सूचनाको शक्ति - The Power Of Information

        

एक महिनामै बाँकेमा ३६ सय सवारी साधन कारबाहीमा

जिल्ला प्रहरी कार्यालय बाँकेले एक महिनामा तीन हजार ६०० भन्दा बढी सवारी साधन कारबाही गरी २९ लाख रुपैयाँभन्दा बढी राजस्व सङ्कलन गरेको छ । प्रहरीले गत फागुन महिनामा मात्र नियम विपरीत रहेका तीन हजार ६१४ वटा विभिन्न सवारी साधनलाई कारबाही गरेको जनाएको छ ।

उक्त सवारी साधन कारबाही गरेर २९ लाख ११ हजार ५०० रुपैयाँ जरिवाना गराई राजस्व सङ्कलन गरिएको हो । प्रहरीले फागुनमा १४ लाख ७१ हजार ८७५ रुपैयाँ बराबरको अवैध भन्सार छलीको सामानसहित तीन जना व्यक्ति र चार वटा मोटरसाइकल बरामद गरी कारबाहीका लागि सम्बन्धित निकायमा पठाएको जनाएको छ ।

त्यसैगरी अवैधरूपमा नदीजन्य पदार्थ उत्खनन गर्ने चार वटा टिप्पर र दुईवटा ट्याक्टर नियन्त्रणमा लिएर सम्बन्धित निकायमा पठाएर ४८ हजार रुपैयाँ जरिवाना गराइएको जानकारी दिएको छ । अवैधरूपमा भारतबाट ल्याइएका तीन लाख ७६ हजार ८१० रुपैयाँ मूल्य बराबरको ब्रोइलर कुखुरा र मासु बरामद गरी आवश्यक कारबाहीका लागि पशु क्वारेन्टाइन कार्यालय नेपालगन्ज पठाइएको छ ।

त्यसैगरी फागुन महिनामा प्रहरीले विभिन्न अपराध सम्बन्धी १३१ वटा मुद्दा दर्ता गरेको छ । उक्त मुद्दामा संलग्न १०२ जना व्यक्तिलाई पक्राउ गरी कानुनी दायरामा ल्याएको छ । १५ वर्ष २ महिना १८ दिन कैद सजाय तोकिएका ६५ जना फरार अपराधीलाई पक्राउ गरिएको र उनीहरूबाट चार लाख ३५ हजार ५५ रुपैयाँ जरिवाना असुल गरिएको छ । यस समयावधिमा ६५ वटा पेन्डिङ मुद्दाहरू फछ्र्याैट गरिएको छ ।

४१४ वटा ठाडो उजुरी दर्ता भएकोमा ३९६ वटा उजुरी फछ्र्याैट गरिएको र १८ वटा उजुरी फछ्र्याैट प्रक्रियामा रहेको छ । हराएका तीन वटा मोटरसाइकल र एउटा साइकल, १२ थान आइफोन र एन्ड्रोइड मोबाइल फोन फेला पारी सम्बन्धितलाई बुझाइएको छ । लागुऔषध ओसारपसारविरुद्ध योजनाबद्ध रूपमा प्रहरी परिचालन गरी २२ जनालाई कानुनी दायरामा ल्याइएको छ ।

उनीहरुको साथबाट एक किलो १०६ ग्राम ४१६ मिलिग्राम ब्राउनसुगर, ट्रामाडोल पाँच हजार ट्याब्लेट र चार किलो २०० ग्राम चरेस समेत बरामद गरिएको छ । महिला बालबालिकासँग सम्बन्धित अपराध अनुसन्धान–कारबाहीतर्फ १५ वटा मुद्दा दर्ता भएकोमा संलग्न ११ जनालाई पक्राउ गरिएको छ । प्रहरीका अनुसार घरेलु हिंसा सम्बन्धी ३१ वटा उजुरी दर्ता भएकोमा २४ वटा उजुरीमाथि छानबिन गरी फछ्र्याैट गरिएको र बाँकी अनुसन्धानका क्रममा रहेको छ ।

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक हराएका सम्बन्धमा ४६ वटा निवेदन दर्ता भएको र १५ जना फेला पारी अभिभावकको जिम्मा लगाइएको र बाँकीको खोजतलास जारी रहेको, सीमा नाकाबाट ८१ जना महिला, बालबालिका तथा ज्येष्ठ नागरिकहरूको उद्दार गरिएको र अलपत्र अवस्थामा १५ जनालाई फेला पारी संरक्षणका लागि सम्बन्धित संस्थामा पठाइएको प्रहरीले जनाएको छ ।

समुदाय प्रहरी सहकार्यतर्फ लैङ्गिक हिंसा, लागुऔषध सम्बन्धी सचेतना, आत्महत्या न्यूनीकरण सम्बन्धी सचेतना, अल्पसङ्ख्यकसँग प्रहरी, नागरिक सुनवाइ, समुदाय प्रहरी साझेदारी, साइबर अपराध र चोरी सम्बन्धी सचेतना लगायतका १६० वटा विभिन्न सचेतनाका कार्यक्रमहरू सञ्चालन गरिएको प्रहरीले जनाएको छ ।

त्यसैगरी लेन अनुशासन, जेब्रा क्रसिङ, ट्राफिक लाइटसहित २५१ वटा ट्राफिक सम्बन्धी सचेतनामूलक कार्यक्रम पनि सञ्चालन गरिएको छ । आन्तरिक सुदृढीकरण प्रयासतर्फ उत्कृष्ट कार्य गर्ने १४ जना प्रहरी कर्मचारीलाई पुरस्कृत गरिएको र आचरणविपरीत कार्य गर्ने तीन जना प्रहरी कर्मचारीलाई विभागीय कारबाही गरिएको छ ।

प्रकाशित मिति : ३ चैत्र २०८१, आइतवार १९:२८

लोकप्रिय