देशको अभिभावकीय भूमिका निर्वाह गरिसकेकी पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी अहिले नेकपा (एमाले)को सक्रिय राजनीतिमा लगभग फर्किसकेकी छन् । पार्टीका विभिन्न सङ्गठनात्मक गतिविधि र सार्वजनिक कार्यक्रममा उनको सक्रियता उल्लेख्य रूपमा बढिरहेको छ । चीन भ्रमणपछि झनै सक्रिय बनेकी भण्डारीको राजनीतिक संलग्नताले उनी एमालेको अग्रसर भूमिकामा फर्किन सक्ने चर्चा थप बलियो बनाएको छ ।
चीन भ्रमणका क्रममा उनलाई दिइएको उच्च सम्मान र त्यसपछिको सक्रियताले भण्डारीलाई एमालेको रणनीतिक राजनीतिमा महत्त्वपूर्ण भूमिकामा ल्याउने संकेत देखिएको छ । हालै उनले प्रधानमन्त्री समेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीको गृहजिल्ला झापामा पुगी राजनीतिक सन्देश दिन खोजेकी छन् । यस घटनालाई एमालेको सक्रिय राजनीतिमा उनको पुनरागमनको संकेतको रूपमा हेरिएको छ । भण्डारीको सम्भावित फिर्तीले एमालेको आगामी महाधिवेशन तथा नेतृत्व चयनमा उल्लेख्य प्रभाव पार्ने अनुमान गरिएको छ ।
विशेषतः उनलाई पार्टीको अध्यक्ष बनाउन सक्ने गृहकार्य भइरहेको चर्चा एमाले भित्र चलिरहेको छ । भण्डारीको सक्रियता एमालेभित्र ओलीको एकलौटी नेतृत्वप्रति असन्तुष्ट समूहका लागि नयाँ आशाको रूपमा देखिएको छ । पार्टीभित्र ओलीप्रति आलोचक रहेका नेताहरू भण्डारीको उदयलाई असन्तुष्टि न्यून गर्न र बाँकी कम्युनिस्ट घटकलाई एकजुट गर्न सक्ने अवसरको रूपमा हेरेका छन् । एमालेभित्र एक समूहले भण्डारीलाई ‘रेड कार्पेट’ले स्वागत गर्ने तयारी गर्दा अध्यक्ष ओली भने उनलाई रोक्ने रणनीतिमा सक्रिय देखिन्छन् ।
विद्याबारे ओलीको अभिव्यक्ति
पछिल्लो केही समययताको ओलीको अभिव्यक्ति केलाउने हो भने विद्यालाई रोक्न उनले हरप्रयास गरेका छन् । आइतबार मात्रै पार्टी निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) को २४औँ राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्दै ओलीले पूर्वराष्ट्रपति भण्डारी राजनीतिमा फर्किने विषयलाई लिएर टिप्पणी गरे । भण्डारी पार्टीको जिम्मेवारीमा फर्किने भन्ने तयारी गरिरहेको बेला ओलीले ‘फलाना आउने अरे’ भन्दै फिँजाइएका भ्रममा विश्वास नगर्न आग्रह गरे ।
उनले पार्टीभित्र गुटबन्दी भइसकेको भन्दै गरिएका प्रचारको प्रतिकार गर्न पनि निर्देशन दिए । यसअघि पनि ओलीले भण्डारीलाई लक्षित गर्दै नेतृत्वको विकल्प नखोज्न चेतावनी दिँदै आएका छन् । ओलीले आफूबिना एमाले १५–२० वर्षसम्म चल्न नसक्ने दाबी बारम्बार गर्दै आएका छन् । केही समयअघि भण्डारीले एक अन्तर्वार्तामा ओलीको स्वास्थ्य र उमेरलाई लिएर प्रश्न उठाएपछि ओलीले सार्वजनिक रूपमा आक्रोश व्यक्त गरेका थिए । नेपाल कम्युनिष्ट पार्टीको ७६औँ स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले अहिले नै कसैले हतार गर्न नहुने बताएका थिए ।
उनले भनेका थिए, ‘कतिपयलाई मेरो उमेर र मेरो स्वास्थ्यको चिन्ता छ । अहिले म बिरामी छैन । अबको २०–२५ वर्षपछि बुढो हुन्छु । कसैले हतार गरेर हुँदैन । केपी ओलीविनाको एमाले कसैले कल्पना गरेको छ भने त्यो पूरा हुँदैन ।’ भण्डारीलाई अगाडि बढाउन चाहनेहरूतर्फ लक्षित गर्दै ओलीले भनेका छन्, ‘कसैले एमालेविनाको देश र केपी ओलीविनाको एमाले खोजेका होलान्, तिनको मनसाय राम्रो भए त म सरक्क छाडिदिने थिएँ । एमालेविनाको नेपाल हेरौँला, मिसन २०८४ मा, हामी झन् बलियो भएर आउनेछौँ ।’
यसअघि पनि ओलीले एमालेमा २० वर्षसम्म आफ्नो विकल्प नखोज्न चेतावनी दिएका थिए । २०८० साउनमा ओलीले पत्रकार सम्मेलनमै भण्डारीलाई राजनीतिमा ल्याउने विषयमा मलजल नगर्न सचेत गराएका थिए । उनले भनेका थिए, ‘पूर्वराष्ट्रपतिजीलाई पटक–पटक भेटेको छु । तर, त्यसैलाई मुख्य आधार बनाएर उहाँलाई राजनीतिमा फर्काउने प्रयास भयो भनेर बुझ्नुहुँदैन । यस्ता खालका प्रयासमा मलजल नगरेकै राम्रो हो । उहाँ (भण्डारी) एमालेको नजिकको मित्र हो, राष्ट्रपति भइसकेको व्यक्ति सबैको आदरणीय हुनुहुन्छ । उहाँप्रति हामी सबैको सम्मान छ, तर, उहाँ राजनीतिमा फर्किने गरी आवश्यकता छैन । उहाँले चाहना पनि राख्नुहुन्न ।’
ओलीको यी अभिव्यक्तिहरूले पनि भण्डारीको सक्रियता र सम्भावित नेतृत्वको दाबेदारी ओलीका लागि चुनौती बन्नेको स्पष्ट हुन्छ । पार्टीभित्र गुटबन्दी नगर्न चेतावनी दिँदै ओलीले आफ्नो पकड बलियो बनाउने प्रयास गरिरहेका छन् । पूर्वराष्ट्रपति भण्डारीको राजनीतिक पुनरागमनले एमालेको आन्तरिक शक्ति सन्तुलनमा महत्त्वपूर्ण परिवर्तन ल्याउन सक्ने आँकलन गरिएको छ । उनी कम्युनिस्ट आन्दोलनको एकताका लागि बारम्बार नेताहरूलाई सुझाव दिँदै आएकी छन्, जसले उनलाई एकताका प्रतीकका रूपमा समेत प्रस्तुत गरिरहेको छ ।
गत फागुनमा ‘केपी शर्मा ओलीः सपना, सङ्घर्ष र सङ्कल्प’ पुस्तकको लोकार्पण कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वराष्ट्रपति भण्डारीले नेपालको कम्युनिस्ट आन्दोलन एकताबद्ध बनाउन सुझाव दिएकी थिइन् । उनले भनेकी थिइन्, ‘नेकपा एमालेको आन्तरिक जीवनलाई लोकतान्त्रीकरण गर्न कम्युनिस्ट आन्दोलनलाई एकताबद्ध बनाउन, तथा उत्पन्न हुने गुट र फुटलाई परास्त गरेर पार्टीलाई सुदृढ तुल्याउन उहाँले निर्वाह गरेको भूमिकाको सराहना गर्दछु, साथै भविष्यमा समेत यस किसिमको रचनात्मक पहलकदमी अग्रसरता कायम राख्दै नेपाली कम्युनिस्ट आन्दोलनलाई थप एकताबद्ध बनाएर सफलताको अर्को सिँढी उकाल्न उहाँबाट ठुलो योगदान पुग्ने नै छ ।’
तर, ओली भने कम्युनिस्ट आन्दोलनलाई जुटाउनेभन्दा पनि फुटाउनेतिर लागेका छन् । अन्य कम्युनिष्ट नेताहरूले पनि एकतामा जोड दिँदै आएका छन् । ओलीले भण्डारीको सम्भावित फिर्ती रोक्न रणनीति अपनाए पनि भण्डारीको लोकप्रियता र उनीप्रति समर्थन जनाउने नेताहरूको सक्रियताले उनी ढिलोचाडो एमालेको सक्रिय राजनीतिमा आउने पक्काजस्तै छ । यसले आगामी दिनमा एमालेको नेतृत्वमा कस्तो प्रभाव पर्छ भन्ने विषय नेपाली राजनीतिका लागि निकै महत्त्वपूर्ण बन्नेछ ।
भण्डारीको पुनरागमनको मूल आधार भनेको मदन भण्डारीको ‘जनताको बहुदलीय जनवाद (जबज)’को राजनीतिक दर्शन मानिन्छ । जबजको जगमा एमाले ठूलो संसदीय शक्ति बनेकोले भण्डारीलाई पार्टी नेतृत्वमा सहजै स्वीकार गर्न सकिने धारणा पार्टीभित्र फैलिएको छ । तर, सत्तामा आफ्नो वर्चस्व कायम राख्न चाहने ओली र उनको समर्थक समूहलाई चुनौती दिँदै नेतृत्व स्थापित गर्नु भण्डारीका लागि सहज हुने छैन ।
राष्ट्रपति जस्तो उच्च पदमा सम्हालिसकेको व्यक्ति फेरि सक्रिय राजनीतिमा आउने विषयलाई जनताले खास रुचाएको भने देखिन्न। तर, माओवादी केन्द्रमा उपराष्ट्रपति नन्दबहादुर पुन सक्रिय बनिसकेको नजिरलाई देखाएर राजनीतिमा हाम फाल्ने प्रयास भने चलिरहेको छ । राष्ट्र प्रमुखको जिम्मेवारी सम्हालिसकेकी व्यक्तिले फेरि सक्रिय राजनीतिमा प्रवेश गर्नु नैतिक दृष्टिले विवादास्पद विषय बनेको छ । विद्याको सम्भावित उदयले पार्टीभित्रको शक्ति सन्तुलन र समग्र कम्युनिस्ट आन्दोलनलाई नयाँ दिशा दिन सक्छ । तर, यो यात्रा सरल नहुने निश्चित छ ।
सत्यपाटी