सूचनाको शक्ति - The Power Of Information

        

बैजनाथका भूमिहिन सुकुम्बासीलाई निस्सा वितरण

बाँके जिल्लाको बैजनाथ गाउँपालिकाले भूमिहिन दलित, भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोवासीहरूलाई निस्सा वितरण सुरु गरेको छ । पालिकाको वडा नम्बर ४ का अध्यक्ष प्रेमबहादुर शाहीको अध्यक्षतामा बिहीबार आयोजित एक कार्यक्रममा गाउँपालिकाका अध्यक्ष प्रकाशबहादुर शाहीले निस्सा वितरण कार्यक्रमको शुभारम्भ गरे ।

वडा सचिव तिलक खत्रीका अनुसार, वडा नम्बर ४ मा कुल एक हजार ३१७ जना स्थानीयलाई निस्सा वितरण गरिने भएको छ । कार्यक्रममा बोल्दै बैजनाथ गाउँपालिका अध्यक्ष शाहीले बैजनाथ गाउँपालिका भूमिहीन दलित, भूमिहिन सुकुम्बासी तथा अव्यवस्थित बसोवासीहरूको पक्षमा रहेको बताए । उनले निर्वाचनमा गरेका वाचा पूरा गर्ने प्रतिबद्धता व्यक्त गर्दै भने, ‘हामीले चुनावमा गरेका वाचा पूरा गरेका छौँ ।’

गाउँपालिकाका उपाध्यक्ष निर्मला रोकायले पालिकाभित्रका सबै भूमिहीन र सकुम्बासीको पहिचान भइसकेकोले सबैलाई निस्सा वितरण गरिने जनाउँदै कसैलाई काखा कसैलाई पाखा नगरिने बताइन् । राष्ट्रिय भूमि आयोग बाँके जिल्ला सदस्य केशवकुमार शाहले आयोगले बाँके जिल्लाको भूमिहिन र सुकुम्बासीको समस्या सधैंका लागि समाधान गर्ने गरि काम गरिरहेको बताइन् ।

सो अवसरमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत धर्मराज न्यौपाने लगायत स्थानीय समाजसेवी, राजनीतिक दलका प्रतिनिधि, सुरक्षा निकायका प्रतिनिधि र स्थानीयहरूको सहभागिता रहेको थियो । भूमिहिन दलित, भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोवासीहरूको व्यवस्थापनका लागि राष्ट्रिय भूमि आयोगले विभिन्न नियमावली तथा कार्यविधिहरू तयार पारेको छ ।

यसमा ‘भूमिहीन दलित, भूमिहिन सुकुम्बासी तथा अव्यवस्थित बसोवासीको लगत सङ्कलन सम्बन्धी कार्यविधि, २०८१’ र ‘भूमिहीन दलित, भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोवासीलाई जग्गा उपलब्ध गराउने सम्बन्धी कार्यविधि, २०८१’ लगायतका नियमावलीहरू रहेका छन् । यसका साथै, ‘भूमि सम्बन्धी नियमहरू, २०२१’ ले भूमिसम्बन्धी व्यवस्थापन र वितरण प्रक्रियालाई स्पष्ट पारेको छ ।

प्रकाशित मिति : ३ चैत्र २०८१, आइतवार १०:४८

लोकप्रिय