुईपटक मात्रै अध्यक्ष हुन पाउने नियम बनाइएको थियो । सी चिङफिङको नेतृत्वको आवश्यकता देखेपछि चिनियाँ कम्युनिस्ट पार्टीले ६५ लगाउनुभएको, अहिले ७२ पुगिसक्नु भयो, सी ।’ तर इतरपक्षीय नेता कर्ण थापा उमेर हद लगायतका प्रावधान विधानमै रहेकाले यसलाई भाषणबाट परिवर्तन नहुने बताउँछन् ।
एमालेको विधानबाट ७० वर्षे उमेरहद र दुई कार्यकालवाला व्यवस्था हटेको छैन । निकै लामो छलफलबाट कम्युनिष्ट आन्दोलनमा देखा परेका समस्यालाई समाधान गर्न गरिएका प्रावधान हट्दैनन्,’ अध्यक्ष ओलीको भनाइलाई इंगित गर्दै उनले भने, ‘विधानका प्रावधान भाषणबाट परिवर्तन हुँदैनन् ।’ बीचमा पार्टी सचिवालयले ७० वर्षे उमेरहदको प्रावधानलाई निलम्बन गरे पनि त्यो तात्कालिक बाधाअड्काउ फुकाउ मात्रै भएको तर्क नेता थापाको छ । एउटा पदमा दुई कार्यकाल मात्रै रहन पाउने व्यवस्था, ७० वर्षे उमेर हद र कार्यशैलीलाई लिएर इतरपक्षीय नेताहरूले भावी नेतृत्व परिवर्तनको तर्क गरिरहँदा संस्थापन पक्षका नेताहरूले भने ओलीको विकल्प नभएको भन्दै प्रतिवाद थालेका छन् ।
ओली निकटका नेता विशाल भट्टराई एमालेको भावी अध्यक्ष ओली नै हुने बताउँछन् । उनी भन्छन्, ‘२०८४ को निर्वाचनमा केपी शर्मा ओलीको नेतृत्वमा अगाडि जाने भनेर राष्ट्रिय प्रतिनिधि परिषद् बैठकले निर्णय गरेको छ । त्यो निर्णय अनुसार ०८४ को निर्वाचन केपी शर्मा ओलीकै नेतृत्वमा हामी जान्छौं भनेको हुनाले ११औं महाधिवशेनमा सम्भवतः त्यो निर्णय कार्यान्वयन हुन सक्छ ।’ कानुनतः ०८४ निर्वाचनअघि नै एमालेको ११ औँ महाधिवेशन हुनुपर्छ । निर्वाचनलाई नै मद्देनजर गरेर अझ समयअगावै महाधिवेशन गर्नुपर्ने पक्षमा नेताहरू छन् । ओली निकटका अन्य नेताहरू विष्णु रिमाल, राजन भट्टराई, भानुभक्त ढकाल, आनन्द पोखरेल लगायतले विगतदेखि नै भावी अध्यक्ष पनि ओली नै भनेर वकालत गर्दै आएका छन् ।
एमाले प्रचार विभाग प्रमुख रहेका ओलीनिकट नेता राजेन्द्र गौतम पार्टी जे निर्णयमा पुग्छ, त्यसैमा आफ्नो मत हुने बताउँछन् । नेतृत्वको सवालमा नबोलेका उनले उमेरहद र दुई कार्यकाल सम्बन्धी वैधानिक व्यवस्थाबारे भने पार्टीको निर्णय नै आफ्नो हुने बताए । ‘महाधिवेशनको कुरा त दूरको कुरा छ । अहिले हामी विधान अधिवेशन नजिक छौँ । त्यसकारण नेतृत्वबारे चर्चा आवश्यक छैन’, उनले भने, ‘विधानको व्यवस्थाको सन्दर्भमा भने मेरो कुनै मत छैन । पार्टीमा जे निर्णय हुन्छ, त्यसमै मेरो मत हुन्छ ।’ एमाले दुई लाइन शक्ति संघर्ष चर्किने भएपछि ह्वीम जता मोडिन्छ, त्यतैतिर खुल्ने मनिस्थितिमा अधिकांश नेताहरू देखिन्छन् । ह्वीम अर्कैतिर मोडिए राजनीतिक भविष्य संकटमा पर्ने भयले उनीहरू समग्र परिस्थिति बुझेर निर्णय लिने तयारीमा छन् ।
सत्यपाटी