तोकिएकै समयमा महाधिवेशन भयो भने अझै झण्डै एक वर्ष नेपाली कांग्रेसको नेतृत्व शेरबहादुर देउवाले नै गर्नेछन् । तर देउवा अझै आफ्नो कार्यकाल बढाउने योजनामा छन् । देउवा सभापतिको कार्यालय बढाउने योजनामा लागिरहँदा संस्थापन र इतर पक्षका नेताहरुले भने महाधिवेशन लक्षित गतिविधि सुरु गरिसकेका छन् ।
१४ औं महाधिवेशनमा सभापतिमा पराजित भएका डा.शेखर कोइराला एकचरणको देश दौडाहा पूरा गरेका छन् । उनले तोकिएकै समयभित्र महाधिवेशन गर्न निरन्तर दबाव दिइरहेका पनि छन् । अर्थात् डा. शेखर कोइराला संस्थापन इतर पक्षबाट निर्बिकल्प सभापतिका उम्मेदवार हुन् ।
विधानतः देउवा सभापतिमा लड्न नपाउने भएपछि संस्थापन पक्षभित्र भावी सभापतिलाई लिएर नेता नै पिच्छेले दाबी गर्न थालेका छन् । गोपालमान श्रेष्ठ, कृष्ण सिटौला, प्रकाशमान सिंह, बिमलेन्द्र निधि त देउवालाई रिझाउन थालिसकेका छन् ।
१४ औं महाधिवेशनमा इतर पक्षबाट महामन्त्री जितेका र अहिले संस्थापन पक्षसँग निकट गगन थापा १५ औं महाधिवेशनमा सभापतिका उम्मेदवार हुन् । त्यसको घोषणा उनले गरिसकेका छन् । तर उनलाई देउवाको उत्तराधिकारी मान्न देउवा क्याम्पका नेता तयार छैनन् ।
देउवा र गगनको हिमचिम बढेपछि देउवाको निकट मानिने नेता एनपी साउद, मीन विश्वकर्मा, मोहन बस्नेतलगायतका नेता कोइराला क्याम्पमा गएको चर्चा पनि छ । कांग्रेसभित्र महाधिवेशनको मिति र भावी सभापतिका विषयमा फरक फरक अड्कलबाजी भएपछि गत शुक्रबार संस्थापन पक्षका नेताहरु हुल बाँधेर देउवालाई भेट्न निवास बुढानिलकण्ठ नै पुगे ।
त्यहाँ उनीहरुले विगतमा आफूहरुले गरेको सहयोगको स्मरण मात्रै गराएनन्, त्यसको बदलामा अब आफूलाई सहयोग गर्न सभापति देउवालाई आग्रह नै गरे । यसअघि देउवा क्याम्पमा नखुलेका पूर्वमहामन्त्री एवं विपी पुत्र डा. शशांक कोइराला पहिलो पटक देउवा गुटको भेलामा सहभागी भएपछि १५ औं महाधिवेशनमा उनी पनि सभापतिको आकांक्षी रहेको लुकेन ।
त्यतिमात्रै होइन, कतिपयले त देउवाले आफ्नो उत्तराधिकारी शशांकलाई नै बनाउँछन् भन्ने चर्चा गर्दछन् । त्यसका पछाडि दुई वटा कारण छन्, पहिलो शशांकसँग कुनै गुट छैन । उनी सभापति भएको खण्डमा नेपथ्यबाट पार्टी सञ्चालन आफैं गर्ने हो भन्ने देउवालाई थाहा छ ।
दोस्रो–शशांक बिपी पुत्र हुन् । शशांकलाई सभापति बनाएर आफूले कोइराला परिवारको सम्मान गरेको भन्न देउवालाई सजिलो छ । त्योसँगै देउवालाई कांग्रेसको राजनीतिमा पत्नी आरजू देउवालाई स्थापित पनि गर्नुछ । त्यसका लागि शशांकलाई सभापति बनाउँदा आरजूलाई कांग्रेसको राजनीतिमा स्थापित गर्न सहज हुने कुरा देउवालाई थाहा नहुने कुरै भएन ।
देउवालाई पनि शशांकलाई अगाडि सार्नका लागि समस्या छैन किनकि शशांकलाई सभापति बनाउँदा उनको प्यानलबाट अन्य पदाधिकारीमा दावेदारी गर्नेहरु छैनन् । अर्थात, सभापति शशांकलाई दिए देउवाले अन्य पदाधिकारीहरु आफ्ना विश्वासपात्रहरुलाई बनाउन सक्छन् ।
देउवा नेपाली राजनीतिका चतुर र भाग्यमानी नेता हुन् । ०४६ सालको राजनीतिक परिवर्तनपछि सबैभन्दा कम उमेरमा प्रधानमन्त्री बन्ने रेकर्ड बनाएका देउवा जीवनको उत्तराद्र्धमा पनि प्रधानमन्त्री बन्ने लाइनमा छन् । कम बोल्ने तर आफ्नो कुरा लागू गराइ छोड्ने देउवामाथि यतिबेला उत्तराधिकारी तोक्न दबाव छ ।
त्यही भएर गत शुक्रबार देउवा निवासमा उनी निकट नेताको लामै छलफल चल्यो । सबैले आफूलाई सहयोग गर्न आफ्नै तरिकाले देउवालाई आग्रह गरे । देउवाले सबैको कुरा सुने, तर कसैलाई पनि वचन दिएनन् ।
उक्त भेलाबाट देउवाले दुई वटा राजनीतिक सन्देश दिएको निकटवर्ती बताउँछन् । यतिबेला देउवाको उत्तराधिकारी गगन थापा हुने हुन् कि भन्ने चिन्ताले संस्थापन पक्ष त्रसित छ । जसरी पनि गगनलाई रोक्न चाहने नेताहरु संस्थापन पक्षमा बलियो छन् । तर देउवासँग गगनको बढ्दो हिमचिमले उनीहरुको मनमा ढ्यांग्रो ठेकेको देखिन्छ ।
सो छलफल देउवाले गगनलाई साइजमा राख्न उपयोग गरेको संस्थापन पक्षका नेताहरुको बुझाइ छ । किनभने सो भेलामा गगन सहभागी थिएनन् । र, देउवाले गगन आफ्नो उत्तराधिकारी होइनन् भन्ने सन्देश सो छलफलमार्फत दिएका छन् ।
यतिबेला देउवाका पुराना सहयोग एनपी साउदलगायतका नेताहरुले देउवाको साथ छोडेको चर्चा छ । तर, सो छलफलमार्फत देउवाले एनपी साउद आफूभन्दा धेरै बाहिर पुगेका छैनन् भन्ने सन्देश दिएका छन् ।
‘तत्काल आफ्नो उत्तराधिकारी नतोक्ने नीति लिनु भएका देउवाले अन्तिममा नेपथ्यबाट आफूले पार्टी चलाउने र कोइराला परिवारको पनि सम्मान गरेको अर्थ लाग्ने गरी शशांक कोइरालालाई अगाडि बढाए अचम्म नमान्दा हुन्छ,’ एक नेताले भने ।
फोन : ०८१-५९०५०९, ९८५८०७४२५०
Email : info@satyapati.com, satyanews100@gmail.com
Phone : ९८५८०४००६३,९८५८०४००६४
Email : satyanews100@gmail.com
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । काठमाडौं