चालु आर्थिक वर्षको ६ महिनामा बाँके जिल्लामा लुम्बिनी प्रदेश सरकारका कार्यालयको विकास खर्च निकै न्युन नौ प्रतिशत मात्र भएको पाइएको छ । कोष तथा लेखा नियन्त्रक कार्यालय बाँकेका प्रमुख कोष नियन्त्रक मोहन शरण भण्डारीले चालु आर्थिक वर्षको ६ महिनामा प्रदेश सरकारतर्फको पूँजीगत खर्च नौ प्रतिशत मात्रै भएको बताए ।
उनले सङ्घीय सरकारका कार्यालयको विकास खर्च भने ३७ प्रतिशत भएको जनाए । बाँकेका प्रमुख कोष नियन्त्रक भण्डारीका अनुसार प्रदेश कार्यालयका लागि आर्थिक वर्षको २०८१–०८२ मा लुम्बिनी प्रदेश सरकारबाट पुँजीगततर्फ दुई अर्ब २६ करोड ६५ लाख ९२ हजार रुपैयाँ विनियोजन भएकोमा गएको ६ महिनामा २१ करोड आठ लाख ६३ हजार ७६९ रुपैयाँ मात्र निकासा भएको छ ।
जिल्लास्थित प्रदेश कार्यालयका लागि चालु बजेटतर्फ एक अर्ब २८ करोड २५ लाख ५३ हजार ९०० रुपैयाँ विनियोजन भएकोमा पुस मसान्तसम्म २८ करोड ९१ लाख १५ हजार ९५० रुपैयाँ अर्थात् २३ प्रतिशत निकासा भएको पाइएको कोष नियन्त्रक भण्डारीले बताए । उनले अघिल्लो आर्थिक वर्षको प्रमाणीकरण दायित्व भुक्तानीका लागि मन्त्रिपरिषदबाट निर्णय नभएको, चालु योजनाहरूको भुक्तानी समयमै नभएको लगायतका विभिन्न कारणले न्युन खर्च भएको बताए ।
योजना कार्यान्वयन गर्ने समय रहेकाले अन्तिमसम्म सन्तोषजनक पूँजीगत खर्च हुने अपेक्षा गरिएको कोष तथा लेखा नियन्त्रक कार्यालयले जनाएको छ । कार्यालयका अनुसार चालु आर्थिक वर्ष २०८१–०८२ को पुस मसान्तसम्म बाँकेका सङ्घीय कार्यालयले ३७ प्रतिशत पुँजीगत बजेट खर्च गरेको पाइएको छ । चालु आर्थिक वर्षमा जिल्लाका सङ्घीय कार्यालयको पुँजीगत बजेट ६ अर्ब ९१ करोड ४९ लाख ५८ हजार ५०० रुपैयाँ विनियोजन भएकोमा पुस मसान्तसम्म २ अर्ब ५४ करोड ६७ लाख दुई हजार ३४ रुपैयाँ निकासा भएको छ ।
सोही प्रकारले सङ्घीय कार्यालयले चालु बजेटतर्फ ४९ प्रतिशत खर्च गरेको पाइएको छ । चालु बजेटतर्फ ११ अर्ब ८९ करोड ५५ लाख ९८ हजार ८०० रुपैयाँ विनियोजन भएकोमा छ । महिनामा पाँच अर्ब ७७ करोड ४९ लाख तीन हजार २८१ रुपैयाँ निकासा भएको प्रमुख कोष नियन्त्रक मोहन शरण भण्डारीले बताए । लुम्बिनी प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८१–०८२ को छ महिनामा विकास बजेट १६ प्रतिशत खर्च गरेको छ । चालु आर्थिक वर्षको पुस मसान्तसम्म १६ दशमलव ६४ प्रतिशत पुँजीगत बजेट खर्च भएको प्रदेश लेखा नियन्त्रक कार्यालय देउखुरीले जनाएको छ ।
फोन : ०८१-५९०५०९, ९८५८०७४२५०
Email : info@satyapati.com, satyanews100@gmail.com
Phone : ९८५८०४००६३,९८५८०४००६४
Email : satyanews100@gmail.com
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । बाँके