२०८२ मंसिर २० , शनिबार 6, December 2025, Saturday

तरकारी खेतीबाट मनग्य आम्दानी गर्दै तुल्सीराम

सत्यपाटी
सत्यपाटी । बाँके । २०८१ चैत २५ गते सोमबार

रोजगारीका लागि विदेश जान तछाडमछाड गरिरहेका युवाहरूलाई बाँके बैजनाथ–४ का तुल्सीराम थारूले नेपालमै बसेर मिहिनेत गरे मासिक एक लाख रुपैयाँसम्म कमाउन सकिन्छ भनेर देखाई दिएका छन् । बैजनाथ–४ का एकमात्र व्यावसायिक कृषकका रूपमा परिचित थारूले ‘भाइको कृषि फर्म’ नामक फर्म सञ्चालन गरेर सोही फर्ममार्फत २०७७ सालदेखि तरकारी खेती गर्दै आएका छन् ।

तरकारी बेचेरै मासिक एक लाख रूपैयाँसम्म आम्दानी गर्दै आएको जनाउँदै कृषक थारूले गरे नेपालमै धेरै संभावना रहेको आफुले प्रमाणित गरेर देखाइदिएको बताए । बैजनाथ ४ तिलकपुरमा २५ कट्ठा जग्गामा तरकारीखेती गरिरहेका थारू सो खेती सुरु गर्नुभन्दा अघि घर बनाउने मिस्त्रीको रूपमा काम गर्थे । मिस्त्री काम गर्दा घरको आर्थिक अवस्था सुध्रिने र आम्दानीको स्रोत बढ्ने नदेखेपछि कृषिमा लागेको उनले बताए ।

‘म दिनभर मिस्त्री काम गर्थेँ । साँझ घर फर्किँदा कृषि हाट बजारमा तरकारी किन्न जान्थेँ । तरकारी किन्न जाँदा हाट बजारमै तरकारी बेचेर मनग्य आम्दानी भइरहेको कुरा थाहा पाएपछि यो व्यवसायमा लागेको हुँ,’ थारूले भने । ठुलो जग्गा खाली रहेको र त्यसैमा व्यवसाय सुरु गर्ने निधो गरेर आफू कृषि व्यवसायमा होमिएको उनको भनाइ छ । अहिले उनी २५ कट्ठा क्षेत्रफल जमिनमा तरकारी खेती गरिरहेका छन् । उक्त जग्गासमेत अपुग भएको उनको भनाइ छ ।

तुल्सीरामले तरकारी खेती सुरु गर्दा बहिनीको विवाहका लागि जम्मा भएको तीन हजार ५०० रूपैयाँ बहिनीसँग सापटी मागेर खेती सुरु गरेका थिए । उनले भने, ‘मसँग व्यवसायका लागि कुनै पनि पैसा थिएन । मैले बहिनीसँग सापटी मागेको हो । उनले विवाहको बेला जम्मा भएको पैसा दिएकी थिइन् । अहिले उसैका कारण लाखौँ कमाउने भएको छु ।’ थोरै लगानी गरेर धेरै आम्दानी गर्न सकिने माध्यम तरकारी खेती नै भएको उनले बताए ।

उनका अनुसार पहिला मिस्त्री काम गर्दा साहुले भने अनुसारको काम गर्नुपर्ने बाध्यता थियो । अहिले भने आफैँ मालिक भएर काम गर्दा कसैले केही भन्ला भन्ने डर र चिन्ता पनि छैन र आम्दानी पनि सोचे भन्दा धेरै भएको बताए । तरकारी खेती प्रवर्धनका लागि स्थानीय सरकारले समेत सहयोग गरेको जनाउँदै कृषक थारूले आफ्नो व्यवसायलाई प्रविधिमैत्री बनाउन विभिन्न सामग्री सहयोग पाएको बताए । गाउँपालिकाले थोपा सिँचाइका लागि मोटर सहयोग गरेको पनि उनको भनाइ छ ।

प्रकाशित मिति : २०८१ चैत २५ गते सोमबार