चार वर्षअघि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई ‘धोकाको अर्को नाम’ भनेर टिप्पणी गरेका थिए । तर, अहिले त्यो आरोप प्रचण्ड आफैंमा लागू भएको देखिन्छ । यसको पुष्टि भिजिट भिसा प्रकरणले गरिदिएको छ ।
गृहमन्त्री रमेश लेखक भिजिट भिसा प्रकरणमा मुछिएपछि माओवादी केन्द्रले उनको राजीनामा ‘बटमलाइन’ बनाएको थियो । लेखकमाथि प्रश्न उठेपछि कांग्रेस, एमाले, माओवादी केन्द्र र रास्वपाबीच तनाव चुलिएको थियो । कांग्रेस–एमाले एकतिर थिए भने माओवादी–रास्वपा अर्कोतिर थिए । तर, प्रचण्डको दोहोरो भूमिका र चरित्रले फेरि एक पटक सबैलाई आश्चर्यमा पारेको छ ।
पूर्वप्रधानमन्त्रीसमेत रहेका प्रचण्डले खुलेआम लेखकको राजीनामा नआएसम्म सदन नचल्ने अडान लिएका थिए । माओवादीले रास्वपासँगै उभिएर संसद् अवरुद्ध गर्दा यो मुद्दा गम्भीर मोडमा पुगेको थियो । तर, सहमतिको मस्यौदा तयार हुँदै गर्दा माओवादी केन्द्रले अचानक आफ्नो अडान फेर्यो । यसले रास्वपालाई धोका दिएको प्रतिक्रिया सर्वत्र व्यक्त भइरहेको छ ।
माओवादीको ‘ब्याक’
भिजिट भिसा प्रकरणमा संसद् खोल्नेबारे रास्वपाको सहभागिता विना नै माओवादीले सत्तारुढ दलहरू कांग्रेस र एमालेसँग दुई बुँदे सहमति गर्यो । सोही सहमतिको आधारमा शुक्रबारको संसद बैठक माओवादीले अवरुद्ध गरेन । रास्वपाले भने अडान यथावत राख्दै संसद अवरुद्ध गर्यो । तर, सत्तापक्षले त्यसलाई पन्छाउँदै कार्यसूची अघि बढायो । माओवादीको साथ छुटेपछि रास्वपा निरीह देखियो ।
तीन दलबीचको दुई बुँदे सहमति
१. भिजिट भिसा र अध्यागमन सम्बन्धी विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान गरिरहेको छ । आयोगले छानबिनका लागि माग गरेअनुसार नेपाल सरकारले आवश्यक सहयोग गर्नेछ ।
२. विगतदेखि देखिँदै आएका अध्यागमन र भिजिट भिसा सम्बन्धी समस्याहरू समाधान गर्न नेपाल सरकारले अध्ययन, छानबिन गरी नीतिगत, कानुनी र संरचनात्मक सुधार गर्ने ठोस पहल गर्नेछ ।
माओवादीले यति लामो समय संसद अवरुद्ध गरेपछि दुई बुँदे सहमतिमा आएर यथास्थितिमा फर्कनुले नै यसको औचित्यमाथि प्रश्न उठाएको छ । भिजिट भिसा प्रकरणमा पनि सुरुमा विपक्षीको साथ दिँदै सत्तामाथि दबाब सिर्जना गरे, तर सहमतिको बेला आएपछि आफ्नो दलको अडान परिवर्तन गर्दै सत्तारुढ गठबन्धनसँगको सम्बन्धलाई प्राथमिकता दिए । यसले माओवादीको नैतिकता र विश्वसनीयतामाथि गम्भीर प्रश्न खडा गरेको छ ।
बारम्बार दोहोरिने प्रचण्डको दोहोरो चरित्र
यो प्रकरण माओवादी र प्रचण्डको दोहोरो चरित्रको ताजा उदाहरण मात्र हो ।सधैं सत्ताको समीकरणमा आफूलाई सुरक्षित राख्ने रणनीति अपनाउदा प्रचण्डको दोहोरो चरित्र बारम्बार दोहोरिँदै आएको छ । अहिले पनि माओवादीले सरकारमा सामेल हुन भित्रभित्रै अनेकौँ प्रयास गरिरहेको छ । काँग्रेसको नेतृत्वमा सरकार बन्ने सरकारमा सहभागी हुन माओवादीले भएको विश्लेषण भइरहेको छ ।
तर, एमालेसँगकै गठबन्धनमार्फत प्रधानमन्त्री बन्ने इच्छा व्यक्त गरेका देउवाले माओवादीको सहकार्यको प्रस्तावलाई नर्कादै आएका छन् । प्रचण्डको पछिल्लो निर्णयले ‘माओवादीलाई विश्वास गर्नु भनेको धोका पाउनु हो’ भन्ने जनभावनालाई थप बलियो बनाएको छ । सामाजिक सञ्जालमा प्रचण्डको दोहोरो चरित्र फेरि दोहोरिएको भन्दै तीव्र आलोचना भइरहेको छ । प्रचण्ड लामो समयदेखि अस्थिरता र अवसरवादको प्रतीक बनेका छन् ।
पार्टीभित्रै पनि उनको दोहोरो चरित्रप्रति असन्तुष्टि चुलिएको छ । डा.बाबुराम भट्टराई, मोहन वैद्यजस्ता नेताहरूले त्यही असन्तुष्टिका कारण पार्टी छाडेका थिए । प्रचण्डको राजनीतिक यात्रामा एकरूपता र स्पष्टताको अभाव देखिन्छ । सत्ता जोगाउन स्वार्थअनुसार कदम चाल्ने उनको प्रवृत्तिले नेतृत्वप्रति अविश्वास बढाएको छ । वचन र कर्मको मेल नहुँदा युवा पुस्तामा राजनीतिप्रति वितृष्णा बढ्दो छ ।
सत्यपाटी संवाददाता । काठमाडौं