पछिल्ला वर्ष नागरिकमा जुन निराशा चुलिएको छ, त्यसको प्रमुख कारण हो, पुराना दलका वृद्ध नेता र तिनीहरूको अस्वस्थ राजनीतिक खेल । पटक–पटक पार्टी महाधिवेशन र आमनिर्वाचन भए पनि प्रमुख तीन दलका तीन नेताकै बीचमा घुमीफिरी मुलुकको नेतृत्व हात पर्ने र मतदाताको अपेक्षा बमोजिम कुनै पनि काम नहुने अवस्थाले नागरिकले विकल्प खोजिरहेका छन् ।
गत निर्वाचनमा सञ्चारकर्म छोडेर राजनीतिक दल खोलेका रवि लामिछानेले नागरिकको त्यही मनस्थितिको फाइदा उठाए । र, दल खोलेको ६ महिनामै उनले आफ्नो दल राष्ट्रीय स्वतन्त्र पार्टी (रास्वपा)लाई मुलुकको चौथो शक्तिका रूपमा स्थापित गरे । उनी उपप्रधान तथा गृहमन्त्रीसमेत भए । तर, उनको दल रास्वपा दलीय संगठनको रूपमा सबल नबन्दै राजनीतिक चलखेलमा फसेको छ ।
लामिछाने आफैं नागरिकता र पासपोर्टदेखि सहकारी ठगीसम्मका प्रकरणमा मुछिएका कारण अदालती प्रक्रियाको चक्कर काटिरहेका छन् । उनको दलभित्र पहिलो महाधिवेशन नहुँदै नेतृत्वका लागि हानाथाप शुरु भइसकेको छ । रुपन्देहीको सुप्रिम सहकारीको बचत रकम ठगी र संगठित अपराध सम्बन्धी मुद्दामा लामिछाने गत २५ चैतमा उच्च अदालत बुटवलको आदेशमा पुर्पक्षका लागि कारागार चलान भएका छन् ।
लामिछाने अहिले रुपन्देही जिल्ला कारागारमा छन् । पार्टीका सभापति र संसदीय दलको नेता रहेका लामिछाने जेल परेपछि पार्टी कामचलाउमा सीमित बनेको छ । लामिछाने नभएपछि रास्वपाका नियमित कामबाहेक संगठन विस्तार र सुदृढीकरण ठप्प छन् । पटक–पटक लामिछाने जेल पर्दा नागरिकमाझ रास्वपा पनि अन्य दलभन्दा फरक नरहेको पुष्टि हुन थालेको छ । लामिछाने जेलमा छन्, पार्टी उनकै निर्णय र निर्देशनमा चलिरहेको छ ।
उनको विकल्पमा रास्वपामा साधारण बहससमेत हुन सकेको छैन । रविले जेलबाटै पार्टी चलाइरहेको रास्वपाका एक केन्द्रीय नेता नै बताउँछन् । ती नेताका अनुसार पार्टीका नेता–कार्यकर्ताहरू अहिले झुण्ड नै बनाएर लामिछानेलाई रुपन्देहीबाट काठमाडौंको कुनै कारागारमा सरुवा गर्न प्रयासरत छन्, जुन सफल भइरहेको छैन । त्यसमाथि लामिछानेलाई सहयोग पुर्याउन उनीनिकट केन्द्रीय सदस्य दीपक बोहरा नेतृत्वको एउटा समूह रुपन्देहीमै कारागारनजिकै होटलमा कोठा लिएर बसेका छन् ।
उनीहरू दिनहुँ लामिछानेसँग सम्पर्कमा मात्रै छैनन्, मुलुकको राष्ट्रीय राजनीतिका विभिन्न विषयमा निर्णय लिँदा रविलाई अपडेट गराउनेदेखि उनको धारणालाई पार्टीभित्र सर्कुलर गर्ने कामसमेत गर्दै आएका छन् । त्यतिमात्रै होइन, लामिछाने जेल परेपछि पार्टीमा उनकी पत्नी निकिता पौडेलसमेत सक्रिय छिन् । लामिछानेको कानूनी लडाईं र त्यसमा पार्टीको भूमिकालाई जोडेर पत्नी पौडेल पनि सक्रिय रहेको नेताहरूको भनाइ छ ।
‘रवि दाइ जेल परेपछि भाउजुको सक्रियता छ । उता बुटवलमै दीपकजी नेतृत्वको टोली खटिएको छ,’ ती नेता भन्छन्, ‘हामी अहिले पनि आफैं निर्णय गर्न सक्ने अवस्थामा छैनौं । पार्टी सबै रविजीले जेलबाटै चलाइरहनुभएको छ ।’ त्यसो त, रास्वपाको अवधारणागत विकासदेखि संगठन र निर्वाचन परिणामसम्ममा पनि लामिछानेको नाम र प्रभावकै मुख्य भूमिका छ ।
तर, निर्वाचनपछिका दुई वर्षमा लामिछानेमाथि जे जस्ता आरोप लागे र उनको सामाजिक र राजनीतिक आचरणमा जुन धब्बा लाग्यो, त्यसले नयाँ खुलेको दलका हिसाबले नागरिकमा जागेको उक्त पार्टीप्रतिको आशा अहिले निराशामा परिणत हुन थालिसकेको छ । पार्टीभित्र यसबारे प्रश्नै नउठेको पनि होइन । तर, पार्टीले अहिले नै लामिछानेको विकल्प खोज्न सक्ने स्थिति नरहेको नेताहरू बताउँछन् ।
पार्टीको पदाधिकारी तहमा मात्रै होइन, केन्द्रीय समिति र साधारण सदस्यस्तरमा समेत लामिछानेकै दबदबा कायम छ । उनको विकल्प खोज्नुपर्ने बहस उठाउन चाहने नेताहरूले पनि अहिलेसम्म पार्टीभित्र त्यस्तो एजेन्डालाई भित्र्याउन नै सकेका छैनन् ।
रविपछिको नेता बन्न अर्याल, वाग्ले र श्रेष्ठको दौडधुप
रास्वपा अहिले कार्यवाहकको हातबाट चलेको छ । पार्टीको सभापति र दलको नेता रहेका लामिछाने जेल परेपछि उपसभापति रहेका डोलप्रसाद अर्याल कार्यवाहक सभापति बनेका छन् । लामिछाने सांसद पदबाट निलम्बनमा परेपछि दलको नेता पद रिक्त छ । उपनेता रहेका विराजभक्त श्रेष्ठले संसदीय दलमा नेतृत्व गरिरहेका छन् ।
अर्का उपसभापति स्वर्णिम वाग्ले पार्टीका यी दुवै भूमिकामा आफ्नो प्रभावकारी उपस्थिति देखाउने होडमा लागेका छन् । अहिले रास्वपामा अब रविपछिको नेता को बन्ने भनेर कार्यवाहक सभापति अर्याल, अर्का उपसभापति वाग्ले र दलको नेता रहेको श्रेष्ठबीच आन्तरिक रूपमा कडा प्रतिस्पर्धा छ । केन्द्रीय समितिको अहिलेको समीकरण भने सभापति लामिछानेले जे इशारा गर्यो, त्यही गर्ने अवस्थामा छ ।
पार्टीका तत्कालीन महासचिव मुकुल ढकाल कारवाहीमा परेपछि अहिले कविन्द्र बुर्लाकोटीलाई कार्यवाहक महासचिव तोकिएको छ । त्यस विषयमा पार्टीभित्र दर्जनौं नेताका आ–आफ्नै असन्तुष्टि र फरक मत छन् । नेतृ सुमना श्रेष्ठले पद मात्रै लिने तर काम गर्ने गरी भूमिका नपाउने स्थितिको अन्त्य हुनुपर्ने भन्दै विद्रोह गर्दै आएकी छन् ।
रास्वपा संसदको चौथो दल बनेर स्थापित भइसकेपछि कांग्रेस त्यागेर रास्वपामा आएका स्वर्णिम वाग्ले आफूलाई पार्टीमा रविपछिको नेताका रूपमा स्थापित गर्न अनेक प्रयास गर्दै आएका छन् । नेताहरूका अनुसार सभापति लामिछानेसँग उनले दोस्रो वरियतामा भूमिका मागेका थिए । तर, लामिछानेले आफ्नै गुटमा व्यवस्थापन गर्न नसक्दा वाग्लेलाई तेस्रो वरियतामा राखेका थिए ।
लामिछाने सांसदबाट निलम्बन भएपछि पनि उनले वाग्लेलाई दलको नेताको जिम्मेवारी दिने प्रयास गरेका थिए । तर, त्यो पनि अर्यालले रोकेका छन् । अहिले रास्वपाको दलको नेता पद रिक्त छ । लामिछानेले वाग्लेलाई कार्यवाहक तोक्ने प्रयास गरे पनि त्यो सफल भएन । ‘सभापतिजीले अर्याललाई संगठन र संसदीय दलमा वाग्लेलाई अगाडि बढाउन खोज्नुभएको थियो । तर, त्यो कुरामा सबैको स्वीकारोक्ति भएन,’ एक केन्द्रीय पदाधिकारी भन्छन् ।
पार्टीका प्रमुख सचेतक सन्तोष परियारको भनाइ भने फरक छ । पार्टीले विधान र सांगठनिक परम्पराबमोजिम निर्णय गर्दै जाने उनको दाबी छ । ‘दलको नेता निलम्बनमा हुँदा काम गर्न उपनेता हुनुहुन्छ । पार्टीले अर्को निर्णय नलिँदासम्म उपनेताले काम गरिरहनुभएको छ,’ उनी भन्छन् । संसदीय दलको काममा अहिले परियार आफैं पनि सक्रिय छन् ।
नेताहरूका अनुसार लामिछाने फर्किने अवस्था नभए कार्यवाहक सभापति अर्याल नै पार्टीको दलको नेता चयन हुनेछन् । त्यसका लागि आवश्यक संख्यासमेत उनकै पक्षमा छ । ‘दलको नेताको विषयमा यो वा त्यो भन्न सक्ने अवस्था छैन । अहिले डीपीजीलाई नै अगाडि सारेर जाने हो, त्यसो गर्दा सबैभन्दा सहज स्थिति हुन्छ,’ अर्का एक नेता भन्छन् । असार ०७९ मा दल घोषणा गरेका लामिछानेले लगत्तै निर्वाचन आयोगमा दल दर्ता गरेका थिए ।
त्यसपछि गत असोजमा भएको राष्ट्रीय भेलाले रास्वपाको पहिलो महाधिवेशनको मिति तोकेको थियो । तर, लगत्तै लामिछानेमाथि सहकारी ठगीको आरोप लागेपछि महाधिवेशन प्रभावित हुँदै आएको छ । यसअघि गएको वैशाखमा महाधिवेशन गर्ने घोषणा गरेको रास्वपाले अब आगामी फागुन ७, ८ र ९ मा चितवनमा राष्ट्रीय महाधिवेशन गर्ने घोषणा गरेको छ । त्यसका लागि आगामी असोजसम्ममा वडा, कात्तिकसम्ममा पालिका, मंसिरसम्ममा जिल्ला र १५ माघसम्ममा प्रदेश अधिवेशन सम्पन्न गरिसक्ने तयारी छ ।
उक्त पार्टीका अनुसार ७५३ मध्ये ४५८ वटा पालिकामा रास्वपा गठन भइसकेको छ भने ७० वटा जिल्लामा भेला आयोजना गरेर तदर्थ समिति गठन गरिएको छ । सातै प्रदेशमा पार्टी संरचना खडा भएर काम गरिरहेका छन् । पार्टीको सभापतिमाथि मुद्दा लागेको र महामन्त्रीले पनि पदत्याग गरेको स्थितिमा महाधिवेशनबाट पार्टीलाई गति दिनुपर्नेमा नेताहरूको जोड देखिन्छ । तर, सभापति लामिछानेमाथि लागेको मुद्दाका कारण महाधिवेशनका कामले पनि गति लिन सकेका छैनन् ।
नेताहरूका अनुसार लामिछाने आफैं दोस्रोपटक सभापति बन्न तयार छन् । पार्टी स्थापनाको रविको टिम पनि रविलाई नै एकपटक सभापति बनाएर पार्टीलाई अघि बढाउनुपर्ने पक्षमा देखिन्छ । तर, पार्टीमा पछि मिसिएका प्रभावशाली नेताहरू पनि अब रविमाथि मुद्दा लागेको र उनी जेल गएको अवस्थामा पार्टीमा नयाँ नेतृत्वसहितको अभ्यास गर्न ढिला गर्नु नहुने पक्षमा खुलिरहेका छन् । तर, त्यस्तो मत संगठित हुन सकेको छैन ।
स्रोतका अनुसार लामिछाने परिस्थिति अनुकुल भए आफैं सभापति बन्ने, उपसभापतिमा अर्याल र वाग्लेलाई नै दोहोर्याउने र महामन्त्रीमा नयाँ व्यक्तिलाई ल्याउने मनस्थितिमा छन् । तर, उनको त्यो चाहना त्यतिबेला पूरा हुन्छ, जब उनी अहिले उनीमाथि लागेका मुद्दाबाट बाहिर आउन सक्छन् । महामन्त्रीका लागि हाल कार्यवाहकको भूमिकामा रहेका कविन्द्र बुर्लाकोटी, प्रमुख सचेतक सन्तोष परियार, नेताहरू मनिष सुमन, शिशिर खनाललगायतको चाहना छ ।
‘यो वा त्यो पद भनेर अहिले कसैले भनेको छैन । बरु कसरी पार्टीलाई टिकाउने भन्ने कुरामा हामीलाई चिन्ता छ,’ लामिछानेनिकट एक नेता भन्छन्, ‘हामी महाधिवेशनको तयारीमा छौं । नेतृत्वको विषयमा महाधिवेशनले नै निर्णय गर्छ । त्यसअघि धेरै विवाद हुन्छ भन्ने लाग्दैन ।’ वाग्लेले भने लामिछानेमाथि मुद्दाहरू लागिरहेका बेला रास्वपामा आफ्नो पक्षमा माहोल बनाउन गृहकार्य गरिरहेका छन् । पार्टीभित्र रविसँग जोडिएका संस्थापकबाहेकको नेताहरूको समूहलाई आफूसँग जोडेर टिम बनाउने उनको प्रयास छ ।
हाल ५९ सदस्यीय रहेको केन्द्रीय समितिमा अधिकांश नेताहरू पछि जोडिएका छन् । लामिछानेमाथि अदालतले लिने निर्णयले महाधिवेशन कसरी अघि बढ्ने भन्ने निर्णय लिने अर्का एक नेता बताउँछन् । भन्छन्, ‘रविजी नै पार्टीको मुख्य आधार हो । उहाँको मुद्दामा अदालतले कसरी निर्णय लिन्छ ? त्यसैको आधारमा पार्टीलाई अघि बढाउनुपर्ने स्थिति छ ।’ हाल लामिछानेमाथि कास्की, चितवन, काठमाडौं र रुपन्देहीमा सहकारीको बचत अपचलन सम्बन्धी फरक–फरक मुद्दा चलिरहेका छन् ।
उनी सबै जिल्ला अदालतबाट धरौटी बुझाएर रिहा भएका थिए । पछिल्लोपटक रुपन्देहीको मुद्दामा उच्च अदालतले उनलाई पुर्पक्षका लागि कारागार पठाउने निर्णय गरेको थियो । रास्वपा गठन भएको यही असारमा तीन वर्ष पुग्दैछ । पार्टी खोलेको ६ महिनामै आमनिर्वाचनमा होमिएर रफ्तार पक्रेका लामिछानेले आफ्नो लोकप्रियताकै कारण संसद्मा पार्टीलाई २१ सिटसहितको चौथो दलका रूपमा उभ्याएका छन् । रास्वपाको शक्ति अभ्यासका विषयमा राजनीतिक विश्लेषकहरू पनि त्यो सबै लामिछानेको भूमिका केन्द्रित रहेको अनुमान लगाउँछन् ।
‘रास्वपा रवि लामिछानेको व्यक्तिगत क्रेजका कारण बनेको दल हो । यसको कुनै वैचारिक स्पष्टता र अडान छैन,’ राजनीतिक विश्लेषक तथा त्रिवि राजनीतिशास्त्रका उपप्राध्यापक मिलन श्रेष्ठ भन्छन्, ‘अहिलेकै अवस्थामा जे जस्तो भए पनि त्यो सबै लामिछानेकै निर्णयमा चल्ने देखिन्छ ।’ दलहरूभित्र नेतृत्वका लागि शक्ति अभ्यास हुनुलाई सामान्य रूपमा लिनुपर्ने उनी बताउँछन् । रास्वपाको हकमा भने अहिले नै लामिछानेलाई प्रतिस्थापित गरेर उनकै जत्तिको लोकप्रियतासहितको नेता बन्ने सम्भावना कसैमा नदेखिएको उनी बताउँछन् ।
सत्यपाटी संवाददाता । काठमाडौं