समयले हरेक क्षेत्रमा परिवर्तन ल्याउँछ । प्रकृतिदेखि सामाजिक क्षेत्रमा समेत परिवर्तनले आफ्नो प्रभाव छाडेर गएको हामी देख्न सक्छौँ । मानव जीवनमा शारीरिक विकाससँगै सीप, सोच, बौद्धिकता र व्यवहारमा समेत परिवर्तन आउँछ । अहिलेको समयमा मानव समुदाय प्रविधिमय बन्दै गएको छ । सबै विषयमा प्रविधिको बोलवाला बढिरहेको अवस्थामा कतिपय नयाँ कार्यक्षेत्रहरू फैलँदै गएका छन् भने कतिपय पुराना प्रविधिमा आधारित कार्यहरू ओझेल पर्दै गएका छन् ।
अहिलेको युग प्रविधिमैत्री बन्ने र तदनुरूप चल्ने समय हो । नत्र समयको गतिले मानिसलाई पछि पार्छ । नेपालमा पनि यो परिवर्तनको प्रभाव सञ्चार क्षेत्रमा गहिरो देखिएको छ । विशेषतः छापा पत्रकारिता, जसले कुनै समय राजनीतिक सचेतना र सामाजिक परिवर्तनका लागि महत्वपूर्ण भूमिका खेलेको थियो, अहिले प्रविधि र डिजिटल माध्यमसँगको प्रतिस्पर्धामा संघर्षरत छ । २०४६ सालको जनआन्दोलनले नेपालमा प्रजातन्त्र ल्यायो ।
यो ऐतिहासिक परिवर्तनसँगै सञ्चार क्षेत्रमा नयाँ आयाम सुरु भयो । शिक्षा, स्वास्थ्य, यातायात जस्तै सञ्चारमा पनि लगानीका ढोकाहरू खुले । यसले गर्दा पञ्चायत कालमा दबिइरहेको छापा पत्रकारिताले नयाँ जीवन पायो । छापा पत्रकारिताले प्रजातान्त्रिक चेतना फैलाउने र नागरिकलाई सशक्त बनाउने काममा ठूलो योगदान पुर्यायो । त्यसबेला सरकारी सञ्चार माध्यमहरू सरकारको भजन–कीर्तनमै व्यस्त भएकाले जनता विश्वास गर्न सक्ने विकल्पका रूपमा साप्ताहिक, पाक्षिक र मासिक पत्रपत्रिकाहरू नै उभिएका थिए ।
ती पत्रपत्रिकाहरूको मुख्य मिसन प्रजातन्त्र प्राप्ति थियो । जनआन्दोलन सफल भएपछि पनि केही वर्षसम्म छापा पत्रकारिता उत्साहजनक रूपमा फस्टायो । नयाँ पुस्ताले पत्रकारितालाई एउटा मिशनको रूपमा लिइरहेका थिए । तर समयसँगै राजनीतिक अस्थिरता, आर्थिक संकट, प्रविधिको तीव्र विकास र पाठकको रुचिमा आएको परिवर्तनका कारण छापा पत्रकारिता अहिले गम्भीर चुनौतीको सामना गरिरहेको छ ।
नेपालमा छापा पत्रकारिताको इतिहास खासै पुरानो छैन । राणा शासनको कठोर नियन्त्रणमा सञ्चारमाध्यमको विकास रोकिएको थियो । २००७ सालको प्रजातन्त्र स्थापनापछि केही स्वतन्त्र पत्रपत्रिकाहरूको प्रकाशन सुरु भयो, तर वास्तविक विकास भने २०४६ सालपछिको प्रजातान्त्रिक परिवर्तनपछि मात्र देख्न पाइन्छ ।
राणा शासनका बेला सञ्चारका साधनहरू प्रायः निषेधित थिए । केही विदेशी अखबार र दस्तावेजहरू सीमित व्यक्तिहरूसम्म मात्रै पुग्थे । नेपाली भाषामा प्रकाशित हुने पत्रपत्रिका अत्यन्तै थोरै थिए। पहिलो नेपाली पत्रिका ’गोरखापत्र’ १९५८ साल वैशाख २४ गते सरकारी मुखपत्रका रूपमा प्रकाशनमा आएको थियो । यो सरकारले आफ्ना सन्देश सम्प्रेषण गर्ने माध्यमको रूपमा प्रयोग गथ्र्यो, स्वतन्त्र पत्रकारिताको रूप भने थिएन ।
२०१७ सालमा राजा महेन्द्रले पञ्चायती व्यवस्था लागू गरेपछि सञ्चारमाध्यम पुनः सरकारले नियन्त्रणमा राख्यो । सञ्चारले राजतन्त्रको पक्षमा मात्र प्रचार गर्न पाउने अवस्था बनाइयो । तर, यसबीचमा पनि साप्ताहिक पत्रपत्रिकाहरूको भूमिगत वा अर्धस्वतन्त्र प्रयास चलिरह्यो । केही पत्रिकाहरूले सीमित शब्द र संकेतमार्फत शासनप्रति असन्तोष प्रकट गर्ने कोसिस गरे ।
जनआन्दोलनको सफलतापछि मुलुकमा प्रजातन्त्र स्थापना भयो । बहुदलीय व्यवस्थाले व्यक्तिको अभिव्यक्ति स्वतन्त्रताको ग्यारेन्टी गर्यो । सञ्चारमा पनि स्वतन्त्रता आयो । त्यसपछि नेपाली पत्रकारिताको सुनौलो युग सुरु भयो । नयाँ साप्ताहिक र दैनिक पत्रिकाहरू क्रमशः बजारमा आउन थाले । ‘कान्तिपुर’, ‘अन्नपूर्ण पोस्ट’, ‘नागरिक’, ‘नया पत्रिका’ जस्ता ठूला ब्रोडसिट पत्रिकाहरूले नेपाली मिडिया बजारमा नयाँ आयाम थपे । छापा पत्रकारिताले पाठकहरूमा ठूलो विश्वास जित्न सफल भयो । समाचारको विश्वसनीयता, विश्लेषणात्मक सामग्री र राष्ट्रिय हितको विषयमा सक्रिय भूमिका खेलेर छापा पत्रपत्रिकाले आफ्नो अस्तित्व बलियो बनाएको थियो ।
२०४७ सालदेखि २०५७ सालसम्मको दशकलाई नेपाली छापा पत्रकारिताको स्वर्णिम युग मानिन्छ । यो अवधिमा छापा पत्रपत्रिकाले अभूतपूर्व विकास र विस्तार हासिल गरे । राजनीतिक स्वतन्त्रतासँगै नागरिक समाजमा अभिव्यक्ति स्वतन्त्रताको आकांक्षा जाग्यो । शिक्षाको पहुँच बढेपछि जनताको चेतनास्तर पनि उक्लियो, जसले पत्रकारितालाई अझ मजबुत बनायो । सञ्चारमाध्यमहरू केवल समाचार सम्प्रेषण गर्ने माध्यम मात्र रहेनन्, बरु जनताको भावना, आकांक्षा र असन्तोष अभिव्यक्त गर्ने प्लेटफर्म बने । यस अवधिमा ठूला दैनिक पत्रपत्रिकाहरू स्थापना भए, साप्ताहिक र मासिक पत्रिकाहरूले लोकप्रियता कमाए, र क्षेत्रीय पत्रिकाहरूले पनि आफ्नो अस्तित्व देखाउन थाले ।
२०४९ साल फागुन ९ गते सुरु भएको ‘कान्तिपुर’ राष्ट्रिय दैनिकले नेपाली पत्रकारिता क्षेत्रमा नयाँ युगको सुरुवात गर्यो । व्यावसायिक ढंगले सञ्चालित र नविनतम पत्रकारिता शैलीमा आएको कान्तिपुरले छिट्टै लोकप्रियता हासिल गर्यो । समाचारको प्रस्तुति, सम्पादन शैली, पाठकसँगको संवादशीलता र विज्ञापन व्यवस्थापनमा ल्याइएको नयाँपनले अन्य पत्रपत्रिकालाई पनि प्रभावित गर्यो । ‘कान्तिपुर’ मात्र होइन, त्यसपछि सुरु भएका ‘अन्नपूर्ण पोस्ट’, ‘हिमालय टाइम्स’, ‘नागरिक’ जस्ता पत्रपत्रिकाहरूले पनि आफ्नो आ–आफ्नो पहिचान बनाउन सफल भए ।
यस अवधिमा पत्रकारिता पेशागत रूपमा स्थापित हुन थाल्यो । पत्रकारिता अब केवल सेवामूलक काम मात्र रहेन; यो एक सम्मानजनक, आयमूलक र स्थायी करियरको रूपमा विकास हुन थाल्यो । विज्ञापन व्यवसाय फस्टाउँदै गयो र पत्रिकाहरूले स्वतन्त्र आर्थिक मोडेल विकास गरे । आर्थिक स्वतन्त्रताले पत्रकारितामा सामग्रीको गुणस्तर वृद्धि ग¥यो । अनुसन्धानमा आधारित रिपोर्टिङ, विशेष संवाद श्रृङ्खला र विश्लेषणात्मक सम्पादकीय लेखनले पाठकलाई गहिरो रूपमा आकर्षित गर्यो ।
‘नेपाल’, ‘स्पोटलाइट’, ‘रहस्य’, ‘युगसम्वाद’, ‘हिन्दु’, ‘नेपाल पोष्ट’, ‘जन आस्था’, ‘महिमा’, ‘घटना र विचार’, ‘साँघु’, ‘चर्चा’, ‘नयाँ करेन्ट’, ‘समकालीन’, ‘शुक्रबार’, ‘योहू’ जस्ता साप्ताहिक र पाक्षिक पत्रिकाहरूले विश्लेषणात्मक रिपोर्टिङ र राजनीतिक टिप्पणीहरूमा विशेष भूमिका खेले । यिनले तत्कालीन राजनीतिका जटिल पाटा उद्घाटित गरे, जनताको आवाज सरकारसमक्ष पुर्याए, र नागरिक चेतनाको विकासमा योगदान पुर्याए ।
केन्द्रमा मात्रै नभएर ग्रामीण भेगसम्म पनि पत्रपत्रिकाको पहुँच बढ्न थाल्यो । शिक्षाको प्रसार र यातायात सुविधाको विस्तारसँगै जिल्लास्तरमा पनि पत्रिकाहरू विस्तार भए । ‘राजधानी’, ‘पूर्वाञ्चल सन्देश’, ’पोखरा पत्रिका’ जस्ता क्षेत्रीय प्रकाशनहरूले आफ्नो विशिष्ट स्थान बनाएका थिए ।
त्यो समय छापाका पत्रपत्रिका नागरिकको मुख्य सूचना स्रोत थिए । अखबार पढ्नु भनेको सूचना र ज्ञान प्राप्त गर्ने प्रमुख माध्यम हुनुका साथै, बिहानको अनिवार्य दैनिकी बन्न पुगेको थियो । ‘पेपर आएन भने नखाएको जस्तै लाग्छ’ भन्ने भावनाले पत्रकारिताको प्रभाव देखाउँथ्यो । यो दशक छापा पत्रकारिताका लागि मात्रै होइन, नेपाली समाजमा समग्र सञ्चारको क्षेत्रमा अभूतपूर्व प्रगतिको युग पनि हो ।तर, यो स्वर्णिम युग धेरै लामो समय टिक्न सकेन । प्रविधिको तीव्र विकास, राजनीतिक अस्थिरता र सामाजिक–आर्थिक परिवर्तनहरूले छापा पत्रकारितालाई नयाँ चुनौतीको सामना गर्न बाध्य बनायो ।
२०५७ सालतिर पुगेपछि नेपाली छापा पत्रकारिता स्वर्णिम अवस्थाबाट बिस्तारै चुनौतीहरूको दलदलमा फस्न थाल्यो । प्रजातान्त्रिक व्यवस्थाले सुरुवाती दिनमा दिएको उत्साह क्रमशः खस्कँदै गयो । राजनीतिक अस्थिरता, आर्थिक समस्याहरू, प्रविधिको विकास र सामाजिक व्यवहारमा आएको परिवर्तनले छापा पत्रिकामाथि गम्भीर प्रभाव पार्न थाल्यो ।
२०५२ सालमा सुरु भएको माओवादी सशस्त्र द्वन्द्वले मुलुकलाई हिंसा र अशान्तिको चपेटामा ल्यायो । युद्धकालमा स्वतन्त्र र निष्पक्ष पत्रकारिता गर्न गाह्रो भयो । पत्रकारहरूलाई विभिन्न पक्षबाट दवाव, धम्की र आक्रमण हुन थाले । निष्पक्ष रिपोर्टिङ गर्ने पत्रकारहरूलाई दुबै पक्ष (राज्य र विद्रोही) बाट प्रताडित बनाइयो । कुनै पत्रिकाले सरकारको आलोचना ग¥यो भने सरकारी पक्षबाट दुःख पाइन्थ्यो; माओवादी गतिविधिहरूको समाचार लेख्दा माओवादीको रोष झेल्नुपथ्र्यो । यसले गर्दा पत्रकारहरूले आत्मसेंसरशिप अपनाउन थाले र छापा पत्रकारिताको स्वतन्त्रता कुण्ठित हुन पुग्यो ।
नेपालको राजनीतिमा स्थिरता नआउनु र बारम्बार सरकार परिवर्तन हुनुका असर पत्रकारितामाथि पनि पर्यो । मिडिया हाउसहरू राजनीतिज्ञहरू नजिकिन थाले, कतिपय मिडिया संस्थापकहरू आफैँ राजनीतिक सरोकारवालासँग प्रत्यक्ष जोडिए । यसले गर्दा पत्रकारिताको निष्पक्षता र विश्वसनीयतामा प्रश्न उठ्न थाल्यो । पत्रिकाहरू नीतिगत स्पष्टता गुमाउँदै राजनीतिक एजेण्डा प्रवद्र्धनमा लागेको आरोप लाग्न थाल्यो । पाठकहरूले छापा पत्रिकामा समाचारभन्दा पनि राजनीतिक धु्रवीकरण देख्न थाले ।
छापा पत्रकारिता आर्थिक रूपमा सुदृढ बन्न थालेपछि व्यवसायिकिकरण अत्यधिक बढ्यो । विज्ञापन आम्दानीमा निर्भरता बढेपछि पत्रिकाहरूले पाठकभन्दा विज्ञापनदातालाई प्राथमिकता दिन थाले । विज्ञापनदाता कम्पनीहरूको आलोचना गर्ने समाचार छाप्न हिच्किचाउने प्रवृत्ति बढ्यो सामाजिक उत्तरदायित्वभन्दा पनि मुनाफा प्राथमिक बन्न थालेपछि जनताले मिडिया प्रति विश्वास गुमाउन थाले । यसले सामग्रीको गुणस्तरमा गिरावट ल्यायो र पाठकहरूलाई वैकल्पिक सूचना स्रोतहरू खोज्न बाध्य बनायो ।
२१औँ शताब्दीको सुरुवातसँगै नेपालमा पनि इन्टरनेटको पहुँच विस्तार हुन थाल्यो । सूचना पाउन पत्रिकाको प्रतीक्षा गर्नुपर्ने समय सकियो । स्मार्टफोन, कम्प्युटर र इन्टरनेटको माध्यमबाट तत्काल सूचना पाउने संस्कार विकसित हुन थाल्यो । यसले गर्दा बिहानको चिया र पत्रिका पढ्ने चलन क्रमशः घट्दै गयो । विशेषगरी नयाँ पुस्ताले छापा पत्रिकालाई पुरानो प्रविधिको रूपमा हेर्न थाल्यो ।
२०५० पछि मिडिया हाउसहरूको संख्या बढ्दै गयो, तर गुणस्तरमा अपेक्षित सुधार भएन । प्रतिस्पर्धा चर्कंदै जाँदा सनसनीपूर्ण समाचार, अपुष्ट तथ्य र अतिरञ्जनाले भरिएको सामग्री सार्वजनिक हुन थाल्यो । विश्वसनीयता घटेपछि पाठकहरूले पनि आलोचनात्मक दृष्टिले पत्रिकाहरू हेर्न थाले । कतिपय ठूला मिडिया हाउसहरू राजनीतिक र व्यावसायिक स्वार्थमा जकडिँदा सानो, स्वतन्त्र प्रयासहरू पन्छिन थाले । यी सबै कारणहरूले गर्दा नेपाली छापा पत्रकारिता सोनेरुम जस्तो चम्किलो अवस्थाबाट बिस्तारै बादलले ढाकिएको जस्तो संकटपूर्ण अवस्थामा आइपुग्यो । तर, चुनौती यही टुंगिएको थिएन । प्रविधिको तेज विकास, डिजिटल मिडियाको उदय र सामाजिक सञ्जालको विस्फोटले छापा पत्रकारितामाथि अर्को तहको गम्भीर चुनौती थपिदियो ।
२०६० सालपछि नेपालमा इन्टरनेट सेवाको विस्तारले सञ्चार क्षेत्रमा क्रान्तिकारी परिवर्तन ल्यायो । डिजिटल प्रविधिको तीव्र विकाससँगै सूचना प्रवाहको गति अत्यन्त तेज भयो । पहिला जहाँ समाचार छापा भएर भोलिपल्ट मात्र पाठकको हातमा पुग्थ्यो, अब अनलाइनमा केही सेकेन्डमै अपडेट हुने स्थिति आयो । यसले छापा पत्रकारिताको अस्तित्वमै ठूलो चुनौती सिर्जना गर्यो ।
इन्टरनेट विस्तारसँगै नेपालमा पनि अनलाइन मिडियाहरू स्थापना हुन थाले । ‘इकान्तिपुर’, ‘नयाँ पत्रिका अनलाइन’, ‘सेतोपाटी’, ‘रातोपाटी’, ‘अनलाइन खबर’, ‘नेपाल खबर’ जस्ता अनलाइन पोर्टलहरूले छिट्टै लोकप्रियता कमाए । यी मिडियाले समाचार तुरुन्तै अपडेट गर्ने, प्रत्यक्ष प्रसारण गर्ने र मोबाइलमै सूचना उपलब्ध गराउने जस्ता सुविधाहरू दिए । त्यसैले, पाठकहरूले छापा पत्रिकाको प्रतिक्षा गर्नुको सट्टा मोबाइल वा कम्प्युटरमा तत्काल समाचार हेर्ने बानी बसाले खासगरी नयाँ पुस्ता (१८–४० वर्ष उमेर समूह) ले छापा पत्रिका पढ्न छोडेर डिजिटल मिडियातिर सरे ।
डिजिटल मिडिया पहुँचमा सरल, तत्काल र निःशुल्क हुने भएकाले सर्वसाधारणको रोजाइ बन्न थाल्यो । छापा पत्रिका किन्नु, पढ्न समय छुट्याउनु र वितरणको पर्खाइ गर्नु पर्ने झन्झटको साटो डिजिटल मिडियाले सजिलो र छिटो विकल्प दिएको थियो । यसले छापा पत्रिकाको पाठक संख्या घटाउन महत्वपूर्ण भूमिका खेल्यो ।
फेसबुक, ट्विटर, युट्युब, इन्स्टाग्राम जस्ता सामाजिक सञ्जालहरूको लोकप्रियताले छापा पत्रकारितालाई थप दबाबमा पारेको छ । आजको पुस्ता आफ्नो समाचार स्रोतका रूपमा परम्परागत पत्रपत्रिकाभन्दा फेसबुक वा ट्वीटर हेर्छ । आफ्नो मोबाइलमा आउने नाटकीय शीर्षक, छोटो भिडियो क्लिप वा आकर्षक फोटोसहितको समाचारले धेरैलाई आकर्षित गरेको छ । छापा पत्रिकाको लामो लेख वा विश्लेषणात्मक सामग्री पढ्न अहिलेका धेरै पाठकहरूमा धैर्यता घटिरहेको देखिन्छ ।
डिजिटल मिडियाले छोटो, सरल र आकर्षक सामग्री प्रस्तुत गर्न थालेको छ । ज्भबमष्लिभ–मचष्खभल वयगचलबष्किm अर्थात् शीर्षक केन्द्रित पत्रकारिता हाबी हुँदै गएको छ । छापा पत्रिकामा गहिरो विश्लेषण, पूर्ण रिपोर्ट र तथ्यांकसहितको सामग्री दिइए पनि तत्कालको जमानामा त्यो शैली सुस्तजस्तो देखिन थालेको छ । छापा पत्रिकाले आफ्नो गहिराइ र विश्वसनीयता कायम राख्न संघर्ष गरिरहेको छ, तर डिजिटल गतिशीलताले पाठकको रुचि फेरिएको छ ।
विज्ञापनदाताहरू पनि डिजिटल माध्यमतिर सर्न थाले । कम लागतमा धेरै मान्छेसम्म पुग्न सकिने भएकाले कम्पनीहरूले अब अनलाइन विज्ञापनलाई प्राथमिकता दिन थालेका छन् । छापा पत्रिकाले बाँच्नका लागि विज्ञापनमा निर्भर रहने हुँदा यसले ठुलो आर्थिक संकट निम्त्याएको छ ।विज्ञापन आम्दानी घटेपछि छापा पत्रिकाहरूले स्टाफ कटौती, पृष्ठ संख्या घटाउने, छाप्ने दिनहरू सीमित गर्ने जस्ता उपाय अपनाउन थालेका छन् । कतिपयले त छापा संस्करण बन्द गरेर केवल अनलाइनमा मात्र सेवा दिन थालेका उदाहरणहरू पनि देखिन्छन् । यी सबै प्रविधि–केन्द्रित परिवर्तनहरूले गर्दा अहिले छापा पत्रकारिता अस्तित्व जोगाउन संघर्षमा उत्रिएको छ ।
यद्यपि प्रविधिको तीव्र विकासले छापा पत्रकारिता क्षेत्रलाई गम्भीर चुनौती दिएको छ, तर यसले केही नयाँ अवसरहरू पनि सिर्जना गरेको छ । परिवर्तनलाई आत्मसात् गर्दै धेरै छापा पत्रिकाहरूले आफूलाई नयाँ समयअनुसार ढाल्ने प्रयास गरेका छन् । छापा पत्रकारिता अब केवल कागजमा मात्र सीमित नभई डिजिटल प्लेटफर्महरूमार्फत पनि आफ्नो उपस्थिति बलियो बनाउने दिशामा अघि बढेको छ ।
छापा पत्रिकाले आफ्नो डिजिटल रूपान्तरण सुरु गरेका छन् । अहिले छापा पत्रिकाले आफ्नो ’ई–पेपर’ संस्करण सञ्चालन गरेका छन्, जहाँ पाठकले मोबाइल, ट्याब्लेट वा कम्प्युटरबाट छापा संस्करण जस्तै पूरा पत्रिका पढ्न सक्छन् । यसले विदेशमा रहेका नेपाली, व्यस्त जीवनशैली भएका पाठकहरू र डिजिटलमैत्री पुस्तालाई जोड्ने काम गरेको छ ।
केवल लेख र फोटोमा सीमित नभई छापा पत्रिकाले अब भिडियो रिपोर्टिङ, पोडकास्ट, इन्फोग्राफिक्स र अन्तरक्रियात्मक सामग्री विकासमा ध्यान दिन थालेका छन् । उदाहरणका लागि, ठूला घटनाको समाचार केवल लेखमा मात्र नभई, भिडियो क्लिप, तथ्यांकसहितका इन्फोग्राफिक्स र लाइभ अपडेटमार्फत पनि प्रस्तुत गरिन्छ । यसले नयाँ पुस्ताको ध्यान आकर्षित गर्न सहयोग पुर्याइरहेको छ ।
छापा पत्रिकाहरूले पनि फेसबुक, ट्वीटर, युट्युब जस्ता सामाजिक सञ्जालहरूमा सक्रियता बढाएका छन् । नयाँ समाचार तुरुन्तै सामाजिक सञ्जालमा सेयर गर्ने, छोटो भिडियो रिपोर्ट बनाउने र पाठकसँग प्रत्यक्ष संवाद गर्ने प्रवृत्ति बढेको छ । यसरी सोसल मिडियालाई सही ढंगले प्रयोग गर्दा पत्रिकाहरूले आफ्नो पहुँच बढाउन सफल भएका छन् ।
पहिले जस्तो केवल विज्ञापनमा आधारित आम्दानी प्रणाली अब परिवर्तन हुँदैछ । केही पत्रिकाहरूले ‘पेड सब्सक्रिप्सन’ मोडेल अपनाउन थालेका छन्, जहाँ पाठकले विशेष सामग्री पढ्न सदस्यता लिनुपर्ने हुन्छ । त्यसैगरी, इभेन्ट म्यानेजमेन्ट, ब्रान्डेड कन्टेन्ट र विशेष कार्यक्रमहरू आयोजना गरेर नयाँ आयस्रोत सिर्जना गर्ने प्रयास भइरहेका छन् ।
यद्यपि छोटो र छिटो समाचार डिजिटलमा लोकप्रिय भए पनि, अझै पनि गहिरो अनुसन्धानात्मक रिपोर्ट, विशेष रिपोर्टहरू र दीर्घ अन्तरवार्ताहरूको माग छ । छापा पत्रिकाले यस्ता गुणस्तरीय सामग्री तयार पारेर आफूलाई अन्य मिडियाबाट अलग र विशिष्ट बनाउन सक्छन् ।
छापा पत्रिकाहरूले अब सामान्य सूचना मात्रै नभई विश्लेषण, व्याख्या र समग्र परिदृश्य बुझाउने खालका सामग्रीहरू विकास गरेर शिक्षित, परिपक्व र गम्भीर पाठक वर्गलाई लक्षित गर्न थालेका छन् । यस्ता पाठकहरू अझै पनि छापा पत्रिकाप्रति आकर्षित रहने सम्भावना उच्च हुन्छ । यसरी, चुनौतीबीच पनि छापा पत्रकारिताले नयाँ अवसरहरू फेला पार्दै, आफूलाई समयअनुसार अद्यावधिक गर्ने र नविकरण गर्ने अभियान सुरु गरेको छ । तर, सफलताका लागि अनवरत सिर्जनशीलता, विश्वसनीयता र पाठकमैत्री नीतिहरू अवलम्बन गर्नु अपरिहार्य देखिन्छ ।
प्रविधि र जीवनशैलीको तीव्र परिवर्तनले परम्परागत छापा पत्रकारिता क्षेत्रलाई गम्भीर चुनौती दिएको यथार्थ नकार्न सकिँदैन । तर, चुनौतीसँगै भविष्यका लागि थुप्रै सम्भावनाहरू पनि रहेका छन् । सस्तो, छिटो र सर्वसुलभ सूचना प्रवाहको युगमा पनि गहिरो, सुसंगठित र विश्वासिलो सूचना प्रदान गर्ने छापा पत्रकारिताको महत्व कायम रहन सक्छ, यदि केही रणनीतिक सुधारहरू अपनाइए ।
१. गहिरो पत्रकारितामा ध्यान केन्द्रित गर्नु – तत्कालको समाचारभन्दा पनि छापा पत्रिकाले दीर्घ विश्लेषणात्मक रिपोर्टिङ, अनुसन्धानमूलक पत्रकारिता, तथ्यमा आधारित विशेष फिचरहरू उत्पादनमा जोड दिनु पर्छ । अनलाइनमा पाइने सतही सूचना भन्दा फरक, विश्वसनीय र गहिरो सामग्रीले मात्र पाठकको आकर्षण पुनः प्राप्त गर्न सकिन्छ ।
२. गुणस्तरीय सामग्रीमा लगानी बढाउनु – सस्तो र चटपटे समाचारले अस्थायी ध्यान त तान्न सक्छ तर दीर्घकालीन पाठक बिस्तारका लागि सामग्रीको गुणस्तर महत्वपूर्ण हुन्छ । सम्पादकीय स्वतन्त्रता, भाषाको सौन्दर्य, तथ्यमा आधारित समाचार र विविधतापूर्ण विचार विमर्शलाई बढावा दिनु जरुरी छ ।
३. डिजिटलसँग सहअस्तित्व विकास गर्नु – छापा र डिजिटललाई प्रतिस्पर्धी होइन, पूरकका रूपमा हेर्नु पर्छ । छापा संस्करणले गहिरो सामग्री दिनु, डिजिटल प्लेटफर्मले ताजा अपडेट र अन्तरक्रियात्मक सेवा दिनु — यस्तो सहअस्तित्वले दुबै माध्यमलाई सशक्त बनाउन सक्छ । ई–पेपर, मोबाइल एप, सामाजिक सञ्जालबाट पाठकसँग नियमित सम्पर्क बढाउनु अत्यावश्यक हुन्छ ।
४. लक्षित पाठक वर्ग निर्माण गर्नु – सबैका लागि समाचार उत्पादन गर्ने रणनीति अब सफल छैन ।छापा पत्रिकाले विशेष लक्षित समूह (जस्तै, शिक्षित युवा, सरकारी कर्मचारी, व्यवसायी, बौद्धिक वर्ग) पहिचान गरी तिनका चासोका विषयमा सामग्री उत्पादन गर्नुपर्छ । विशेष क्षेत्रका लागि विशेष संस्करण (जस्तै, आर्थिक समाचार, अन्तर्राष्ट्रिय सम्बन्ध, विज्ञान र प्रविधि, शिक्षा इत्यादि) विकास गर्न सकिन्छ ।
५. नयाँ आयस्रोतको खोजी – अब छापाले विज्ञापनमा मात्रै निर्भर रहने मोडेल असफल भइसकेको छ । त्यसैले सदस्यता शुल्क, प्रिमियम कन्टेन्ट सेवा, विशेष रिपोर्टको बिक्री, अनलाइन–अफलाइन तालमेल कार्यक्रमहरू, ब्रान्डेड इभेन्टहरू, विशेष पुस्तक प्रकाशन जस्ता माध्यमबाट नयाँ आर्थिक मोडल निर्माण गर्नु जरुरी छ ।
६. पाठकसँग प्रत्यक्ष संवाद र सम्बन्ध विस्तार – छापा पत्रिकाले आफ्नो पाठक समुदायसँग सक्रिय संवाद कायम गर्नुपर्छ । पाठकको सुझाव, प्रतिक्रिया र मागलाई सुन्ने र सम्बोधन गर्ने संस्कार विकास गर्दा पाठकसँग गहिरो सम्बन्ध बन्नेछ । नयाँ प्रविधिको प्रयोग गरेर प्रत्यक्ष संवाद कार्यक्रम, अनलाइन फोरम र पाठक मञ्चहरू सञ्चालन गर्न सकिन्छ ।
७. क्षेत्रीय र भाषागत विविधताको उपयोग – नेपाली समाज विविधतायुक्त छ, जातीय, क्षेत्रीय, भाषिक विविधता छापा पत्रिकाले क्षेत्रीय भाषा, संस्कृतिलाई सम्बोधन गर्ने र ग्रामीण भेगसम्म पनि पुग्ने विशेष संस्करण निकालेर नयाँ पाठक समूह सिर्जना गर्न सक्छ । यसो गर्दा राष्ट्रिय स्तरमा आफ्नो पहुँच फैलाउन सकिन्छ ।
८. निष्ठा, पारदर्शिता र जिम्मेवारीलाई प्राथमिकता – मिडियामाथि बढ्दो अविश्वासको वातावरणमा छापा पत्रिकाले आफ्नो निष्ठा, पारदर्शिता र सामाजिक जिम्मेवारीलाई पहिलो प्राथमिकता दिनैपर्छ । निरपेक्षता, निष्पक्षता र जनहितका पक्षमा नडगमगाई उभिन सके मात्र पाठकको हराउँदै गएको विश्वास पुनःस्थापित गर्न सकिन्छ ।
त्यसैले समय र प्रविधिको गतिशील यात्राले हरेक क्षेत्रलाई जस्तै सञ्चार माध्यमलाई पनि गहिरो प्रभाव पारेको छ ।नेपालमा २०४६ सालको जनआन्दोलनपछि छापा पत्रकारिताको पुनर्जागरण भएको थियो । त्यसयता थुप्रै आरोह–अवरोह पार गर्दै छापा पत्रकारिता अगाडि बढ्यो । तर पछिल्लो प्रविधि विस्फोट र डिजिटल मिडियाको वर्चस्वसँगै यसको अस्तित्व नै संकटमा परेको छ ।
अनलाइन पोर्टलहरू, सामाजिक सञ्जाल र मोबाइल पत्रकारिताले सूचना उपभोगको शैलीलाई क्रान्तिकारी ढंगले परिवर्तन गरेका छन् । छापा पत्रकारिताले समयमै आफूलाई परिमार्जन नगर्दा पाठक संख्या घटेको र आर्थिक दबाब बढेको देखिन्छ ।यद्यपि, यो परिवर्तनलाई अवसरका रूपमा लिन सक्ने हो भने छापा पत्रकारिताका लागि भविष्य अझै सम्भावनापूर्ण छ ।
गहिरो अनुसन्धानमूलक पत्रकारिता, तथ्यमा आधारित विशेष सामग्री, विश्लेषणात्मक रिपोर्ट र समाजमा सकारात्मक परिवर्तन ल्याउने धारिलो भूमिका आज पनि छापा पत्रिकाको बलियो पक्ष हो । डिजिटल प्रविधिसँग सहअस्तित्व विकास गर्दै गुणस्तरीय सामग्री उत्पादन, लक्षित पाठक सिर्जना र नयाँ व्यवसायिक मोडेलको खोजी गरेर छापा पत्रकारिता पुनः उत्कर्षमा पुग्न सक्छ ।
विश्वसनीयता, पारदर्शिता र निष्ठा जस्ता मूल्यमान्यतामा आधारित भएर छापा पत्रकारिता अघि बढेमा प्रविधिको लहरसँग जुध्दै पनि आफ्नो गरिमा जोगाउन सक्छ । कागजमा मात्रै होइन, डिजिटल स्पेसमा पनि आफूलाई प्रभावकारी बनाउँदै, सत्य र सूचनाको सेतु बन्ने चुनौती स्वीकार्न छापा पत्रकारिता तयार हुनैपर्छ । (लेखक अर्थ सवाल साप्ताहिकका सम्पादक तथा नेपाल पत्रकार महासंघ काठमाडौं शाखाका सचिव हुन् ।)
फोन : ०८१-५९०५०९, ९८५८०७४२५०
Email : info@satyapati.com, satyanews100@gmail.com
Phone : ९८५८०४००६३,९८५८०४००६४
Email : satyanews100@gmail.com
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
रमेश कुमार बोहोरा । काठमाडौं