सूचनाको शक्ति - The Power Of Information

        

बाँकेका ३०० बढी उद्योग तथा फर्म खारेज

चालु आर्थिक वर्ष २०८१–०८२ को पुस मसान्तसम्म ६ महिनाको समय अवधिमा घरेलु तथा साना उद्योग कार्यालय बाँकेमा ३०० भन्दा बढी उद्योग तथा फर्म खारेज भएका छन् । घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख उद्योग अधिकृत रमेशबहादुर बुढाथोकीका अनुसार चालु आर्थिक वर्षको छ महिनामा उद्योगतर्फ १०८ र वाणिज्यतर्फ २३८ उद्योग तथा फर्म खारेज भएका छन् ।

‘चालु आर्थिक वर्षको ६ महिनामा उत्पादनमूलक, कृषि तथा वन्यजन्तु, पर्यटनमूलक, सेवामूलक लगायत उद्योगतर्फ १०८ र वाणिज्यतर्फ प्राइभेट र साझेदारी फर्म २३८ गरी जम्मा ३४६ उद्योग तथा फर्महरु खारेज भएका छन्,’ प्रमुख बुढाथोकीले भने, ‘लगतकट्टा (खारेजी)का साथसाथै नयाँ उद्योग तथा फर्महरु दर्ता पनि हुँदै आएका छन् । तर पछिल्ला केही वर्षदेखि लगातार खारेजी गर्नेको सङ्ख्यामा वृद्धि हुँदै आएको छ ।’

प्रमुख उद्योग अधिकृत बुढाथोकीका अनुसार छ महिनाको समय अवधिमा विभिन्न प्रकृतिका ३६८ नयाँ उद्योग र वाणिज्यतर्फ ४१० नयाँ फर्म दर्ता भएका छन् । ‘कार्यालयको तथ्याङ्कमा विगत चार–पाँच वर्षदेखि लगातार नयाँ उद्योग तथा फर्म दर्ता गर्नेको सङ्ख्या घटिरहेको छ भने खारेज गर्नेको सङ्ख्या बढेको छ,’ उनले भने, ‘आर्थिक मन्दी, बैङ्कको चर्को ब्याज, खुला सिमानालगायत कारण भारतीय बजारसँग प्रतिस्पर्धा गर्न नसकेर उद्योग तथा फर्म बन्द गर्नुपरेको उद्योगी व्यापारीहरुले गुनासो गर्नुहुन्छ ।’

युवाहरुले उद्योग सञ्चालन गर्नका लागि ऋणधन गरेर उद्योग स्थापना गरे पनि विविध कारणले गर्दा उद्योग टिकाइराख्न र निरन्तर सञ्चालन गर्न नसकेका कारण खारेज गर्नुपरेको उनले बताए । प्रमुख बुढाथोकीले भने, ‘युवाहरुले केही गर्छु भनेर उद्योग स्थापना गरे पनि उद्योग टिकाइराख्न र निरन्तर सञ्चालन गर्न नसक्दा खारेज गरेर वैदेशिक रोजगारीका लागि विदेश जाने गर्नुहुन्छ ।’ कार्यालयका प्रशासन अधिकृत सुशील ढकालका अनुसार चालु आवको ६ महिनामा उद्योगतर्फ ६२७ र वाणिज्यतर्फ एक हजार २५६ फर्म नवीकरण भएका छन् ।

त्यसैगरी, पुँजी वृद्धि, ठाउँसारी, नाम परिवर्तन, नामसारी, ठेगाना परिवर्तन लगायत उद्योगतर्फ ३४० र वाणिज्यतर्फ ४७७ संशोधन गरिएको छ । त्यसैगरी, वाणिज्यतर्फ नयाँ फर्म दर्ता हुनेभन्दा खारेज गर्नेकै सङ्ख्या बढिरहेको छ । उद्योग अधिकृत बुढाथोकीका अनुसार गत आर्थिक वर्ष २०८०–०८१ मा प्राइभेट फर्म ६३४ र साझेदारी फर्म १४ गरी कुल ६४८ नयाँ फर्म दर्ता भएका थिए । आर्थिक वर्ष २०७९–०८० मा प्राइभेट फर्म ८५८ र साझेदारी फर्म १६ दर्ता भएको बुढाथोकीले जानकारी दिए ।

आर्थिक वर्ष २०८०–०८१ मा प्राइभेट फर्म ४५० र साझेदारी फर्म १२ गरी ४६२ फर्म खारेजी भएका थिए भने आर्थिक वर्ष २०७९–०८० मा ३१२ प्राइभेट फर्म खारेजीमा परेका थिए । केही वर्षयता अघिल्लो आवमा भन्दा नयाँ आवमा क्रमशः दर्ता हुने क्रम घट्दै गएको हो भने खारेजी गर्ने क्रम बढ्दै गएको हो । कार्यालयको तथ्याङ्कले विगत चार वर्षदेखि लगातार नयाँ उद्योग तथा फर्म दर्ता गर्ने क्रम घटिरहेको र खारेजी गर्नेको सङ्ख्या बढ्दै गइरहेको देखाएको हो ।

नयाँ दर्ता तथा स्थापना भएका उद्योगहरुमा १०७ महिला र २८६ जना पुरुष गरी जम्मा ३९३ जना उद्यमी छन् भने ६२० जना महिला र ८८१ पुरुष गरी कुल एक हजार ५०१ जनाले रोजगारी पाए छन् । नयाँ उद्योग दर्ता, नवीकरण, संशोधन लगायतबाट यस चालु आवको पुससम्ममा उद्योगतर्फ रु ४० लाख ४४ हजार र वाणिज्यतर्फ ७६ लाख ६१ हजार ५८५ राजस्व सङ्कलन भएको कार्यालयले जनाएको छ ।

कार्यालयको गत आर्थिक वर्ष २०८०–०८१ को तथ्याङ्क अनुसार विगत चार वर्षदेखि लगातार कार्यालयमा उद्योग दर्ता गर्नेको सङ्ख्या घट्दै गइरहेको र खारेजी गर्नेको सङ्ख्या बढ्दै गइरहेको हो । गत आवमा विभिन्न प्रकृतिका ७६० नयाँ उद्योग दर्ता भएका थिए भने २३० उद्योग खारेज भएका थिए । आर्थिक वर्ष २०७९–०८० मा ८७६ उद्योग दर्ता भएका थिए भने १६० उद्योग खारेजी भएका थिए ।

त्यसैगरी, आर्थिक वर्ष २०७८–०७९ मा एक हजार ७१२ उद्योग दर्ता भएका थिए सो वर्षमा १३८ उद्योग खारेज भएका थिए । आर्थिक वर्ष २०७७–०७८ मा दुई हजार ३४१ उद्योग दर्ता भएकामा ९६ उद्योग खारेज भएका थिए । कार्यालयका अनुसार नयाँ दर्ता गरिएका उद्योगमा रु ८१ करोड ६५ लाख ७५ हजार र वाणिज्यतर्फ रु ५७ करोड ९५ लाख ३१ हजार बराबरको पुँजी लगानी छ ।

प्रकाशित मिति : ११ माघ २०८१, शुक्रबार १०:१२

लोकप्रिय