सूचनाको शक्ति - The Power Of Information

        

विचार

कोहलपुर नगरपालिका : सम्भावनाभित्र रुमलिएको यात्रा

कोहलपुरका सामुदायीक विद्यालयहरूमा अनुशासनहीनता, नीतिगत अन्योलता, प्रशासनिक ब्यवस्थापकीय असल नेतृत्वको अभाव छ, भएकोमा सुधार गर्ने इच्छाशक्तिको अभाव देखिएको छ ।

कोहलपुर नगरपालिका सामरिक, सामाजिक र भौगोलिक हिसाबले अत्यन्त सम्भावनायुक्त आधुनिक शहर हो । पूर्व–पश्चिम राजमार्ग र उत्तर–दक्षिण भेग जोड्ने सामरिक महत्त्वपूर्ण केन्द्रबिन्दुमा अवस्थित यो नगर ऐतिहासिक, भौगोलिक, आर्थिक र सांस्कृतिक दृष्टिले संभावना बोकेको छ । तर दुःखको कुरा, यथार्थमा कोहलपुर समृद्धिको बाटोमा होइन, अन्योल र अव्यवस्थाको भड्खालोमा जाकिएको देखिन्छ ।

शहरी योजनामा दीर्घकालीन सोचको अभाव देखिएको छ । नगर विकास परियोजनालाई स्वार्थ, पक्षपात र पहुँचको राजनीतिले निर्देश गरिरहेको छ । परम्परागत बस्तीहरू व्यवस्थित गर्नेतर्फ ध्यान नदिई बसोबासलाई विस्थापनको स्थितिमा पुर्याउने तर्फ अग्रसर भएको देखिन्छ । नगरका आवधिक योजनाहरुमा आम नागरिकको सहभागिता जनाउने प्रणाली कमजोर हुँदा जनता र पालिका नेतृत्वबीच विश्वासको खाडल गहिरिँदै गएको छ ।

स्थानीय नगर नेतृत्वले बिगतदेखि न त भविष्य हेर्न चाहेको छ, न त वर्तमानको आवश्यकता बुझ्न खोज्यो । सामाजिक युवा नेतृत्व क्रान्तिकारी शैलीमा चिच्याइरहेको छ, तर सामूहिक जिम्मेवारीबाट विमुख रहेको आभाष भएको छ । जनप्रतिनिधि र कर्मचारीबीच आपसी असहयोग र अविश्वासको अवस्था सृजना भएको तालमेलमा खटपट नि देखिएको छ, योजना बिकास आर्थिक सामाजिक महत्त्वका शाखाको कार्यक्रमहरुमा कर्मचारी जनप्रतिनिधिको एकाधिकार र बेजोड एकता झल्किएको छ ।

शिक्षा स्वास्थ्य रोजगार सुशासन र प्रशासनिक कार्यहरुको कार्यसम्पादन बिबादित बन्दै गएको छ । यसले गर्दा परिणामतः नीति कार्यान्वयनमा जटिलता, ढिलाइ, दुरुपयोग र समग्रमा बेथिति मौलाउँदै गएको छ । स्वास्थ्य क्षेत्र चरम लापरबाही अस्तव्यस्त छ । वर्षमा दुईपटक डाक्टरको दरबन्दी भ्याकेन्सी र नियुक्तिको नाटक मञ्चन भएको छ, स्वास्थ्य सामग्री हराउने, औषधि वितरणमा लापरबाही जस्ता समस्याले स्वास्थ्य सेवा प्रवाह प्रभावित बनाएको छ ।

रोजगारीको क्षेत्रमा पनि अस्थायी दरबन्दी, करार र ज्यालादारी आवश्यकता भन्दा अवसर रुपमा भर्ती केन्द्रको थलो बनेको छ । सरुवा र बढुवामा योग्यता भन्दा पनि सिफारिस र पहुँचको प्राथमिकता देखिन्छ, यसले प्रशासनिक सुशासन र पारदर्शिता प्रभावित गरेको छ । योजना तथा विकास क्षेत्रमा सार्वजनिक खरिद ऐनको धज्जी उडाइएको छ । साना फुटकर योजना देखि ठुला बिकास योजनामा समेत स्वार्थको मनोविज्ञान हावी भएको छ, उपभोक्ता समिति गठनको नाममा निश्चित समूह र कम्पनीहरूलाई फाइदा पुर्याउने गरी योजना बाडफाड गरिएको पाइन्छ ।

उपभोक्ता सहभागीता दर कम, तर अनियमितता उच्च स्तरमा देखिन्छ । सडक, शौचालय, खानेपानी, फुटपाथ जस्ता पूर्वाधार योजनाहरू व्यवहारिक नीतिविना सञ्चालनमा आउँदा बजेट त सकिएको छ तर समस्याको समाधान भएको छैन । शिक्षा क्षेत्रमा पनि स्थिति निराशाजनक छ । सामुदायिक बिद्यालयहरुमा राजनीति हावी भएको छ । शिक्षाको दैनिक प्रशासनिक कार्यक्रममा समेत पेसागत अधिकारको बोलवाला छाएको छ । अध्ययन अध्यापन भन्दा कार्यक्रम बहस पैरवी स्वार्थको चलखेलले तिब्रता पाएको छ, त्यसैले शैक्षिक गुणस्तर हराएको छ ।

कोहलपुरका निजी विद्यालयहरूमा ब्यवसायीक सिण्डिकेट मौलाएको छ, किताब, कापी, पोशाक, जुत्ता, बेल्टदेखि टिफिन बक्ससम्म एकै थलोबाट खरिद गर्न विद्यार्थीलाई बाध्य पारिएको छ, शैक्षिक सामग्रीभन्दा सुविधाजन्य विषय शीर्षक राखेर अभिभावकको ढाड सेक्ने कार्य भइरहेको छ । निर्धारित नियमित शुल्क असुलीमा पारदर्शीता छैन, अभिभावक असन्तुष्ट छन, तर नियमन गर्ने निकाय मौन छ । सामुदायीक विद्यालयहरूमा अनुशासनहीनता, नीतिगत अन्योलता, प्रशासनिक ब्यवस्थापकीय असल नेतृत्वको अभाव छ, भएकोमा सुधार गर्ने इच्छाशक्तिको अभाव देखिएको छ । समग्रमा समाजका सबै समस्याको मूलमा जवाफदेहीताको अभाव छ ।

नेतृत्वले जनताप्रति उत्तरदायित्व स्वीकार गरेको देखिँदैन । पारदर्शिता, सुशासन र सहभागिताको नारा कागजमा मात्र सीमित भएको छ । नीति निर्माणका काम कारबाहीहरुमा बहुमतको आधारमा गर्ने पद्धति विकास भएको छ भने कार्यान्वयन पहुँचका आधारमा भइरहेको छ । समयको आवश्यकता भन्दा निहित स्वार्थले सफ्टवेयरबाट हार्डकपीमा फर्किने प्रवृत्ति, टुक्रे योजना र स्वार्थअनुकूल नीति कार्यान्वयनले नगरको आशालाई निराशामा बदलिरहेको छ ।

नागरिकलाई रोजगार, शिक्षा, स्वास्थ्य र सेवा प्रवाहमा समान पहुँच बिना विकासको नारा खोक्रो सावित हुन्छ । पालिका पारदर्शी, उत्तरदायी, सहभागी र योजना–केन्द्रित बनाइनुपर्छ, सुशासन समृद्धि बिकासको प्रभावकारी कार्यान्वयनले अहिलेको अन्योल भविष्यको संभावित गहिरो सङ्कटबाट मुक्ती मिल्नेछ । अन्ततः, कोहलपुरको सम्भावना अझै सकिएको छैन । यो नगरलाई सही दिशातर्फ डोर्याउन अब नागरिक सचेतना, जिम्मेवार नेतृत्व र नीतिगत सुधार अत्यावश्यक छ । जनप्रतिनिधिले अब जनताको विश्वास जित्न सस्तो नारा होइनः जवाफदेही व्यवहार र परिणाममुखी सेवा प्रवाह गर्न जरुरी छ ।

प्रकाशित मिति : १९ बैशाख २०८२, शुक्रबार ०९:३९

लोकप्रिय