सूचनाको शक्ति - The Power Of Information

        

विचार

खेलकुद, मेला र प्रशासनिक झमेलाको जालोमा कोहलपुर

कोहलपुर मेलाको शहर मात्र होइन, झमेलाको शहरको रूपमा चिनिँदैछ ।

कोहलपुर पश्चिम नेपालकै एक महत्वपूर्ण आधुनिक व्यापारिक, ब्यावसायिक तथा आर्थिक आशाको केन्द्र समृद्धिको यात्रामा लम्किएको शहर । पूर्वपश्चिम राजमार्ग हिमाल पहाड तराईकाको संगम रहेको भौगोलिक धरोहर, व्यावसायिक सम्भावनाको भूमि, अनि सरकारको नीतिगत लगानीको केन्द्र पनि । तर पछिल्ला वर्षहरूमा यो शहर आफ्नो परिचय बदल्दै गएको छ । अब यो सुशासनको भन्दा पनि आन्तरिक प्रशासनिक विवाद र सामाजिक अस्तव्यस्तताको पर्याय बन्दै गएको छ ।

शिक्षा, रोजगारी, र सुशासनको खडेरी

कोहलपुर नगर क्षेत्रमा केही समय देखि नागरिकका आधारभुत आवश्यकता र सरोकार भन्दा बाहिरका विषयमा स्थानीय सरकार सङ्गै यहाँका सरोकारवाला निकायको प्रत्यक्ष सहभागिता भएका घटनाक्रमको शृङ्खलाहरुले नकारात्मक सन्देश दिएको छ । कोहलपुरका नागरिकहरू यस्ता घटनासँग अपरिचित नभएको पनि होइन । शिक्षामा पटक–पटक विवाद, अनियमितता, निजीकरणको बढ्दो प्रभाव अनि कोहलपुरका सार्वजनिक विद्यालयहरूको कमजोर व्यवस्थापनले शैक्षिक हवको महत्वाकांक्षी योजनाले उपलब्धी हासिल गर्न सकेको छैन । स्थानीय आवस्यकता र सृजनात्मक रोजगारीमा धाँधली, प्रशासनिक अस्थिरता अनि सार्वजनिक सेवाहरूमा देखिएको ढिलासुस्ती अपरिपक्वताले नागरिकमा नकारात्मक असर पारिरहेको देखिन्छ ।

समग्र कोहलपुरको विकास, योजना र रणनीतिक कार्यको नारा दिनेहरूले नै गलत कार्यहरूको दोहोर्याइरहेका छन । स्थानीय नगरपालिकाले सुशासनको सुनिश्चितता गर्नुपर्ने जिम्मेवारी पूरा गर्न सकेको देखिदैन, प्रदेश सरकारको योजना र स्थानीयको जनप्रतिनिधिको विकास कार्यक्रमको तालमेल मिलेको छैन । राज्य सरकारको लगानीले आयोजना, परियोजना र बिकासमा ब्यावसायिकता हुनुपर्छ तर परिक्षण गरिने उत्कृष्टता क्षमता प्रदर्शनी गरिने कार्यक्रममा होइन । राज्यका सरोकारवाला कार्यालयले पारदर्शी कार्यक्रम सञ्चालन गर्नुपर्ने तर संघ, प्रदेश र स्थानीय तहका सरकारहरू गैरजिम्मेवार ढङ्गले आफ्नै तालमा रमाएका देखिन्छन ।

मुख्यमन्त्री कोहलपुर गोल्ड कप : खेलकुद कि व्यापार ?

यही परिप्रेक्ष्यमा कोहलपुरमा ‘मुख्यमन्त्री कोहलपुर गोल्ड कप’ फुटबल प्रतियोगिता आयोजना संचालन गरिएको छ यो आफैमा कोहलपुरको बिकास समृद्धि र परिचयका लागि महत्त्वपूर्ण र स्राहनिय कार्यक्रम हो । आयोजक रेसिङ्ग साहारा क्लब, संरक्षक कोहलपुर नगरपालिका, सहयोगी प्रदेश सरकार तथा अन्य निकायहरू रहेको यो खेलकुद प्रतियोगिता निरन्तरताको तेस्रो संस्करण सम्म पुग्न सफल भएको छ । एउटा क्लबको निरन्तरको अथक मेहनत र सरोकारवाला निकायको सक्रिय सहभागिता सहयोगको प्रतिफलको रुपमा ऐतिहासिक गौरवको उत्कृष्ट प्रतियोगिता निरंतरता आवश्यक देखिन्छ ।उद्देश्य पबित्र लक्ष्य राष्ट्र राष्ट्रिय हित र गौरवमा योगदान पुर्याउने रहेको छ ।

यस क्षेत्रको खेलकुदको प्रवद्र्धन, खेलाडीहरूको प्रोत्साहन र स्थानीयस्तरमा खेल संस्कृतिको विकास अपरिहार्य छ । बिगत देखि सरकारी लगानी रहेको, करदाताको करको संचित कोषको योगदान, राज्यको सरकारको गरिमा मुख्यमन्त्री ओहदाको बिल्ला झुन्डिएको प्रतियोगितामा आम सर्वसाधारण नागरिकका लागि खेल हेर्ने मनोरंजन लिने कार्यमा असहजता हुने दर्शकलाई लक्षित गरि प्रवेश शुल्क लगाइनु अशोभनीय र दुःखद छ । अनपेक्षित रूपमा यो खेल महोत्सव पनि व्यापारिक सोचले प्रभावित भएको देखियो । सार्वजनिक खुल्ला गरिनुपर्ने कार्यक्रम भएर पनि आयोजकको ब्यबस्थापकिय कठिनाइले गर्दा प्रवेश टिकट अनिवार्य गरिएको देखिन्छ ।

मुख्यमन्त्री कोहलपुर गोल्ड कपका अवलोकनकर्ता विद्यालयका विद्यार्थी, सर्वसाधारण दर्शक सबैलाई खेल हेर्न शुल्क तिर्नुपर्ने भयो । राज्यको लगानीमा सञ्चालित कार्यक्रममा फेरि पनि व्यवसायिक सोच हाबी भयो । प्रश्न उठेको छ जब सरकारी बजेटकै लगानीमा राज्यको गरिमामय पदको नाममा आयोजना भइरहेको छ भने, सर्वसाधारण नागरिकले फेरि पनि किन पैसा खर्चनुपर्ने ? यसले खेलाडीहरूको भविष्य सुनिश्चित गर्ने भन्दा पनि, टिकट बिक्रीमार्फत आर्थिक लाभ उठाउने प्रवृत्तिले निराशा जन्माएको छ ।

मेला–महोत्सव कि सुशासन ?

कोहलपुर आज मेलाहरूको शहर बनेको छ । हरितालिका तीजमा मेला, दशैंमा मेला, माघीमा मेला, नयाँ वर्षमा मेला विभिन्न जातजाति भाषा धर्मावलम्बीका मेला सङ्गै उद्योगीको मेला, व्यापारीको मेला, युवाको मेला, बाहुन–क्षेत्रीको मेला, मगरको मेला, आदिवासीको मेला विभिन्न पेसागत शैक्षिक प्रदर्शनी मेला, खेलकुद मेला महोत्सवले गर्दा प्रायः प्रत्येक महिना कुनै न कुनै रूपमा मेला आयोजना भएको देखिन्छ ।

यसले बिध्यार्थीको पठनपाठनमा समेत असर गरेको देखिन्छ ब्यावसायिक क्षेत्र प्रभावित भएको छ यसले प्रशासनिक संयोजनभन्दा पनि आर्थिक लाभका लागि यस्ता कार्यक्रमहरू भइरहेका छन । मेला–महोत्सवले सांस्कृतिक पहिचान जोगाउँछ, व्यापार प्रवद्र्धन गर्छ, तर जब हरेक महिना कुनै न कुनै कार्यक्रमको नाममा टिकट, चन्दा वा अनावश्यक शुल्क असुलिन्छ तब नागरिकहरू नै अन्यायमा पर्छन । खेलकुदको नाममा पनि यही चलखेल हुनुले कोहलपुरको अवस्था झनै खस्किएको देखाउँछ ।

टिकट बिक्रीको गलत परिपाटी

‘मुख्यमन्त्री कोहलपुर गोल्ड कप’ खेलकुदका लागि ठूलो अवसरको रुपमा रहेको छ । यसले स्थानीय खेलाडीलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा अघि बढाउने वातावरण बनाउन सक्छ । विद्यालयका विद्यार्थीहरूलाई निःशुल्क प्रवेश दिएर खेलप्रति रुचि बढाउन सकिन्थ्यो । तर सरकारी लगानी हुँदाहुँदै पनि टिकट अनिवार्य गरिनु अस्वीकार्य छ । यस घटनाले प्रशासनिक संयन्त्रको असक्षमताको झल्को दिएको छ । खेलकुद प्रवद्र्धन गर्न सरकारहरू अग्रसर देखिए पनि त्यसलाई व्यापारिक सोचले प्रभावित गर्दा उद्देश्य नै समाप्त हुन्छ । नगरपालिकाले यसप्रति आफ्नो स्पष्ट भूमिका खेल्नुपर्छ, मुख्यमन्त्री कार्यालयले जवाफदेहिता, पारदर्शिता देखाउनुपर्छ र खेलकुद आयोजनामा आर्थिक असमानता हटाइनुपर्छ ।

खेलकुदलाई स्वच्छ बनाऔं

खेलकुद मनोरञ्जन मात्र होइन, यो विकास र अवसरको माध्यम हो । जब यसलाई पनि टिकट बिक्रीमार्फत व्यापारिक रूपमा उपयोग गरिन्छ, तब खेलाडीहरूको भविष्य, दर्शकहरूको रुचि र खेलकुद संस्कृतिमा नै नकारात्मक प्रभाव पर्छ । कोहलपुर नगरपालिकाले खेलकुदलाई व्यापारिक रूपमा होइन, नागरिक युवा खेलाडीहरुको हकको रूपमा विकास गर्नुपर्छ । सरकारका हरेक तहले खेलाडीहरूलाई प्राथमिकता दिनुपर्छ, खेलकुदको वातावरण पारदर्शी बनाइनुपर्छ र मेलाको नाममा भइरहेको अनियमित गतिविधिहरूको समीक्षा गर्नुपर्छ । अन्यथा, कोहलपुर मेलाको शहर मात्र होइन, झमेलाको शहरको रूपमा चिनिनेछ ।

प्रकाशित मिति : १९ फाल्गुन २०८१, सोमबार ०८:०४

लोकप्रिय