म्याग्दीको बेनी नगरपालिका–५, डडुवाकी रामकुमारी खत्रीलाई घरखर्च सकिँदा कुनै चिन्ता हुँदैन । दैनिक घरखर्च चलाउने पैसा सकियो भने उनी मौरीको घार खोलेर मह निकाल्छिन् र गर्जो टार्छिन् । यसैगरी उनका ३० वर्ष बितिसकेका छन् । उनी म्याग्दी जिल्लाकै नमुना कृषकमा पर्छिन् । रामकुमारीलाई मौरीको घार विगत ३० वर्षयता बैङ्कजस्तै लाग्ने गरेको छ ।
सानै उमेरमा विवाह गरेकी रामकुमारीको जीवन मौरीपालनबाट फेरिन धेरै समय पर्खिनु परेन । मौरीपालनबाट उनले अहिले वार्षिक रूपमा १५ देखि २० लाख रुपैयाँ सजिलै कमाउँदै आएकी छन् । उनको घरवरिपरि मौरीका घारैघार देखिन्छन् । ‘छोराछोरी हुर्काउने, पढाउने, औषधि उपचार लगायतको घरखर्च चलाउन मलाई कुनै चिन्ता छैन, साथमा पैसा सकियो भने घार खोलेर मह काढ्छु,’ उनले भनिन् ।
उनले मौरीको घार मेरा लागि बैङ्कमा राखेको पैसा जस्तै भएको बताइन् । रामकुकारीले भनिन्, ‘जतिबेला चाहिन्छ, उति नै बेला निकाल्न पाइने । मह निकाल्यो, पैसा हातमा पर्यो ।’ मह बिक्री गरेर नै रामकुमारीले दुई छोरा र एक छोरीलाई स्नातकोत्तरसम्मको शिक्षा दिलाइसकेकी छन् । उनको जेठो छोरा बैङ्कमा जागिरे छन् भने एक छोरा र छोरीले घरैमा आमालाई सघाउँदै आएका छन् ।
विसं २०५० तिर रेडियो नेपालमा प्रसारण हुने कृषि कार्यक्रममा मौरीपालन सम्बन्धी जानकारी सुनेर रामकुमारी र उनका श्रीमान् मीनबहादुर खत्रीले एउटा घारबाट मौरीपालन व्यवसाय थालेका थिए । कृत्रिम आहाराको व्यवस्थापन गर्नु नपरी प्राकृतिक चरणबाटै अहिले २०० मौरीका घारबाट रामकुमारीले मह उत्पादन गर्दै आएकी छन् ।
रामकुमारी जिल्लामै पहिलो मौरीपालक कृषक हुन् । खत्रीकहाँबाटै घार लगेर जिल्लाका अन्य किसानले पनि मौरीपालन व्यवसाय थालेका छन् । मौरीपालन व्यवसाय गर्ने रुचि भएकाले काठमाडौँको गोदावरीमा गएर रामकुमारीका श्रीमानले एक हप्ताका तालिम लिएपछि मौरी पाल्न सहज भएको खत्री दम्पतीको भनाइ छ ।
रामकुमारीका श्रीमान् मीनबहादुर खत्री स्थानीय ज्योति आधारभूत विद्यालयको प्रधानाध्यापक हुनुहुन्छ । रामकुमारीले अहिले पनि श्रीमान्को शिक्षक पेसाभन्दा धेरै पैसा मह बिक्री गरेर कमाउँछिन् । दुई छोरा र एक छोरीलाई समेत मौरीपालनको ज्ञान र सिप रामकुमारीले सिकाएकी छन् । घरमै भएका छोराछोरीले आमालाई सघाउँदै आएका छन् ।
छोरा सुरेशले भने, ‘आमाले काम गरेको देखेर मैले पनि मौरी स्याहार्न सिकेको छु । मौरीको हेरचाह र मह निकाल्ने तरिका मलाई आमाले सिकाउनुभएको छ ।’ रामकुमारी खत्रीले करिब २०० मौरीका घारबाट वार्षिक ५०० केजीसम्म मह उत्पादन गर्दै आएकी छन् । मह प्रतिकेजी एक हजार ८०० रुपैयाँमा बिक्री हुने उनी बताउँछिन् ।
महको माग अनुसार पुर्याउन कठिन भएको उनको भनाइ छ । पछिल्ला केही वर्ष रामकुमारीले मौरीका घारसमेत बिक्री गर्दै अएकी छन् । मौरीसहित प्रतिघार नौ हजार ५०० देखि १० हजार रुपैयाँसम्ममा बिक्री गर्ने गरेको उनी बताउँछिन् । वार्षिक रूपमा ३०० घारको माग आए पनि १०० सम्म घार बिक्री गर्ने गरेको उनको भनाइ छ ।
मह र घार बिक्री गरेर वार्षिक रूपमा १५ देखि २० लाख रुपैयाँसम्म आम्दानी हुने रामकुमारीले सुनाइन् । वर्षमा तीन पटक मङ्सिर, फागुन र जेठमा मह निकाल्ने उनले बताइन् । एउटा घारबाट बढीमा छ केजीसम्म मह उत्पादन हुने उनले बताइन् । मह बिक्री गरेर रामकुमारीले पोखरा र चितवनमा गरेर करिब डेढ करोड रुपैयाँ बराबरको जग्गा जमिन जोडेकी छन् ।
सत्यपाटी