गएको फागुन २५ गते पूर्वराजा ज्ञानेन्द्र शाहको स्वागतमा हजारौं मानिस सडकमा उत्रिएपछि त्यसको चर्चा सदनदेखि सामाजिक सञ्जालसम्मै भइरहेको छ । त्यस दिनयता बसेका संसद् बैठकमा पूर्वराजा, राजतन्त्र र गणतन्त्रको विषय नउठेको दिन नै छैन । सांसदहरुबीच यिनै विषयमा आरोप–प्रत्यारोप चलिरहेको छ ।
आजको संसद् बैठकमा त दुई सांसद भनाभनमै उत्रिए । त्यसपछि सभामुखले हस्तक्षेप नै गर्नुप¥यो । राजतन्त्रको कट्टर समर्थक राप्रपाका सांसद ज्ञानेन्द्रबहादुर शाही र गणतन्त्रवादी पार्टी रघुजी पन्तबीच भनाभन भएको हो । सांसद पन्त बोलिरहँदा शाहीले इतिहास तोडमोड गर्न खोजेको नियमापत्ति गरेका थिए । त्यसपछि पन्त पनि प्रतिकारमा उत्रिएका हुन् ।
प्रतिनिधि सभा बैठकको विशेष समयमा एमाले सांसद पन्तले राजा त्रिभुवन भारत प्रवासमा रहेको बेलाको प्रसंगको कुरा गरेका थिए । नेपालका राजाले कोलकाताको क्लबमा महिलासँग रसरंग गरेको विषयमा भारतीय प्रधानमन्त्री जवाहरलाल नेहरूले समेत बोलेको सांसद पन्तले बताएका थिए । त्यसपछि राप्रपा संसदीय दलका प्रमुख सचेतकसमेत रहेका शाहीले आपत्ति जनाए । सांसद पन्तले इतिहास तोडमोड उनले गरेको आरोप लगाए ।
त्यसपछि आक्रोशित हुँदै सांसद पन्तले भने, ‘इतिहास पढेर आउनू, जुम्लामा हा हु गरेजस्तो होइन ।’ त्यसपछि संसद्मा केहीबेर भनाभन भएको थियो । सांसद पन्तले विश्वमै राजतन्त्र भनेको षडयन्त्र भएको टिप्पणी गरे । उनले राजतन्त्र इतिहास भइसकेको भन्दै संसद्मा यसबारे बहस गर्न रोक लगाउन सभामुखको ध्यानाकर्षण गराए ।
‘त्रास खडा गरेर वातावरण बिगारिन्छ भने प्रतिपक्ष त सडकमा गइसक्यो, सत्तापक्ष सडकमा आउने दिन आउन सक्छ,’ सांसद पन्तले भने । सांसद पन्तले तथ्य, तर्क र यथार्थमा उभिएर राजनीति गरिनुपर्नेमा जोड दिए । भ्रम र निराशाको खेतीले केही समय मानिसलाई अलमलमा पार्न सक्ने उनको भनाइ थियो ।
सांसद पन्त बोलिरहेका बेला शाहीले अवरोध गरेपछि सभामुख देवराज घिमिरेले संसद् बैठकमा एकजना सांसदले बोलिरहँदा अर्कोले डिस्टर्ब नगर्न रुलिङ गरेका छन् । पन्तले राजतन्त्रका विभिन्न प्रसंग झिक्दै गणतन्त्र ठीक भएको भन्दै अभिव्यक्ति दिइरहेका बेला राप्रपाका सांसद शाहीले आपत्ति जनाएका थिए ।
शाहीले पन्तका भनाइप्रति आपत्ति जनाउन समय माग्दै आफ्नो ठाउँबाट उठे पनि सभामुख घिमिरेले उनलाई समय दिएनन् । सभामुख घिमिरेले संसद्मा एकले बोलेका कुरामा अर्को सांसदलाई चित्त नबुझ्दैमा बोल्न अवरोध गर्न नहुने बताएका थिए । उनले भने, ‘सत्यतथ्यमा आाधारित भएर, मर्यादित रुपमा विषयमा केन्द्रित भएर बोल्नुपर्छ भन्ने कुरामा बोल्न माननीय सदस्यहरु सचेत हुनुहुन्छ ।’
सांसद शाहीप्रति लक्षित गर्दै सभामुखले थपे, ‘माननीय सदस्यलाई बोलेका कुरामा मन नपर्न सक्छ । त्यसमा असहमति राख्न पाइन्छ । त्यसको आफैं विधि र प्रक्रिया छन् । ती विधि र प्रक्रियाबाट आफ्ना भनाइ राख्न पाइन्छ । त्यसलाई विचार गरेर बोल्नु हुनेछ भन्ने विश्वास मलाई छ । फेरि यस्तो अवस्थामा नआओस् । यसतर्फ म ध्यानाकर्षण गराउन चाहन्छु ।’
राप्रपा सांसद शाही संसद्मा मात्र सीमित भएनन् । उनले सामाजिक सञ्जालमा आएर सांसद पन्तलाई प्रहार गरेका छन् । संसद्को भनाभनपछि उनले फेसबुकमा लेखेका छन्, ‘जुम्लाबाट हाहा होहो गरेर आएको होइन, जनताबाट चुनाव जितेर आएको हो माननीयज्यू । तपाईंजस्तो प्रधानमन्त्री केपी शर्मा ओलीज्यूको पछाडि हिँडेर सेतोलाई कालो कालोलाई सेतो भनेर निगाह थापेर आएको होइन ।’
फोन : ०८१-५९०५०९, ९८५८०७४२५०
Email : info@satyapati.com, satyanews100@gmail.com
Phone : ९८५८०४००६३,९८५८०४००६४
Email : satyanews100@gmail.com
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । काठमाडौं